सेयर बजारमा ११ गतेबाट T+2, लगानीकर्ताले बिक्री गरेको भोलिपल्टै इडीआइएस जारी गर्नु पर्ने 

बिजमाण्डू
२०७७ माघ ६ गते ०८:५६ | Jan 19, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट चक्र T+2 कायम भएको छ। राफसाफ तथा फर्छ्यौट चक्रलाई दुई कार्य दिनभित्र सम्पन्न गर्ने उद्देश्यले यो लागू गरिएको हो।

धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली, २०६९ को उपविनियम १३ लाई संशोधन गरि नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पेस गरिएको थियो। बोर्डबाट स्वीकृति प्राप्त भएपछि माघ ११ गतेदेखि हुने कारोबारको राफसाफ तथा फर्छ्यौट कारोबार भएको दिन बाहेक २ कार्य दिन (T+2) मा हुने व्यवस्था गरिएको सीडीएससीले जनाएको छ।

धितोपत्रको बिक्री कारोबार गर्ने लगानीकर्ताले आफूले बिक्री गरेको धितोपत्रको राफसाफ तथा फर्छ्यौटका लागि 'इडीआइएस' जारी गर्दा T+1 अर्थात् कारोबार भएको मितिको भोलिपल्ट भित्रमा जारी गरिसक्नु पर्छ। इडीआइएस जारी गर्न नसक्ने लगानीकर्ताले T+1 भित्र भौतिक निर्देशन पुर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्यकहाँ बुझाउनु पर्छ। 

धितोपत्रको खरिद कारोबार गर्ने लगानीकर्ताले आफूले खरिद गरेको धितोपत्र बापतको रकम सम्बन्धित राफसाफ सदस्यलाई T+1 अर्थात् कारोबार भएको मितिको भोलिपल्टै बुझाउनुपर्ने हुन्छ।

धितोपत्रको बिक्री कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण बिक्री कारोबारको पुँजीगत लाभकर गणनाका लागि आवश्यक विवरण बिक्रीकर्ता लगानीकर्ताबाट प्राप्त गरि T+2 को बिहान ११ बजे भित्र राफसाफ तथा फर्छ्यौट प्रणालीमा प्रविष्टि गरिसक्नु पर्ने हुन्छ।

धितोपत्रको बिक्री कारोबारी सदस्यले सबै कारोबारको राफसाफ तथा फर्छ्यौट कार्यका लागि आवश्यक धितोपत्र आफ्नो राफसाफ खातामा जम्मा भएको यकिन गरि कुनै बिक्रीकर्ताले निर्धारित समयावधि भित्र आफ्नो राफसाफ खातामा जम्मा नगराएको खण्डमा T+2 को मध्यान्न १२ बजेभित्र बिक्री कारोबारको 'सर्टेज मार्क' गरिसक्नु पर्छ।

धितोपत्रको खरिद कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण विक्री तथा खरिद कारोबारको गणना गरि त्यसको नेटिङपछि हुने रकम तथा अन्य कमिसन बुझाउनुपर्ने देखिएमा T+2 को मध्यान्न १२ बजेभित्र आफ्नो राफसाफ बैंकमा रहेको राफसाफ खातामा जम्मा गरिसक्नु पर्छ। 

धितोपत्रको खरिद कारोबार गर्ने राफसाफ सदस्यले राफसाफ भइसकेको धितोपत्र सम्बन्धित खरिदकर्ताको हितग्राही खातामा T+2 मा राफसाफ तथा फर्छ्यौट सम्पन्न भएपछि यथाशीघ्र राफसाफ तथा फर्छ्यौट प्रणालीमार्फत् हस्तान्तरण गर्नु पर्छ।

निक्षेप सदस्यले हरेक दिन बिहान ११ बजे भित्रमा मेरो शेयर मार्फत् प्राप्त इडीआइएसको फाइल जेनेरेट गरि केन्द्रीय निक्षेप प्रणालीमा अपलोड गरि त्यसको कारोबार सफल भएको यकिन गरि मेरो शेयरमा त्यो इडीआइएस  फाइल प्रोसेस गर्नु पर्छ।

इडीआइएस जारी गर्न नसक्ने लगानीकर्ताले प्रदान गरेको भौतिक निर्देशन पुर्जी तत्काल प्रणालीमा प्रविष्टि गरि त्यसको जानकारी सम्बन्धित लगानीकर्तालाई गर्नु पर्छ।

यसपछि हरेक दिन राफसाफ तथा फर्छ्यौट प्रणालीमा प्राप्त निर्देशन बमोजिम राफसाफ सदस्यको पुल खाताहरू, राफसाफ गृहको राफसाफ खाता तथा विभिन्न कमिसन खाताहरूमा आवश्यक रकम डेबिट वा क्रेडिट गरि त्यसको जानकारी प्रणालीमा प्रविष्टि गर्नु पर्छ।