बंगलादेशबाट मल माघभित्रै आइपुग्ने कृषि मन्त्रालयको दाबी, पहिलो चरणमा १० हजार टन भित्रिने

बिजमाण्डू
२०७७ माघ ६ गते १३:२८ | Jan 19, 2021
बंगलादेशबाट मल माघभित्रै आइपुग्ने कृषि मन्त्रालयको दाबी, पहिलो चरणमा १० हजार टन भित्रिने


Tata
GBIME
Nepal Life

काठमाडौं । नेपालले जीटुजी प्रक्रियाबाट आयात गर्न लागेको रासायनिक मल माघ महिनाभित्रै ल्याउने तयारी भइरहेको छ। 

लामो समयदेखि चर्चामा रहे पनि भित्र्याउने प्रक्रियामा रहेको अलमल अब बल्ल हटेको कृषि मन्त्रालयले जनाएको छ। मल ल्याउनका लागि एलसी खुलिसकेको कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताए।

'एलसी खुलेको दुईदेखि तीन हप्ताभित्र मल नेपाल आइपुग्ने सूचना प्राप्त भएको छ,' उनले भने, 'पहिलो चरणका लागि १० हजार मेट्रिक टन मल बोराबन्दी भएर आउने प्रक्रिया सुरु भइसकेको छ।'  

त्यसपछि भने बंगलादेशबाट क्रमिक रूपमा मल आउने उनको भनाइ छ। चाडै ल्याउनका लागि बंगलादेशबाटै ५०/५० केजीको बोरामा प्याकिङ भइरहेको छ। बाँकी ४० हजार मेट्रिक टन मल बन्दरगाह हुँदै कोलकातामा आएर प्याकिङ गरेर मात्र भएर नेपाल भित्रिने भएको छ। 

 गत पुस २ गते कृषि सामग्री कम्पनी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कम्पनीबीच युरिया मल उपलब्ध गराउने सम्झौता भएको थियो।
५० हजार मेट्रिक टन युरिया मल चार लटमा तीन महिनाभित्र ल्याउने सम्झौता थियो। त्यसमध्ये पहिलो लट माघ महिनाभित्र आइपुग्ने भएको घिमिरेले बताएका छन्।

अहिलेलाई डिपोहरुमा आवश्यक मल भएकाले  हाल समस्या नभएको उनको भनाइ छ। उक्त मल आएपछि केही स्टकमा रहन्छ भने असारसम्मका लागि अर्को प्रक्रिया सुरु भएको कृषि सामाग्री लिमिटेडले जनाएको छ। अन्तर्राष्ट्रिय जिप गरेर ल्याउने २० हजार मेट्रिक टन मलको आयात सुरु भइसकेकाले असारसम्मका लागि अभाव नहुने दाबी कृषि सामाग्रीको छ। हिउँदको लागि पनि थप प्रक्रियाहरु गर्दै जाने जनाइएको छ।  

मल आयात गर्न ढिला भए पनि तोकिएको एलसीको समय कम गर्न नमिल्ने पाइएको  छ। नेपालमा वार्षिक ३ लाख मेट्रिक टन रासायनिक मलको माग छ। नेपालले ५ लाख मेट्रिक टन ल्याउन सके मलको अभाव हुँदैन।

मन्त्रालयले आर्थिक वर्षको अन्तिमसम्म सबै मल ल्याइसक्ने लक्ष्य रहेको जनाएको छ।  उक्त मल आएपछि बालीको समयमा मलको अभाव नहुने जानकारी गराएको छ।