प्रभु लाइफले पायो आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृति, ६० लाख कित्ता निष्कासन गर्ने

बिजमाण्डू
२०७७ मंसिर १२ गते १५:३० | Nov 27, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर जारी (आईपीओ) का लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ।

कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्न  गत असोजमै बोर्डमा निवेदन दिएको थियो । बोर्डले मंसिर ११ मा यसका लागि अन्तिम स्वीकृति दिएको हो।

कम्पनीले ६० करोड रुपैयाँ  बराबरको सय रुपैयाँ अंकित मूल्य दरका ६० लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। त्यसमध्ये ५ प्रतिशतले हुने तीन लाख कित्ता सेयर कर्मचारीलाई छुट्ट्याएर बाँकी रहेको ५७ लाख कित्ता सेयर सर्वसाधारणले खरिद गर्न पाउने जनाइएको छ। 

प्रभु लाइफको साधारण सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त भएको छ। सर्वसाधारणका लागि सेयर बिक्री खुल्ला गर्ने मिति छिट्टै सार्वजनिक गर्ने क्यापिटलले जनाएको छ।

कम्पनीले पहिलो चरणमा कर्मचारीहरुलाई सेयर बिक्री गरेर दोस्रो चरणमा मात्र सर्वसाधारणको लागि खुला गर्नेछ।

२ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने यस जीवन बीमा कम्पनीको हाल एक अर्ब ४० करोड रुपैयाँ पुँजी रहेको छ। कम्पनीमा २ अर्ब रुपैयाँ चुक्ता पुँजीलाई आधार मानेर यसको ७० प्रतिशत अर्थात् एक अर्ब ४० करोड रुपैयाँ संस्थापक सेयरधनीहरुबाट लगानी भएको छ।

यतिबेला चुक्ता पुँजीको ३० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गर्न लागिएको हो। उक्त सेयर बिक्रीपछि  कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

कम्पनीमा प्रभु ग्रुपबाट १२ जना सहित १७४ जना संस्थापक सेयरधनी छन्। यसका प्रमुख संस्थागत सेयर धनीहरुमा प्रभु बैंक, सांग्रिला विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, प्रभु क्यापिटल र प्रभु इन्स्योरेन्स छन्।