चाडपर्व सकिएसँगै घरजग्गा कारोबारमा फेरि उछालको संकेत, पाँच दिनमै १५ हजार घरजग्गा किनबेच

बिजमाण्डू
२०७७ मंसिर ११ गते १२:४५ | Nov 26, 2020
चाडपर्व सकिएसँगै घरजग्गा कारोबारमा फेरि उछालको संकेत, पाँच दिनमै १५ हजार घरजग्गा किनबेच


Tata
GBIME
Nepal Life

काठमाडौं। गत महिना दसैंतिहार लगायतका चाडपर्वका कारण प्रभावित घरजग्गा कारोबार छठपछि भने रफ्तारमा अघि बढ्ने संकेत देखिएको छ।

छठपछि तीन दिन मात्रै खुलेका कार्यालयमार्फत् नौ हजारभन्दा बढी घरजग्गा किनबेच हुनुले पनि कोभिडबाट लामो समय प्रभावित रियल इस्टेट कारोबारले गति लिने संकेत देखिएको हो।

तिहार सकिएपछि मंसिर ३ गते बुधबार मात्रै खुलेका कार्यालयहरुबाट १५ सय घरजग्गा किनबेच भएकोमा ४ गते बिहीबार दुई हजार घरजग्गा किनबेच दर्ता भएका थिए। 

मंसिर ५ गते शुक्रबार छठ पर्वको बिदा परेका कारण पहाडी भेगमा मात्रै खुलेका कार्यालयमार्फत्  एक हजार मात्रै घरजग्गा किनबेच दर्ता भएपनि ७ गते आइतबार भने यो संख्या २१ सयभन्दा बढी भएको थियो। 

सोमबारदेखि सबैखाले चाडपर्वको मुड सकिएसँगै घरजग्गा बजारले आक्रामक सुरुवात गरेको छ। उसै पनि वर्षाको सिजनपछि सुरु हुने दसैंदेखि छठसम्मका सबै ठूला चाड सकिने हुँदा मंसिर महिनाबाट निर्माणको सिजन पनि सुरु हुन्छ। 

यसकारण मंसिर सबैभन्दा बढी घरजग्गा किनबेच हुने महिनामा पर्छ। त्यसमाथि कोभिडले प्रभावित घरजग्गा बजारमा यसको प्रभाव कम हुँदै जाँदा मंसिरमा कोभिडपछिकै अत्यधिक कारोबार हुने भूमि व्यवस्थापन तथा अभिलेख विभागको समेत अपेक्षा छ।

गत सोमबार र मंगलबार देशभर दैनिक तीन हजारभन्दा बढी घरजग्गा किनबेच भएका छन्। बुधबारदेखि विभागले अनलाइन प्रणाली लागु भएका कार्यालयमा अनलाइनबाट मात्रै किनबेच गराउने र ढड्डा श्रेस्तामा दोहोरो अभिलेख गर्नु नपर्ने निर्णय गरेसँगै कारोबार संख्या थप बढ्ने विभागको अनुमान छ।

कात्तिकमा भने दसैं-तिहार लगायतका ठूला चाडका कारण २० दिन मात्रै कार्यालय खुलेकाले ३८ हजार घरजग्गा किनबेच भएका थिए। त्यसबाट पौने दुई अर्ब रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको थियो।

अघिल्लो महिना असोजमा भने ६० हजार घरजग्गा किनबेच हुँदा २ अर्ब ९२ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको थियो। 

कात्तिकमा उपत्यकामा ६५ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको थियो। असोजमा भने उपत्यकामा एक अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। ठूला चाडबाडका कारण कारण कात्तिकमा प्रभावित भएको कारोबारले मंसिर दोस्रो सातादेखि भने गति लिने संकेत दिएको हो।

यस महिनाको पाँच कारोबार दिनबाट मात्रै ५० करोड रुपैयाँ रजिस्ट्रेशन दस्तुर संकलन भएको छ। घरजग्गाबाट मालपोत कार्यालयहरुले सबैखाले राजस्व गरी भने ८८ करोड रुपैयाँभन्दा बढी संकलन गरेको विभागले जनाएको छ।

पूर्वको घरजग्गा बजारमा उछाल 
यो अवधिमा घरजग्गा कारोबारलाई काठमाडौं उपत्यकापछि प्रदेश १ ले बलियो साथ दिएको छ। प्रदेश १ मा सुनसरी, विराटनगर र झापामा अत्यधिक घरजग्गा किनबेच भइरहेका छन्।

यस प्रदेशमा झापा, मोरङ र सुनसरीमा दिनहुँ हजारौं घरजग्गा किनबेच भइरहेका छन्। सुनसरीका साथै मोरङको विराटनगर र बेलबारी तथा झापाको दमक मालपोत कार्यालयको दैनिक कारोबार संख्या एक सयदेखि एक सय ५० वटासम्म रहेको छ।

प्रदेश १ पछि प्रदेश २ मा पनि घरजग्गाको कारोबार उच्च छ। वाग्मती र गण्डकी प्रदेशमा भने औसत कारोबार हुँदा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने घरजग्गा कारोबारले अझै गति लिन सकेको छैन।

त्यस्तै, प्रदेश २ मा जनकपुर, सिरहा र सप्तरीका मालपोत कार्यालयमा पनि दैनिक किनबेच भएका घरजग्गा किनबेच दर्ता अहिले एक सय हाराहारी रहेको छ ।

वाग्मती प्रदेशमा काठमाडौं, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवनमा घरजग्गा किनबेचको अवस्था औसत देखिएको छ । यहाँका कार्यालयमार्फत भइरहेको घरजग्गा किनबेच दर्ता दैनिक ५० देखि ८० वटासम्म रहेका छन्। 

गण्डकी प्रदेशमा कास्कीपछि तनहुँमा घरजग्गा कारोबार बढ्दो क्रममा रहेको छ। यी कार्यालयहरुले विगतमा दैनिक सयभन्दा बढी घरजग्गा किनबेच दर्ता गराउने गरेकोमा अहिले उक्त संख्या त्यसभन्दा कम छ।

लुम्बिनी प्रदेशमा नेपालगञ्ज र दाङमा घरजग्गा कारोबारको ग्राफ उकालो लागिरहेको छ। यहाँको एउटा कार्यालयले दैनिक ५० देखि सय वटासम्म घरजग्गा किनबेच दर्ता गरिरहेका छन्। यहाँ दाङ र नेपालगञ्जमा दैनिक सयदेखि एक सय ५० वटासम्म घरजग्गा किनबेच हुने गरेका थिए।

कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा धनगढीमा तुलनात्मक रूपमा बढी कारोबार देखिएको छ। तर यहाँको कारोबार गति भने अझै पनि सुस्त रहेको विभागको तथ्यांकले देखाउँछ। 

विगतमा दैनिक सयभन्दा बढी किनबेच दर्ता हुने यी कार्यालयमा अहिले यो सख्या ४० देखि ५० वटा मात्रै रहेका छन्।