सहुलियतको समय थपेपछि खाद्यको कारोबार अपेक्षाभन्दा बढी, उपभोक्तालाई छुटमा एक करोड ६९ लाख 

बिजमाण्डू
२०७७ माघ ६ गते १०:१९ | Jan 19, 2021
सहुलियतको समय थपेपछि खाद्यको कारोबार अपेक्षाभन्दा बढी, उपभोक्तालाई छुटमा एक करोड ६९ लाख 

Tata
GBIME
Nepal Life

काठमाडौं। चाडबाड लक्षित सहुलियत पसलबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अपेक्षा गरेभन्दा बढीको कारोबार गरेको छ। 

सहुलियत पसलबाट २५ हजार ८ सय ५९ क्विन्टल खाद्यान्न बिक्री भएको कम्पनीले जनाएको छ। 'सुरुमा कारोबारले गति लिएको थिएन। अवधि थपेपछि हामीले अनुमान गरेको भन्दा बढी बिक्री भयो,' कम्पनी प्रवक्ता शर्मिला सुवेदीले भनिन्। 

कम्पनीले दसैं, तिहार र छठलक्षित सहुलियत पसल सञ्चालन गरेको थियो। खरिदमा निश्चित रकम छुटको अफरसहित सञ्चालित पसलबाट कम्पनीले करिब २५ हजार टन खाद्यन बिक्री गर्ने लक्ष्य निर्धारण गरेको थियो। 

आफ्नो कम्पनीलाई सरकारले असोज १५ देखि मंसिर ७ सम्म सहुलियत मूल्यमा खाद्यान्न बिक्रीका लागि पसल सञ्चालन अनुमति दिएको थियो। उक्त अवधिमा अपेक्षित कारोबार नभएपछि कम्पनीले पसलमा अफरको समयावधि माघ २ सम्म लम्ब्याएको थियो। 

असोजदेखि मंसिरसम्म करिब १० हजार २७ क्विन्टल मात्र खाद्यान्न बिक्री भएको थियो। उक्त अवधिमा छुट बापतको रकम ८७ लाख रुपैयाँ थियो।  सहुलियत पसलको समय लम्ब्याइएपछि खाद्यान्नको बिक्री अनुमान गरेभन्दा ८ सय ५९ क्विन्टल बढी भएको छ। 

उक्त अवधिमा उपभोक्तलाई दिइएको छुट करिब एक करोड ६९ लाख १३ हजार रूपैयाँ बराबरको रहेको प्रवक्ता सुवेदीले बताइन। कोभिडको समयमा बजारमा खाद्यान्नको मूल्यवृद्धि भएको गुनासो आइरहेकाले उपभोक्तालाई राहत दिन छुटसहितको समयावधि बढाइएको थियो। 

कम्पनीले देशभर गरेर २९ वटा आउटलेटबाट सहुलियत पसल सञ्चालन गरेको थियो। उपत्यकामा ५ वटा आउटलेटबाट खाद्यान्न बिक्री गरेको थियो। सहुलियत पसलमा चामल, दाल, गेडागुडी, नुन, चिनी, तिते फापर, घ्यु र केराउ बिक्रीका लागि राखिएको थियो।  

बजारमा चिनीको अभाव चुलिँन थालेपछि महंगी बढ्ने देखेर सरकारले साल्ट ट्रेडिङ र खाद्यलाई आयात अनुमति दिएको थियो। दसैंअघि साल्ट ट्रेडिङले चिनी ल्यायो तर खाद्यले ठेक्का प्रक्रियामा समय लागेको भन्दै ल्याएन। आफूले आयात नगरे पनि पछि खाद्यले साल्ट ट्रेडिङबाट खरिद गरेर चिनी बेचेको थियो।

बर्सेनि दसैंमा खसी-बोका र भेडा, च्यांग्रा बेच्ने कम्पनीले यसपटक भेडा-च्यांग्रा भित्र्याएन। महंगो भएको भन्दै च्यांग्रा नल्याउने निर्णय गरे पनि खसी-बोका भने बिक्री गरेको थियो।

कम्पनीले आफ्नो सहुलियत पसलबाट चिनी प्रतिकेजी ७० रुपैयाँमा बिक्री गरेको थियो। सबैभन्दा बढी चामल बिक्री भएको कम्पनीले जनाएको छ।