मोटरसाइकलको बिक्री बढेसँगै आयात पनि उच्च, एकै महिना भित्र्याइयो ४३ हजारभन्दा बढी

बिजमाण्डू
२०७७ मंसिर ९ गते २०:११ | Nov 24, 2020
मोटरसाइकलको बिक्री बढेसँगै आयात पनि उच्च, एकै महिना भित्र्याइयो ४३ हजारभन्दा बढी

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिडले सुस्ताएको अटोमोबाइल बजारले लय समातेको छ। कोभिड संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउन र निषेधाज्ञा फिर्ता भएयता सवारी साधनको बिक्री उच्च भएको भंसार विभागको आयातको तथ्यांकले पनि पुष्टि गर्छ। 

विभागका अनुसार गत कात्तिक महिनामा मात्रै चारपाङ्ग्रे सवारी र मोटरसाइकल उल्लेख्य परिमाणमा आयात भएको छ। सवारी आयात बढ्दा विभाग गत कात्तिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ। विभागले कात्तिक महिनामा २८ अर्ब संकलनको लक्ष्य लिएको थियो। लक्ष्यभन्दा ८ अर्ब बढी राजस्व उठेको विभागका प्रवक्ता शिशिर घिमिरेले बताएका छन्। 

चाडबाड लक्षित अफरले सवारी साधनको बिक्री बढाएपछि व्यवसायिक कम्पनीहरूले आयात पनि बढाएका हुन्। कात्तिक महिनामा मात्रै तीन फरक भन्सार शीर्षकमा ४३ हजारभन्दा बढी मोटरसाइकल आयात भएको छ। व्यवसायीले ५० देखि २५० सीसी क्षमताको मोटरसाइकल २७ हजार ८ सय २८ वटा मोटरसाइकल भित्र्याएका छन्।

चार महिनामा यो शीर्षकमा ६६ हजार ७ सय ४५ वटा सवारी आयात भइसकेको छ। सर्वाधिक परिमाणमा आयात हुने वस्तुमध्ये  मोटरसाइकल चौथो नम्बरमा परेको छ। जसका लागि व्यवसायीहरुले भारतीय बजारमा ५ अर्ब ३२ करोड तिरेका छन्। यसबाट सरकारले ५ अर्ब ५० करोड राजस्व संकलन गरेको छ। 

यसैगरी अर्को भन्सार शीर्षकमा कात्तिक महिनामा मात्रै १० हजार ८ सय ७४ वटा मोटरसाइकल आयात भएको छ। यो भन्सार शीर्षकमा ४ महिनामा ३२ हजार मोटरसाइकल आयात भइसकेको छ। यी मोटरसाइकललाई व्यवसायीले भारतीय बजारमा ३ अर्ब १७ करोड तिरेका छन्। यस्तै भन्सार महसुल २ अर्ब ८१ करोड तिरेका छन्।

यस्तै फरक भन्सार शीर्षकमा कात्तिक महिनामा मात्रै ४ हजार ३ सय ९२ वटा मोटरसाइकल आयात भएको छ। यो भन्सार शीर्षकमा चार महिनामा ११ हजार ५ सय ४० वटा मोटरसाइकल आयात भइसकेको छ। यी मोटसाइकलको भारतीय बजारमा १ अर्ब ३५ करोड तिरेका छन्। यस्तै भन्सार महसुल १ अर्ब ५९ करोड तिरेका छन्।

यसैगरी सवारी आयातमा पनि वृद्धि भएको छ। हजारदेखि १५ सीसीसम्मको सवारी कात्तिक महिनामा मात्रै ९ सय ८७ वटा आयात भएको छ। यो शीर्षकमा चार महिनामा ३२ सय ९५ वटा सवारी आयात भइसकेको छ। यी सवारीको लागि व्यवसायीले भारतीय बजारमा २ अर्ब ८७ करोड तिरेका छन् भने भन्सार महसुल ६ अर्ब ६७ करोड बुझाएका छन्। 

कोभिड महामारी सुरु भएसँगै बन्द भएको सार्वजनिक सवारीको विकल्पमा मोटरसाइकलको प्रयोग बढेको व्यावसायीहरुको भनाई छ। दसैं र तिहारमा माग भए बमोजिम मोटरसाइकल उपलब्ध गराउन नसकेका व्यवसायीले कात्तिक महिनामा धमाधम मोटरसाइकल आयात गरेका हुन्।   

यस्तै सामान बोक्ने पीकअप सवारी ६ सय ७६ वटा आयात भएको छ। हजार सीसीसम्मका सवारी ६ सय ७७ वटा आयात भएको छ। डिजेलबाट चल्ने १५ सय सीसी क्षमताको सवारी ४ सय ४८ वटा आयात भएको छ। यस्तै सिंगल क्याब सवारी १२ सय २९ वटा भित्रिएको छ। 

नेपाल भित्रिरहेका वस्तुमा चिनी आयात अस्वभाविक रुपमा वृद्धि भइरहेको देखिएको छ। यो वर्ष ४ अर्बभन्दा बढीको चिनी आयात भइसकेको छ। 

यस्तै चार महिनामा १ अर्ब २५ करोड मूल्य बराबरको सिमेन्ट क्लिंकर आयात भइसकेको छ। युनाइटेड अरब इमिरेट्स (युएई) बाट ४ सय ५० केजी सुन आयात भएको छ। यो ३ अर्ब ३० करोड मूल्य बराबरको हो। जसबाट भन्सार राजस्व ३८ करोड रुपैयाँ संकलन भएको छ।