विश्वका धनाढ्य बेजोसको दैनिकी, ‘बिजनेस लिड गर्न पर्याप्त आराम र निर्णय गर्दा सावधानी चाहिन्छ’

बिजमाण्डू
२०७७ मंसिर ११ गते १६:१९ | Nov 26, 2020
विश्वका धनाढ्य बेजोसको दैनिकी, ‘बिजनेस लिड गर्न पर्याप्त आराम र निर्णय गर्दा सावधानी चाहिन्छ’


काठमाडौं। विश्वका सबैभन्दा धनाढ्य व्यक्ति जेफ बेजोसले आफ्नो दैनिकी र निर्णय लिने शैली पुस्तक 'इन्भेन्ट & वान्डर' मार्फत् बताएका छन्।

Tata
GBIME
Nepal Life

धनाढ्यको दैनिकी र निर्णय गर्ने कला कस्तो होला भन्ने आम चासो रहने गर्छ। पर्याप्त आरामका कारण बिजनेस लिड गर्दा हुने फाइदा र निर्णय गर्दा अपनाउनु पर्ने विधि र सावधानीलाई अमेजोनका सीईओ एवम् संस्थापक ५६ वर्षीय बेजोसले यस पुस्तकमा महत्वका साथ समेटेका छन्।  

बेजोसले आफ्नो सुत्ने शैलीलाई किताबमा महत्त्वका साथ चर्चा गरेका छन्। विश्वकै धनी व्यक्तिलाई कामको तनावले आराम नपुग्ने हो कि भन्ने लाग्न सक्छ । तर, बेजोस आफ्नो ज्यानलाई पर्याप्त आराम पुग्ने गरी सुत्ने गरेको बताएका छन्। आवश्यक आराम पुगोस् भनेर छिटो सुतेर छिटो उठ्ने उनको बानी छ। पर्याप्त निन्द्रा नपुग्दा यसले निर्णय गर्ने क्षमतामै गम्भीर असर पर्ने उनले बताएका छन्। 

'म विश्वका विभिन्न टाइम जोनमा यात्रा गरेको समय बाहेक सधैं आरामलाई प्राथमिकतामा राख्ने गरेको छु। सधैं आठ घण्टा सुत्न मिल्ने अवस्था हुँदैन, तर ज्यानलाई आवश्यक निन्द्रा पुर्याउन निकै ध्यानकेन्द्रित गर्दै मुड र एनर्जी बढाउन लागि पर्छ,' बेजोसले पुस्तकमा लेखेका छन् ।

यसमा उनले थप भनेका छन्, 'मानौं म दिनमा ६ घण्टा वा अझ भनौं दिनको चार घण्टा मात्रै सुतें भने मैले चार घण्टाको प्रडक्टिभ समय फिर्ता पाउँछु। साथै यसअघि मसँग १२ घण्टाको प्रडक्टिभ समय थियो भने अहिले अपरझट १६ घण्टाको प्रडक्टिभ समय रहेको छ। अब मसँग निर्णय गर्ने समय ३३ प्रतिशतले बढेको छ। उदाहरणका लागि मैले एक सयवटा निर्णय गर्ने तयार गरेको थिएँ भने अब त्यसमा थप ३३ वटा निर्णय थपिने छन् ।'

उनले बिजनेस गर्दा गरिने निर्णयहरुको संख्याभन्दा त्यसको गुणस्तर बढी महत्वपूर्ण हुने बताएका छन्। बिजनेसमा गरिने निर्णयहरु दुई प्रकारको हुने बेजोसको बुझाइ छ। पहिलो प्रकारको निर्णय भनेको अपरिवर्तनीय र अत्याधिक परिणाम देखिने हुन्छ जसलाई 'वान वे डोर्स' पनि भनिने उनले पुस्तकमा भनेका छन्। यस्तै, दोस्रो प्रकारको निर्णय समय लिएर विचार पुर्याएर मात्रै गर्नुपर्ने उनले बताएका छन्।  

'म आफुलाई अमेजोनको चिफ स्लोडाउन अफिसर जस्तो लाग्छ। गरिने निर्णयहरुलाई १७ पटक विचार र विश्लेषण गर्नुपर्छ जस्तो लाग्छ किनभने त्यसको परिणाम उच्च हुन्छ र अपरिवर्तनीय हुन्छ। तर, समस्या भनेको अधिकांश निर्णयहरु एकै हुँदैनन्। कुनै निर्णय गरेर प्रक्रिया अघि बढेपछि त्रुटी देखिएमा सच्याएर पुन: अर्को निर्णय गर्न सक्ने अवस्था हुन्छ,' बेजोसको अनुभव छ। 

स्टार्टअपमा नभइ ठूला संस्थाहरुमा लामो र झन्झटिलो प्रक्रियाबाट निर्णयहरु हुने गर्छन्। यदि त्यस्ता निर्णयहरुमा कुनै त्रुटी भेटिएमा संस्थाको समय, गरेको लगानी र चालेको प्रक्रिया सबै काम नलाग्ने उनले लेखेका छन्। कुनै निर्णय लिँदा आफैंलाई सोध्नुपर्छ यो वान वे डोर हो कि टु वे डोर हो?,  यदि टु वे डोर हो भने सानो समूह वा एक जनाले नै निर्णय गर्दा ठिक हुने उनले उल्लेख गरेका छन्। 

'निर्णय गर्नुस्, त्यो गलत ठहरिए गलत नै हुनेछ। तपाईंले पक्कै परिवर्तन गर्नुहुनेछ। तर, वान वे डोरबाट निर्णय गर्दै हुनुन्छ भने पाँच विभिन्न तरिकाले सोच्नुहोस् र सचेत रहनुस्,' बेजोसले भने,'मलाई हरेक बिहान गल्फ खेल्न, पत्रिका पढ्न र कफी पिउन मन लाग्छ। राति बेलैमा सुत्छु र बिहान छिटै उठ्छु। बच्चाहरु विद्यालय जानुअघि उनीहरुसँगै ब्रेकफास्ट खान्छु।'