सोलार विद्युतको हब बन्दै प्रदेश २, अघि बढेकामध्ये ७० प्रतिशत आयोजना २ नम्बर प्रदेशमा मात्रै

बिजमाण्डू
२०७७ माघ ३ गते १२:३९ | Jan 16, 2021
सोलार विद्युतको हब बन्दै प्रदेश २, अघि बढेकामध्ये ७० प्रतिशत आयोजना २ नम्बर प्रदेशमा मात्रै

Tata
GBIME
Nepal Life

काठमाडौं। जलविद्युतको सम्भावना नरहेको प्रदेश २ मा सोलार विद्युतमा भने निजी क्षेत्रबाट सयौं मेगावाटका आयोजना अघि बढेका छन्।

चौधरी ग्रुपले २०० मेगावाट बराबरको सोलार आयोजनाको अनुमति पाउँदा पानस इनर्जी र मिथिला इनर्जीले पनि १००/१०० मेगावाटका आयोजना आघि बढाउने तयारी गरेका छन्।

पानस इनर्जीले सिरहामा १०० मेगावाटको सोलार परियोजना अघि बढाउन विद्युत विकास विभागबाट अनुमतिसमेत पाइसकेको छ।

त्यस्तै मिथिला इनर्जीले पनि १०० मेगावाटको सोलार आयोजना बनाउन सर्वेक्षण अनुमति माग्दै विभागमा निवेदन दिएको छ।

अन्य साना ठूला दर्जनौ सोलार आयोजना गरि ५०० मेगावाट बराबरका आयोजना निर्माणाधिन रहेको प्रदेश २ सोलार विद्युतको हब बन्ने भएको छ।

पानस इनर्जीले सिरहाको दुर्गापुरमा १०० मेगावाट क्षमताको सोलार आयोजना निर्माणको लागि सर्वेक्षण अनुमति पाएको हो।

सिजी इनर्जीले प्रदेश २ मा २०० मेगावाट सोलार विद्युत उत्पादनको लागि अनुमति लिइसकेको छ। सिजीले पर्सा दुहबीमा ५० र गढीमा ३० मेगावाटका दुई आयोजना गरि ८० मेगावाट र महोत्तरीको पशुपतिनगर, हातीसरुवा, मेघनाथ र गोरहनामा गरि १२० मेगावाटको एउटै सोलार आयोजना निर्माणका लागि अध्ययन अनुमति पाइसकेको छ। 

यी सहित साना-ठूला गरि प्रदेश २ मै करिब ५०० मेगावाट बराबरका सोलार आयोजना विभिन्न चरणमा छन्।

अपि पावरले धनुषामा १ मेगावाट, इको पावरले धनुषामै १० मेगावाट, फर्च्युन डेभलपरले महोत्तरीमा ९.५ मेगावाट, कान्तिपुर इनर्जीले बारामा २ मेगावाट, सोलार स्टारले धनुषामा ५ मेगावाट र नेपाल पेट्रोलियम ट्रेड लिंकले बारामा ५ मेगावाटको सोलार आयोजना निर्माणका लागि अध्ययन अनुमति पाइसकेका छन्। तराई सोलार प्रालीले पर्सामा ७.७ मेगवाटको आयोजना अघि बढाउन सर्वेक्षण अनुमति माग गरेको छ। 

त्यस्तै  इको पावरले धनुषामा १० मेगावाट, अपि पावरले रौतहटमा ४ मेगावाट र सगरमाथा इनर्जीले धनुषामा ३ मेगावाटको आयोजना निर्माणको अनुमति लिएर अगाडि बढाइरहेका छन्। 

त्यस्तै एसियन टेकले सिरहामा ४ मेगावाट र अपि पावरले बारामा १ मेगावाटको आयोजना निर्माण अघि बढाउन निर्माण अनुमति माग्दै विभागमा निवेदन दिएका छन्।

देशभर साढे सात सय मेगावाटका आयोजना
नेपाल सरकारले इनर्जी मिक्सको अवधारणा अघि सारेसँगै सोलार विद्युतमा निजी क्षेत्रलाई आकर्षित गर्ने नीति सरकारले लिएको थियो। अहिले देशभर करिब साढे सात सय मेगावाटका सोलार आयोजना विभिन्न चरणमा छन्।

४७७ मेगावाट क्षमताका ३२ वटा आयोजनाले सर्भेक्षण अनुमति पाउँदा १०० मेगावाट बराबरका १६ वटा आयोजनाले निर्माण अनुमति समेत पाइसकेका छन्।

१२८ मेगावाट बराबरका ४ वटा आयोजनाले सर्भेक्षण अनुमति माग्दै विभागमा निवेदन दिदा १५ मेगावाट बराबरका ३ आयोजनाले निर्माण अनुमति मागेका छन्।

सोलार पावरका यति धेरै आयोजना अघि बढे पनि प्रदेश २ मा अहिलेसम्म एउटा पनि आयोजना पूरा भने भएका छैनन्। मुलुकमा पूरा भएका दुई आयोजनाहरु काठमाडौं र नवलपरासीमा छन्, जसको उत्पादन क्षमता करिब २ मेगावाट मात्रै छ।

नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाटको सोलार आयोजना पूरा हुने अन्तिम चरणमा छ। २ मेगावाट विद्युत उत्पादन सुरु गरिसकेको आयोजनाको थप १५ मेगावाट विद्युत पनि छिटै उत्पादन हुँदैछ।