पञ्चायतले खनेको सडकको नाम फेरियो, चुनावी नारा बनाएर कोही सांसद बने कोही मन्त्री : तर बाटो उस्तै

बिजमाण्डू
२०७७ मंसिर ९ गते ११:१२ | Nov 24, 2020
पञ्चायतले खनेको सडकको नाम फेरियो, चुनावी नारा बनाएर कोही सांसद बने कोही मन्त्री : तर बाटो उस्तै

Tata
GBIME
Nepal Life

सुर्खेत। २०३६ सालमा ट्रयाक खुलेको धुलियाबिट–भेडावारी सडक खण्ड अहिले पनि पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुन्छ। यो सडकको स्तरोन्नति गर्ने चनुावी नारा बनाएर पटकपटक निर्वाचन जितेका नेताहरु सांसददेखि मन्त्रीसम्म बने। तर सडकको अवस्था भने सुधार हुन सकेको छैन।

प्रदेशको राजधानी सुर्खेतको मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने धुलियाबिट–भेडावारी सडकको ट्र्याक खुलेको झण्डै ४१ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुन नसकेको हो। तत्कालिन जिल्ला पञ्चायत सभापति तुल्सीप्रसाद शर्माले सडक सुरुवात गरेपनि त्यसयता नेकपा र कांग्रेसका दर्जनौँ नेताले चुनावी नारा बनाएर निर्वाचन जिति सांसददेखि मन्त्रीसम्म बनेर नेताहरुको मुहार फेरियो। सडकको दुरावस्था भने फेरिएको छैन।

विस्तृत शान्ति सम्झौतापछि दशरथपुरस्थित पूर्व माओवादीको अस्थायी शिविर स्थापना हुदाँ तंग्रिन सुरु गरेको यो सडक अहिले बेहाल अवस्थामा छ। अस्थायी शिविर बसेकै कारण ग्राभेलसम्म भएको यो सडक अहिले त्यो बाहेक अरु स्तरोन्नति हुन सकेको छैन। ‘अहिले स्तरोन्नती हुन्छ भनेर मदन भण्डारी राजमार्ग भनेर चर्चा चलाएका छन्,’ लेकबेशी नगरपालिका वडा नं. ४ का स्थानीय रमेश ढकाल भन्छन,‘बाटो बनाउँछौँ भनेर चुनाव ताका सबै पार्टीका नेता कार्यकर्ता लाग्छन्, चुनाव जितेर गएपछि फर्केर हेर्दैनन्।’ फेरि थपे, ‘बाटो जस्तो थियो, उस्तै छ।’

त्यत्तिमात्रै होइन स्थानीय सरकारमार्फत मर्मत सुधार गर्न सकिने भए पनि चासो देखाएका छैनन्। उनै जनप्रतिनिधि दैनिक सोही सडक ओहोरदोहोर गरे पनि सडक स्तरोन्नति गर्न भने ध्यान दिएका छैनन्।

‘मेयरदेखि वडा सदस्यसम्म दैनिक हिड्ने सडक हो।’ ढकालले भने,‘कुनै पनि जनप्रतिनिधिलाई सडक बनाउनुपर्छ भन्ने लाग्न सकेको छैन। निर्वाचन जितेर आएको चार वर्ष पुग्न लाग्दासमेत वास्ता गरेका छैनन्।’

करिब ३७ किलोमिटर रहेको सडक, निर्माणको सुरुवातीसँगै चार दशक यता सरकारको नजरमा नपरेको यो सडक खण्ड धुलियाबिट–भेडावारी सडक, सुर्खेत–कोहलपुर सडक, सुर्खेत–दाङ पुरनधारा हुदैँ हाल मदन भण्डारी राजमार्गका रुपमा चार पटक नामाकरण गरिएको छ। पञ्चायत, बहुदल, गणतन्त्र हुदैँ संघीय व्यवस्थासम्म आईपुग्दासमेत धुलियाबिट–भेडावारी सडक खण्ड कामभन्दा पनि राजनीति गर्ने थलो बनेको छ।

‘पञ्चायतमा खनेको धुलियाविट भेडावारी सडक जनताको सुखको लागि भन्दा पनि राजनीतिक गर्ने थलो बनाएका छन्।’ स्थानीय बुद्धिजिवी हरिप्रसाद शर्मा भन्छन्,‘चुनावअघि सडक बनाउने नारा बनाउँछन्, भोट पाएर कुर्चीमा पुगेपछि फर्केर हेर्दैनन्।’

सडकको स्तरोन्नति हुन नसकेकै कारण पटकपटक सर्वसाधारण नागरिकले अकालमै ज्यान गुमाउनु परिरहेको तितो यथार्थ उनै जनप्रतिनिधिलाई थाहै छ। तर, पनि सडक स्तरोन्नतिमा ध्यान पुगेको छैन।

हाल तीन वटा नगरपालिकालाई छोएको सडक खण्ड वर्षौदेखि राजनीतिक दलले चुनावी नारा बनाउने तर, काम नगर्ने प्रवृत्ति उस्तै छ। घरदैलोका सरकारले आवश्यक बजेटको व्यवस्था गरेर तत्काल स्तरोन्नती गरी बाह्रैमास सवारी साधन चल्न सक्ने पक्की सडकको पर्खाइमा स्थानीय नागरिक छन्।

सिधा राजधानी वीरेन्द्रनगर जोड्ने यो सडक जिल्लाको पूर्वी क्षेत्र जाजरकोट, सल्यान, दाङ, बुटवल हुदैँ समग्र पहाड–तराई, पूर्व–पश्चिम जोड्न सकिने सडक सर्वसाधारण नागरिकको समेत आर्थिक समृद्धिको मेरुदण्डको रुपमा हेरिएको छ।

सडकको स्तरोन्नति नभएकै कारण यहाँका नागरिक सास्ती बेहोर्दै आएका छन् भने, स्थानीय उत्पादनको बजारीकरणका लागि समेत हैरानी खेप्दै आएका छन्।हाल करिब ४ मिटर चौडाह रहेको सडक मदन भण्डारी राजमार्ग नामाकरण भएसँगै नौ मिटरको हुनेगरी बोटेचौरदेखि धुलियाबिटसम्म ३५ किलोमिटर बढी सडकको विस्तृत परियोजना प्रतिवेदन तयार भैसकेको भन्दै अब निर्माण कार्य पुरा हुने जनप्रतिनिधिको दाबी छ।

‘हामी निर्वाचित भएर आईसकेपछि सडक स्तरोन्नतिको काम अघि बढाएका छौँ,’ लेकबेशी नगरपालिकाका मेयर गगनसिं सुनारले भने,‘अहिले सडकको डीपीआर भैसकेको छ। त्यसैले ढिलो चाँडो सडक, सडक जस्तो बनाएर छोड्छौँ।’