कात्तिकमा भित्रियो झण्डै सात लाख मोबाइल, ‘ग्रे मार्केट सलबलायो एमडीएमएस कार्यान्वयन गर’

बिजमाण्डू
२०७७ मंसिर १० गते ०९:४६ | Nov 25, 2020


काठमाडौं। स्मार्टफोनको बजारमा बढेको प्रतिष्पर्धासँगै बिक्रेता कम्पनीहरूले उल्लेख्य परिमाणमा सेटहरू आयात गरेका छन्। सीमा सिल भए पनि बजार खुला भएसँगै अवैध ओसारपसार गरेर ल्याउनेहरू सल्बलाउन थाल्दा कारोबारमा असर परेको भन्दै व्यवसायीले नियामक निकायको ध्यानाकर्षण गराएका छन्। 

Tata
GBIME
Nepal Life

कात्तिक महिनामा ६ लाख ८८ हजार आठ सय १० थान मोबाइल फोनको आयात भएको छ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार कात्तिकमा तीन अर्ब पाँच करोड ६२ लाख रुपैयाँभन्दा बढीको मोबाइल फोन आयात भएको छ। 

गत असोजमा तीन अर्ब १५ करोड ८८ लाख रुपैयाँ बराबरका पाँच लाख थानभन्दा बढी मोबाइल सेट आयात भएकोमा कात्तिकमा एक लाख ८२ हजार दुई सय ९५ थान बढी आयात भएको छ। फोन आयातवापत् सरकारले कात्तिकमा ४८ करोड ३७ लाख रुपैयाँ भन्सार असुल गरेको छ।

चालु आवको पहिलो चार महिनामा मात्रै १४ अर्ब १५ करोड ७४ लाख ८९ हजार रुपैयाँ बराबरको २१ लाख ९० हजार आठ सय २५ थान मोबाइल फोन आयात भएको विभागले जनाएको छ। जसबाट सरकारले दुई अर्ब २४ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। 

कात्तिक महिनामा दसैंतिहारलगायतका चाड परेकाले मोबाइल फोनको आयात बढेको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन एवम् आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले बताए। फेस्टिभ सिजनमा उपभोक्ताहरुलाई मोबाइल कम्पनीहरुले विभिन्न स्किम दिने भएकाले पनि आयात बढ्ने गरेको उनको भनाइ छ।

'सरकारले भारतसँगको सीमा कोभिड-१९ जोखिमलाई मध्यनजर गर्दै सिल गरेकाले मोबाइल फोनको ग्रे मार्केट नियन्त्रणमा धेरै सघाउ पुगेको थियो। तर, पछिल्लो समय चाडपर्वको सिजन सुरु भएसँगै फेरि मोबाइल फोनको अवैध आयात सलबलाएको छ,' उनले भने।
एसोसिएसनले तिहारअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) छिटो कार्यान्वयनमा ल्याइ ग्रे मार्केट नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न आग्रह गरेको मल्होत्राले बताए। 

यस्तै, बजारमा अवैध तरिकाले भित्रिएका मोबाइल फोन भित्र्याइरहेका पसलहरु बारे सूचना प्राप्त भएकाले एक-दुई दिन भित्रै पत्र पठाइ त्यस्ता कार्य रोक्न चेतावनी दिने तयारी भइरहेको उनले बताए। पत्र पाएपछि पनि पुन: अवैध क्रियाकलाप गरे मोबाइल फोनका आधिकारिक वितरकहरुले त्यस्ता बिक्रेताहरुलाई फोन सप्लाई नगर्ने निर्णय गरेको जानकारी दिए। 

त्यसैगरी, भौतिक दूरी कायम गर्नुपर्ने साथै भीडभाड निरुत्साहित गर्नुपर्ने भएका कारण पछिल्लो समय अधिकांश क्रियाकलाप 'भर्चुअल्ली' नै भइरहेका छन्। कोरोना जोखिम कायमै रहेकाले स्कुल-कलेजहरुले भर्चुअल कक्षा सञ्चालन गरिरहेका छन्। व्यवसायिक संघसंस्था, कार्यालयले पनि कर्मचारी र उपभोक्तासँग प्रत्यक्ष भेटघाटभन्दा पनि भर्चुअल माध्यमलाई प्राथमिकता दिइ सेवा दिइरहेकाले गुणस्तरीय र लेटेस्ट प्रविधिको मोबाइल फोनमा अपग्रेड गर्ने चाहनाले पनि माग बढिरहेको व्यवसायीहरुले बताएका छन्।