सरकारी निकायले पनि खाने तेलको मूल्य बढ्नुलाई सही भन्यो, किन उद्योगीलाई साथ दिँदैछ सरकार?

बिजमाण्डू
२०७७ माघ ५ गते १५:०४ | Jan 18, 2021
सरकारी निकायले पनि खाने तेलको मूल्य बढ्नुलाई सही भन्यो, किन उद्योगीलाई साथ दिँदैछ सरकार?

Tata
GBIME
Nepal Life

काठमाडौं। तीन महिनाको अवधिमा खाने तेलको मूल्य लगातार बढिरहेको छ। तोरीको तेलको मूल्य प्रतिलिटर ४० रुपैयाँ, सनफ्लावर तेल पनि लिटरमा ४० रुपैयाँ र भटमासको तेल लिटरमा २० रुपैयाँ भन्दा बढीले बढेको छ।

चाडपर्वपछि लगातार तेलको मूल्य वृद्धि भएपछि सरकारी निकायले समेत तेल उद्योगको प्रज्ञापनपत्र समेत हेर्‍यो। प्रज्ञापनपत्र हेरेपछि मूल्य वृद्धि स्वभाविक भएको प्रतिक्रिया दिएको छ। केही तेल उद्योगहरुको कच्चा पदार्थ आयातको प्रज्ञापनपत्र हेर्दा बाहिरबाटै मूल्य बढेर आएको देखिएको वाणिज्य विभागका निर्देशक शिवराम सेढाइले बताए।

 'उद्योगीको कच्चा पदार्थ आयातमै मूल्य बढेर आएको तर्क सही रहेछ। उनीहरूको खरिद र लागत हेर्दा बढी मूल्य लिएको भन्न मिलेन,' उनले भने। आखिर सरकारले पनि किन उद्योगीलाई मूल्य वृद्धि गरेको सही भनिरहेको छ? नेपालको तेल उद्योगलाई चाहिने कच्चा पदार्थ सबै विदेशबाट आयात हुन्छ। नेपालमा उत्पादन हुने तोरीले यहाँको माग धान्दैन्। भटमास र सनफ्लावरको खासै उत्पादन नहुने भएकाले पूरै निर्भर विदेशमै रहनुपर्छ। अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्ने भएकाले त्यहाँ हुने मूल्य घटबढले त्यसको प्रत्यक्ष प्रभाव यहाँ प्रशोधन हुने तेलमा पर्छ।

केएल दुगडका प्रवन्ध निर्देशक कुमुद दुगडले अन्तर्राष्ट्रिय बजारमा तोरी, सनफ्लावर र भटमासको दानाको मूल्य बढेको बताउँदै त्यही कारण प्रशोधित तेलको मूल्य बढेको बताए। ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थजस्तै कमोडिटीको मूल्य दैनिक घटबढ हुन्छ। हामीले त्यहीबाट किनेर कच्चा पदार्थ ल्याउँछौ,’ उनले बिजमाण्डूसँग भने, ‘कोभिडका कारण कतिपय ब्राजिल लगायतका स्थानमा फार्मिङनै हुन सकेन्। त्यसले अन्तर्राष्ट्रिय बजारमा माग भन्दा आपूर्ति कम भयो। त्यसले मूल्य लगातार उकालो लागिरहेको छ।’

उनका अनुसार तीन महिनाको अवधिमा भारतमा तोरीको दाना टनको १ हजार ४ सय ४० रुपैयाँ (९ सय भारु) बढिसकेको छ। ‘भारतमा तीन महिना अघिसम्म टनको ५३ सय भारुमा तोरीको दाना पाइन्थ्यो। अहिले यो बढेर ६२ सय भारु पुगेको छ,’ दुगडले भने, ‘यो आधारमा लिटरमै तोरीको तेल ८० रुपैयाँ महँगिन पर्ने हो। तर हामीले ४० रुपैयाँ मात्रै जोडेर बिक्री गरिरहेका छौं।’

दुगडका अनुसार सनफ्लावर टनमै ४ सय डलरले बढेको छ। ‘कोभिड अघि टनको ८ सय डलरमा पाइने सनफ्लावर अहिले १२ सय डलर पुगेको छ,’ उनले भने, ‘यो आधारमा सनफ्लावरको तेल पनि महँगो भएको हो।’ भटमास पनि टनको साढे सात सय डलरबाट बढेर साढे ९ सय डलर पुगेको छ।

स्थायी संयन्त्र बनाउँ

दुगड तेलका लागि सरकारले स्थायी संयन्त्र बनाएर मूल्य हेर्नुपर्ने बताउँछन्। ‘पेट्रोलियम मूल्यजस्तै खानेतेलको मूल्य पनि दैनिक घटबढ हुन्छ। सरकारले त्यो हेर्नका लागि स्थायी संयन्त्र बनाउँदा उपयुक्त हुन्छ,’ उनले भने, ‘त्यसले मूल्य घट्दा वा बढ्दा सजिलै जानकारी समेत लिन मिल्छ।’