हुन्डाइ मोटर्सले रेलमार्फत् दिन थाल्यो नेपाललाई गाडीको डेलिभरी, ‘ढुवानी समय र प्रदूषण घट्छ’

बिजमाण्डू
२०७७ माघ ६ गते १५:४० | Jan 19, 2021
हुन्डाइ मोटर्सले रेलमार्फत् दिन थाल्यो नेपाललाई गाडीको डेलिभरी, ‘ढुवानी समय र प्रदूषण घट्छ’

Tata
GBIME
Nepal Life

काठमाडौं। हुन्डाइ मोटर्सले आफ्नो भारतीय प्लान्टमा उत्पादित गाडीहरू रेलबाट नेपालका लागि पठाउन थालेको छ। हुन्डाइले दुई मुख्य कारण औल्याउँदै रेलबाट गाडीहरु नेपाल डेलिभरी सुरु गरेको जनाएको छ।
 
कम समयमा गाडी ढुवानी हुनुका साथै प्रदूषण नहुने (इको फ्रेन्डली) भन्दै रेलबाट पठाउन थालेको हो।  एक दसकयता नेपालमा हुन्डाइका गाडीहरु निकै रुचाइने ब्राण्डमा पर्छ। नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी लक्ष्मी ग्रुपले आकर्षक मार्केटिङ गर्दै हुन्डाइका गाडीहरू बिक्री गरिरहेको छ।

भारतमा रहेका अटोमोबाइल उद्योगहरुलाई प्रोत्साहन पुग्ने भन्दै रेल्वे कम्पनीले रेलबाटै गाडीहरुको निर्यातको प्रबन्ध गरेका छन्। रेलको कन्टेनरमा गाडीहरु लोड गर्दै गरेका तस्वीर सार्वजनिक गर्दै रेल्वे कम्पनीले यसको पुष्टि गरेको छ।
 
रेल्वे कम्पनीहरुले तमिलनाडुको वालाजाबादबाट उत्तर प्रदेशको नौतनवासम्म हुन्डाइका गाडीहरु रेलबाट ट्रान्सपोर्ट गरिरहेका छन्। हुन्डाइले उक्त क्षेत्रबाट करिब एक सय २५ वटा गाडीहरु रेलमा लोड गरेर नेपाल पठाउँदै गरेको जनाएको छ। सडकमार्ग हुँदै ढुवानी गर्दा प्रदूषण उच्च हुने भएकाले बिजुलीबाट चल्ने रेल छानिएको कम्पनीले जनाएको छ।

रेलबाट गाडी ढुवानी गर्दा करिब २० हजार दुई सय ६० टन कार्बन फुटप्रिन्ट कम हुने हुन्डाइको दाबी छ। हुन्डाइले अहिले आफ्नो उत्पादनको १४ प्रतिशत गाडीहरु रेलबाटै ढुवानी गरिरहेको जनाएको छ।

कम्पनीले पानी जहाजबाट पनि गाडीहरु विभिन्न देशहरुमा निर्यात गरिरहेको छ। भारतबाट करिब ८८ देशहरुमा हुन्डाइका गाडीहरु निर्यात भइरहेका छन्। हुन्डाइले सन् २००७ बाट भारतमै गाडीहरु निर्माण गरेर निर्यात गरिरहेको छ।

हुन्डाइले भारतबाट स्यान्ट्रो, ग्रान्ड आइ१०, ग्रान्ड आइ१० निओस, एक्सेन्ट, औरा, न्यू आइ२०, आइ२० एक्टिभ, भेन्यू र क्रेटा मोडलहरु निर्यात गर्दै आएको जनाएको छ। (एजेन्सीको सहयोगमा)