व्यापार सहज भएसँगै औद्योगिक कच्चा पदार्थको बढ्यो आयात, भन्सारको असुली सकारात्मक 

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७७ माघ ३ गते १४:०९ | Jan 16, 2021
व्यापार सहज भएसँगै औद्योगिक कच्चा पदार्थको बढ्यो आयात, भन्सारको असुली सकारात्मक 

Tata
GBIME
Nepal Life

विराटनगर। उद्योगी–व्यवसायी तथा उपभोक्तामा समेत कोभिड संक्रमणको त्रास कम हुँदै जान थालेपछि वृद्धि भएको आयातका कारण भन्सारको राजस्व असुली सकारात्मक बन्दै आएको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा लक्ष्यका तुलनामा ६२ प्रतिशत मात्र राजस्व संकलन गरेको विराटनगर भन्सारले चालु आवको सोही अवधिमा ७८ प्रतिशत प्रगति हासिल गरेको छ।

कार्यालयले चालु आवको अर्धवार्षिक अवधिमा २३ अर्ब ६ करोड ८३ लाखको लक्ष्य पाएकोमा १८ अर्ब ३ करोड २६ लाख संकलन गरेको छ। उक्त रकम गत आवको असुलीभन्दा ३ अर्ब ८२ करोडले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा कार्यालयले १५ अर्ब ८५ करोड ६१ लाख मात्र संकलन गरेको थियो।

कार्यालयले पुस मसान्तसम्ममा भन्सार महसुलबाट ८ अर्ब ७२ करोड ९२ लाख संकलन गर्ने लक्ष्य पाएकोमा ७ अर्ब ८८ करोड ८५ लाख असुल गरेको जनाएको छ।

त्यस्तै मूअकर(भ्याट) तर्फ १२ अर्ब ३३ करोड ९६ लाखको लक्ष्यमा ८ अर्ब ४४ करोड ६२ लाख र अन्तःशुल्कमा १ अर्ब ३२ करोड ८३ लाखको लक्ष्यमा १ अर्ब १६ करोड ४१ लाख संकलन गरेको छ।

गत आर्थिक वर्षको पहिलो अर्धवार्षिक अवधिमा कार्यालयले भन्सार महसुलबाट ६ अर्ब २५ करोड २ लाख, मूअकरबाट ८ अर्ब १४ करोड ७७ लाख र अन्तःशुल्कबाट १ अर्ब ३ करोड ६६ लाख असुल गरेको थियो।

विराटनगर भन्सार औद्योगिक कच्चा पदार्थ आयात हुने मुख्य नाका मानिन्छ। औद्योगिक कच्चा पदार्थमा भन्सार महसुलका दर उच्च छैनन्। तथापि लकडाउनपछि सहज हुँदै गएका उद्योगले कच्चा पदार्थको पैठारी ठूलो मात्रामा गरेपछि राजस्व संकलनमा वृद्धि देखिएको हो।
विराटनगर भन्सार हुँदै आयात गरिने व्यापारिक मालवस्तुको परिमाण थोरै भएको अधिकारीहरूको दाबी छ।

विराटनगर भन्सारलाई सबैभन्दा बढी राजस्व दिने वस्तुमा पेट्रोल, फलामे डन्डीको कच्चा पदार्थ बिलेट, मोटरसाइकल, हाईस्पिड डिजल, स्टिल वायर इन रड, सूर्यमुखी र भटमासको कच्चा तेल, कर्कट पाताको कच्चा पदार्थ सीआर सिट, क्लिंकर र एलपी ग्यास लगायत छन्।