वीरगंजको सुक्खा बन्दरगाहमा भित्रियो टेस्ला कार, आयातकर्ता छुटाउन अझै गएनन्

बिजमाण्डू
२०७७ मंसिर ९ गते ०७:३१ | Nov 24, 2020
वीरगंजको सुक्खा बन्दरगाहमा भित्रियो टेस्ला कार, आयातकर्ता छुटाउन अझै गएनन्

Tata
GBIME
Nepal Life

वीरगंज। गैरकानुनी रूपमा भित्रिएको ६ वटा विलासी कारको मुद्दा नसुल्झिएको अवस्थामा थप दुई वटा टेस्ला कार नेपाल भित्रिएको छ। सुरुमा वेस्टार ग्यालेक्सी प्रालि काठमाडौंले टेस्ला गाडी भित्र्याएको थियो। तर अहिले कुन कम्पनीले भित्र्याएको एकिन हुन सकेको छैन।

अमेरिकी कम्पनीका दुई वटा टेस्लाको कार बेलायतको जेम्स कार्टर निर्यातकर्ताबाटै भित्र्याएको वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ। भन्सार अधिकृत चुडामणि शर्माका अनुसार अवैध रूपमा भित्रिएका ६ वटा गाडीहरुको मुद्दा सर्वोच्च अदालत र जनकपुर उच्च अदालत स्थायी इजलास वीरगंजमा चलिरहेको अवस्थामा फेरि दुई वटा कार भित्रिएको हो।

‘करिब एक वर्षदेखि अवैध रूपमा भित्रेका ६ वटा कारहरुको मुद्दा टुंगिएको थिएन,’ उनले भने, ‘फेरि दुई वटा टेस्ला कार नेपालमा बिना एजेन्सी दर्ता भएर ल्याइएको छ। वेस्टारले एक वर्ष अघि मगाएको एउटा टेस्ला कारको बारेमा मुद्दा लडिरहेकोले अर्को फर्म खडा गरी मगाएको छ।’

दसैंभन्दा अघि डेढ महिनाअघि थप दुई वटा टेस्ला रेलबाट सिर्सिया भन्सार कार्यालयको यार्डमा झारिएको थियो। गाडी छुटाउन आयातकर्ता नआएकाले वेस्टारको अर्को फर्म वा साझेदार कम्पनी को हो भन्ने खुल्न नसकेको उनले बताए।

नेपालको आर्थिक ऐनमा विदेशमा उत्पादन हुने कार कम्पनीको बिक्रेता वा एजेन्सी नेपालमा नभएको खण्डमा उक्त कम्पनीको कार भित्र्याउन पाइदैन। भित्र्याइएमा त्यसलाई गैरकानुनी मानिन्छ। तर, नेपाली कार आयातकर्ताहरुले चोर बाटोबाट ती ६ वटा कार भित्र्याएका थिए। २०१९ सेप्टेम्बर ७ का दिन किशोर गियरले २ वटा विद्युतीय ज्यागुअर गाडी मगाएको थियो भने त्यसको चार दिनपछि अर्थात सेप्टेम्बर ११ मा वेस्टार ग्यालेक्सीले एउटा पेट्रोलबाट चल्ने टेस्ला कार वीरगंज भित्र्याएको थियो। त्यसैगरी, प्रिन्सा मोटर्स प्रालि काठमाडौंले २०१९ नोभेम्बर ११ मा ३ वटा आउडी कार अवैधरूपमा भित्र्याएको भन्सार अधिकारीहरु बताउँछन्।

गत जेठ १५ को बजेटमा पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले अवैध रूपमा भित्रिएको गाडीको हकमा ३० प्रतिशत जरिवाना लिई जाँचपास गर्ने गरी बाटो खोले पनि ती ६ वटा गाडी आयातकर्ताले जाँचपास गर्नुको सट्टा अदालतमा मुद्दा लड्न पुगेका छन्। प्रिन्सा मोटर्सले ३ वटा आउडीको हकमा जाँचपास हुनु पर्ने सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। सर्वोच्चले प्रिन्सा मोटर्सको रिट खारेज गरेको छ भने किशोर गियरले दुई वटा ज्यागुआर र वेस्टार ग्लेक्सीले एउटा टेस्ला कार छुटाउन जनकपुर उच्च अदालत अस्थायी इजलास वीरगंजमा रिट हालेको छ। जसमा अदालतको आदेश आउन बाँकी छ।

भन्सार अधिकृत चूडामणि शर्माले भने, ‘हामीले पनि जवाफ पेश गरिसकेका छौं, एक पटक सुनुवाई पनि भइसकेको छ।' एउटै प्रकृतिको मुद्दामा सर्वोच्चले एक जना आयातकर्ताको रिट खारेज गरिसकेको अवस्थामा उच्च अदालतले पनि गैरकानुनी रुपमा भित्रिएको गाडीको हकमा उस्तै आदेश गर्ने अपेक्षा गरिएको उनले बताए।

यसअघि किशोर गियर प्रालिले मगाएको पेट्रोलबाट चल्ने एउटा ज्यागुअर र ४ वटा रेन्जरोभर गरी ५ वटा गाडीको हकमा एक पटकका लागि भित्र्याउन दिने भनेर पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद् स्तरीय निर्णय गरेपछि जाँचपास भइ छुटिसकेको छ। यसअघि पनि प्रिन्सा मोटर्सले तीन वटा आउडी कार अवैध रूपमा भित्र्याएर काठमाडौंको ग्राहकलाई बेचेको घटना सार्वजनिक भएको थियो।