निर्माणाधीन हुवासिन सिमेन्टमा अझै अलमल, सरकारी प्रक्रिया सम्झँदा भक्कानिन्छन् लगानीकर्ता  

बिजमाण्डू
२०७७ माघ ६ गते १५:११ | Jan 19, 2021
निर्माणाधीन हुवासिन सिमेन्टमा अझै अलमल, सरकारी प्रक्रिया सम्झँदा भक्कानिन्छन् लगानीकर्ता  

Tata
GBIME
Nepal Life

काठमाडौं। लक्ष्यअनुसार सबै बन्दोबस्त मिलेको भए यतिबेला धादिङमा हुवासिन सिमेन्ट उद्योगका उत्पादन बजारमा हुन्थ्यो। चिनियाँ लगानीकर्ता र नेपाली साझेदार उद्योगको क्षमता बिस्तारसँगै अन्य उद्योगको ज्वाइन्ट भेञ्चरका लागि सल्लाह गरिरहेका हुन्थे।

तर उद्योगको अवस्था त्यस्तो छैन। एक वर्षमै उद्योग स्थापनाको काम पूरा गरेर उत्पादन थाल्ने लक्ष्य राखेको हुवासिन सिमेन्ट उद्योग सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ। उद्योग निर्माणस्थलमा बाढी र पछि कोभिड प्रकोपले मात्रै असर गरेन, सरकारी निकायको असहयोगी प्रवृत्ति पनि लगानीकर्ताका लागि टाउको दुखाइ बन्यो। 

सञ्चालनमा आउन अझै ६ महिना लाग्ने देखिएको उद्योगका कर्मचारीहरू बताउँछन्। उद्योगले केही जग्गा स्थानीयसँग खरिद गरी उपयोगमा ल्याएको भए पनि अधिकांश जग्गा सरकारी छ। सरकारी जग्गा कम्पनीलाई उपयोगका लागि दिने प्रस्ताव मन्त्रिपरिषदमा ६ महिनादेखि रोकिएको छ। उक्त उद्योगले मागेको सहयोग सरकारले अझै उपलब्ध गराउन सकेको छैन। 

कोभिडको कारण बाहिरबाट प्राविधिक जनशक्ति ल्याउन अप्ठ्यारो पर्‍यो। कम्पनीले प्रयासको लामो समयपछि मात्रै जनशक्ति ल्याएको छ। प्राविधिक सामाग्री सबै आयात गरिसकेको भए पनि जडानका कामहरू अझै बाँकी छन्। उद्योगका मेशिनरी सबै जडानको काम सक्न अझै चार महिना लाग्ने कम्पनीका कर्मचारी बताउँछन्।

प्रसारणलाइन विस्तारमा ढिलाइ

विदेशी लगानीकर्ताका मञ्चमा सरकारले नेपाल आउन आह्वान गर्दा सकेजति सुविधा दिने आह्वान गर्न चुक्दैन। विदेशी लगानीकर्ताका लागि सरकारले उद्योगस्थलसम्म प्रसारणलाइन र सडकको व्यवस्था गरिदिने नीतिमा पनि छ।

तर हुवासिनले सरकारी प्रतिबद्धताअनुसारको सुविधा नपाएको गुनासो लगानीकर्ता कम्पनीको छ। उद्योग आफैंले सबै काम गरिरहेको छ। गजुरीदेखि ताल्तीसम्मको प्रसारणलाई विस्तारको काम चिनियाँ कम्पनीले नै गरिरहेको छ। तर प्रसारणलाइनको अधिकांश टावरहरु वनमा पर्ने भएपछि निर्माण कार्यमा ढिलाइ भएको छ।

'चिनियाँहरु काम छिटो टुंग्याउन आतुर छन् तर हाम्रो सरकारी निकायले अनेक प्रक्रियाका झमेला देखाएर ढिलासुस्ती गरिरहेका छन्,' कम्पनीका एक प्रतिनिधिले भने, 'काम भए पनि नभए पनि दिनभर जिल्ला वन कार्यालय धाइरहेका छौं।' 

यसअघि जिल्ला वन कार्यालय प्रमुख (डीएफओ)ले असहयोग गरेका थिए। सरकारले उनको सरुवा गरेको थियो। अहिले वनको जग्गा अधिग्रहणको काम प्रक्रियामा छ। प्रसारणलाइनले लिने क्षेत्रफल जति नै निजी क्षेत्रको अर्को जमिन किन्नुपर्ने भएको उक्त प्रक्रिया चलिरहेको छ। करिब ८० करोड खर्चेर १४ किलोमिटर प्रसारण लाइन विस्तारको काम भइरहेको छ।  

सडक मकवानपुर जोडिने
पृथ्वी राजमार्गदेखि मकवानपुरसम्म उद्योगकै पहलम सडक विस्तार हुने भएको छ। उद्योगले मलेखुदेखि १४ किलोमिटर सडक विस्तार गरिसकेको छ। मलेखुदेखि मकवानपुरको मनहरा पुलसम्म सडक विभाग र उद्योगको सहकार्यमा काम अघि बढाउने तयारी गरिएको हो। यसको लागि सडक विभाग र उद्योगले संयुक्त अध्ययनसमेत गरिसकेका छन्।

उद्योगलाई आवश्यक पर्ने कोइला लगायत सामाग्रीहरु ल्याउन मकवानपुर जिल्लाबाट नजिक पर्ने भएकाले उक्त ट्रयाक खोल्ने तयारी गरिएको हो। यसको खर्च विभाग र कम्पनीले ५०/५० प्रतिशत बेहोर्ने सहमति छ। 

जग्गाको प्रक्रिया नमिल्दा लगानीकर्ता चिन्तित
हुवासिनका लगानीकर्ताले नेपालमा भन्दा पछि प्रक्रिया थालेका दुई देशमा कारखाना खुलेर सिमेन्टको परीक्षण उत्पादन सुरू भइसकेको छ। कम्पनीले तान्जानिया र उज्वेकिस्तानमा दुई उद्योगबाट सिमेन्ट उत्पादन सुरु गरेको हो।

तर नेपालमा भने अहिलेसम्म उद्योगको पूर्वाधारको काम पनि सकिएको छैन। कोरोना भाइरसको महामारीबीच पनि अन्य देशमा कम्पनीले गत असारमै परीक्षण सुरु गरेर अहिले व्यवसायिक उत्पादन थालिसकेको छ।

उज्वेकिस्तानमा कम्पनीले सिमेन्ट उद्योग खोल्न सन् २०१८ मा सम्झौता गरेको थियो। त्यहाँको जियाकमा कम्पनीले १ सय ५० मिलियन अमेरिकी डलर (करिब १५ अर्ब रुपैयाँ) खर्चिएर प्लान्ट स्थापना गरेको छ। कम्पनीले १८ महिनामा प्लान्ट स्थापना गरी गत असार १६ देखि नै सिमेन्ट उत्पादन सुरु गरेको हो। व्यवसायिकरूपमा सञ्चालनमा आइसकेको उक्त उद्योगबाट वार्षिक २० लाख टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ।

उद्योगले १२ सय जना स्थानीयलाई रोजगारी दिएको छ। यो हुवासिनको पहिलो अन्तर्राष्ट्रिय लगानी हो। छोटो समयमा उद्योग स्थापना हुनुको जस कम्पनीले कामदारहरुलाई दिएको छ। कम्पनीका अध्यक्ष ली युक्वीङले महामारीका बीच उद्योग स्थापना हुनुमा प्रत्येक व्यक्तिले आफ्नो क्षमताको शतप्रतिशत योगदानको ठूलो महत्व रहेको बताएका छन्।

काम छिटो पूरा गर्न कम्पनीले कोरोना महामारीको समयमा १ सय ३२ जना कामदार चीनबाट उज्वेकिस्तानमा जहाज चार्टर गरेर लगेको थियो।

यसैगरी कम्पनीले लगानी गरेको अफ्रिकी देश तान्जानियाको प्लान्टबाट पनि उत्पादन सुरु भएको छ। कम्पनीले सन २०१९ को सेप्टेम्बरमा सिमेन्ट उद्योग खोल्न इक्युइटी पर्चेज एग्रिमेन्ट (इपीए) गरेको थियो। यसको केही महिनामै उद्योग स्थापना गरी सन २०२० जुन २८ बाट परीक्षण सुरु गरिसकेको छ। यो उद्योगले पनि अहिले व्यवसायिक उत्पादन सुरु गरिसकेको छ।

हुवासिनको अफ्रिकी देशमा यो पहिलो कम्पनी हो। यो उद्योगले दैनिक ४ हजार टन सिमेन्ट क्लिंकर र ७ लाख ५० हजार टन सिमेन्ट उत्पादन गर्नेछ।

कम्पनीले अफ्रिकी तान्जानिया माभेनी लाइमस्टोन कर्पोरेशन लिमिटेडको नामबाट लगानी गरिरहेको छ। यो कम्पनीले १ हजार जना स्थानीयलाई रोजगारी दिएको छ। यसैगरी कम्पनीले ताजकिस्तान र कोलम्बियामा पनि उद्योग स्थापनाको काम गरिरहेको छ। यस्तै श्रीलंका र बंगलादेशमा उद्योग स्थापना गर्न प्रक्रिया अघि बढाएको छ। 

तर नेपालमा भने जग्गा प्राप्तिको विषयमा कुरा गर्दा चिनियाँ लगानीकर्ता निराश छन्। कम्पनीका एक प्रतिनिधिले भने 'हामी जब सरकारी जग्गा प्राप्ति प्रक्रियाको विषयमा कुरा गर्छौं, चिनियाँ लगानीकर्ता प्रक्रियाका झन्झट सम्झेर आँखा चिम्म गरेर भक्कानिन्छन्।'