वीरगंज भन्सारको राजस्व संकलन पुरानो लयमा, कात्तिकमा मात्रै पौने १४ अर्ब असुली

बिजमाण्डू
२०७७ मंसिर १० गते १५:१५ | Nov 25, 2020
वीरगंज भन्सारको राजस्व संकलन पुरानो लयमा, कात्तिकमा मात्रै पौने १४ अर्ब असुली

Tata
GBIME
Nepal Life

वीरगंज। मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सारको राजस्व संकलन पुरानो लयमा फर्केको छ। गत कात्तिक महिनामा लक्ष्यभन्दा ३२ प्रतिशत अर्थात १३ अर्ब ८९ करोड राजस्व संकलन भएको छ।

वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहका अनुसार कात्तिकमा साढे १० अर्ब राजस्व संकलनको लक्ष्य रहेकोमा चाडपर्वका कारण लक्ष्यभन्दा बढी असुली भएको हो। चालू आर्थिक वर्षको प्रथम चौमासिकमा भने वीरगंज भन्सारले लक्ष्य पूरा गर्न सकेको छैन ।

चालु आवको साउनदेखि कात्तिक मसान्तसम्म वीरगंज भन्सारले ४५ अर्ब ८३ करोड रुपैयाँको लक्ष्य पाएकोमा ४३ अर्ब ६७ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ। यो रकम लक्ष्यको ९५ प्रतिशत हो। अघिल्लो आर्थिक वर्ष २०७६/७७ को साउनदेखि कात्तिकसम्म यो भन्सारले लक्ष्यको ९७ प्रतिशत राजस्व उठाएको थियो।

कोरोना माहामारी नियन्त्रणका लागि लगाइएको लकडाउन र निषेधाज्ञा हटेपछि आयात निर्यात कारोबारमा सुधार आएको छ। पेट्रोलियम पदार्थ र गाडी आयातमा सुधार आएकाले कात्तिकमा राजस्व पनि बढेको साहले बताए। ‘पेट्रोलियम र गाडीको आयात अघिल्लो वर्षको पहिलो चौमासिकमा कम भएपनि कात्तिकमा केही सुधार देखिएको छ। तयारी कपडा, भटमासको कच्चा तेल, एच आरसीट  लगायतका वस्तुको आयात बढेको देखिन्छ,’ उनले भने।

लकडाउनको समयमा मुस्किलले १५० वटा गाडी वीरगंज भन्सारको नाकाबाट भित्रिने गरेकोमा अहिले दैनिक ७ सय गाडी जाँचपास भइरहेको छ। गत साउनदेखि लगाइएको देशव्यापी लकडाउनले भदौ र असोजमा वीरगंज भन्सारको राजस्व संकलन कम भएको थियो। वीरगंज भन्सारले साउनदेखि असोजसम्म तीन महिनामा लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन गरेको थियो। साउनमा लक्ष्यभन्दा करिब २२ प्रतिशत बढी राजस्व उठेको भन्सारले भदौ र असोजमा लक्ष्य हासिल गर्न सकेको थिएन।