पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो, संसद विघटनसँगै मूल्य वृद्धि राजनीतिक मुद्दा बन्ने

बिजमाण्डू
२०७७ माघ ५ गते २०:५८ | Jan 18, 2021
पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो, संसद विघटनसँगै मूल्य वृद्धि राजनीतिक मुद्दा बन्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। आयल निगमले पेट्रोल, डिजल र पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँ बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उकालो लागेपछि निगमले मूल्य बढाएको हो।

इन्डियन आयल कर्पोरेशन(आइओसी)ले जनवरी १५ मा पठाएको नयाँ मूल्य अनुसार निगमलाई आधा महिनामै ६७ करोड नोक्सानी हुने देखिएपछि मूल्य बढेको हो। मूल्य वृद्धिपछि पेट्रोल लिटरको १ सय १० रुपैयाँ र डिजल तथा मट्टितेल लिटरको ९३ रुपैयाँ पर्नेछ। निगमका प्रवक्ता विनितमणि उपाध्यायले मूल्य बढाउँदा पनि निगमलाई आधा महिनाको घाटा ५० करोड रुपैयाँ रहेको बताए।

उनका अनुसार अहिले पनि निगमलाई पेट्रोल लिटरमा ५ रुपैयाँ ३४ पैसा र डिजलमा २ रुपैयाँ ९६ पैसा नोक्सानी छ। ‘अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्दा उपभोक्तालाई धेरै भार पर्छ। त्यही भएर हामीले थौरै मात्रै मूल्य बढाएका हौ,’ उनले बिजमाण्डूसँग भने, ‘स्वचालित मूल्य संयन्त्र अनुसार केही मूल्य बढाएर आपूर्ति व्यवस्थालाई निरन्तरता दिन खोजेका हौं।’

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उकालो लागिरहेको छ। सोमबार ब्रेन्ट क्रुड आयलको मूल्य प्रति ब्यारल ५५ डलर पुगेको छ। कोभिडले माग कम हुँदा कच्चा तेलको मूल्य इतिहासकै कमसम्म पुगेको थियो। तर पछिल्लो समय माग बढ्न थालेपछि कच्चा तेलको मूल्य लगातार बढिरहेको छ।

ग्यासमा पनि नोक्सानी

खाना पकाउने ग्यासमा निगमलाई एक सिलिण्डरमै १ सय ३४ रुपैयाँ घाटा छ। जाडो महिनामा ग्यासको माग बढी हुने भएकाले मूल्य पनि बढ्छ। अरु बेलाको जाडोमा निगमलाई एक सिलिण्डर ग्यासमै ८ सयभन्दा बढी नोक्सानी हुन्थ्यो।

तर अहिले कोभिडका कारण विश्वकै धेरै उद्योगधन्दादेखि हस्पिटालिटी क्षेत्र पूर्ण रुपमा संचालनमा नआउँदा माग कम भएर मूल्य बढेन। अन्तर्राष्ट्रिय बजारमा मूल्य नबढ्दा निगमलाई नोक्सानी कम भयो।

संसद विघटनले तनाव

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने र संसद विघटन हुँदा निगम व्यवस्थापनलाई तनाव भएको छ। कच्चा तेलको मूल्य घट्दा नाफा इन्जोय गरिरहेको निगमका लागि आगामी दिन सजिलो छैन।

राजनीतिक अस्थिरता रहेका बेला पेट्रोलियम पदार्थको मूल्य बढ्दा राजनीतिक मुद्दा बन्ने गर्छ। त्यही भएर निगमले नोक्सानी बढ्दा पनि डेढ महिनासम्म मूल्य बढाएन। अहिले पनि लिटरमा दुई रुपैयाँ बढाएको छ। सामान्य मूल्यवृद्धि हुँदा उपभोक्ता आक्रोशमा नआउने भएकाले यो परीक्षणका रूपमा बढाएको हो। निगमले ग्यासमा धेरै नोक्सानी हुँदा पनि मूल्य यथावत राखिरहेको छ।

‘राजनीतिक स्थिरता भएको बेला तीन वर्ष हामीले मूल्य बढाउँदा कुनै त्रास हुँदैनथ्यो । तर अहिले दुई रुपैयाँ बढाउँदा पनि राजनीतिक मुद्दा बन्ने चिन्तामा छौं,’ निगमका एक अधिकारीले भने, ‘त्यही भएर अबका दिन निगमका लागि सहज छैन।’