भारत र बंगलादेश नियमित उडान सुरु गर्ने सरकारको निर्णय, दुईपक्षीय सम्झौतापछि उडान मिति तय

बिजमाण्डू
२०७७ मंसिर ११ गते १२:०० | Nov 26, 2020

काठमाडौं। सरकारले भारत र बंगलादेश नियमित उडान सुरु गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आठ महिनादेखि उडान बन्द भएका यी दुई मुलुकमा पुनः उडान थाल्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

नियमित उडान सुरु गर्नका लागि दुवै मुलुकसँग कूटनीतिक प्रक्रिया सुरु गर्ने तयारी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। 

'क्याबिनेटले निर्णय गरेको छ। अब हामीले दुवै मुलुकमा कूटनीतिक नियोगमार्फत प्रस्ताव पठाउनेछौं। दुवैबाट अनुमति आएपछि मात्र उडान मिति तय हुनेछ,' मन्त्रालयका एक उच्च अधिकारीले भने।

यसअघि भारतले एयर बबल एग्रिमेन्टका लागि प्रस्ताव गरे पनि मन्त्रिपरिषदले सम्झौताका लागि निर्णय गरेको थिएन। चैतअघि नेपाल-भारत चार गन्तव्यमा दुई नेपाली वायुसेवा कम्पनी र तीन भारतीय वायुसेवा कम्पनी (एयर इण्डिया, भिस्तारा र इण्डिगो) ले उडान गर्दै आएका थिए। 

बन्दाबन्दीको समयमा यी दुई मुलुकबीच चार्टर उडान पनि भएको थिएन। भारतले आउँदो डिसेम्बरदेखि अन्तर्राष्ट्रिय उडान चालु गर्ने योजना बनाएको छ।     

नेपाल-बंगलादेशबीच भने उडान बन्द भएको अवधिभर चार्टर उडान नै धेरै भएपछि नियमित उडानको माग हुँदै गएको उड्डयन मन्त्रालयले जनाएको छ। 

कोरोना प्रभावले उडान अवरुद्ध हुनुअघि चैतअघि दुई मुलुकका दुईवटा वायुसेवा कम्नीले दुईपक्षीय नियमित उडान गर्दै आएका थिए। नेपालको हिमालय एयरलाइन्स र बंगलादेशको विमान बंगलादेशले नियमित उडान गर्दै आएका थिए। 

'आठ महिनापछि दुईपक्षीय उडान सुरु गर्ने निर्णय भएपनि दुवै मुलुकका सर्तहरु पालना गर्नुपर्ने हुन्छ। एक-दुईपटकको पत्राचारपछि मात्र उडान मिति तय हुनेछ,' मन्त्रालयका अधिकारीले भने, 'खुल्ने निर्णय भएलगत्तै दुईपक्षीय उडान सुरु भइहाल्छ भन्ने छैन। दुवै मुलुक एकअर्काले बनाएको निर्देशिका बमोजिमका सर्त-सहमतिका आधारमा उडान सुरु हुनेछ ।'  

दुईपक्षीय उडान निश्चित भएपछि नागरिक उड्डयन प्राधिकरणले उडान संख्याका आधारमा स्लट व्यवस्थापन गर्ने जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार हाल १० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुको दैनिक ११ वटा उडान र १३ वटा अवतरण हुँदै आएको छ।

पछिल्लो समय नेपाल वायुसेवा निगम, हिमालय, टर्किस, कतार, एयर अरेबिया, मालिन्दो, फ्लाइ दुबई, युटिए (चार्टर), जजिरा, एयर चाइना, सिल्क लगायतका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर उडान गर्दै आएका छन्।