कोरोनाको खोप हालेर फर्किएपछि चिनियाँले नारायणगढ-बुटवल सडक निर्माणमा तीव्रता

बिजमाण्डू
२०७७ मंसिर ७ गते ०९:१९ | Nov 22, 2020
कोरोनाको खोप हालेर फर्किएपछि चिनियाँले नारायणगढ-बुटवल सडक निर्माणमा तीव्रता

Tata
GBIME
Nepal Life

काठमाडौं। पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ-बुटवल सडक विस्तारको योजना सुरु भएको करिब डेढ वर्षपछि कामले बल्ल गति लिन थालेको छ। 

आवश्यक पूर्व तयारी नहुनु र कोरोना महामारी लगायतका कारण काम सुरु भएर पनि गति लिन सकिरहेको थिएन। राजमार्ग विस्तारको काम करिब एक महिनायता भने युद्धस्तरमा जारी छ। 

आयोजना निर्माण जिम्मा पाएका चिनियाँ निर्माण कम्पनीका प्राविधिकसहितको टोली कोरोनाविरुद्धको खोप लगाएर फर्किएसँगै आयोजनाको कामले गति लिएको हो।

पूर्व तयारी नै नगरी थालिएका कारण करिब एक वर्ष कामै हुन सकेन। आयोजना क्षेत्रभित्र पर्ने रुख र विद्युतका पोलहरु नहटाइ ठेक्का लगाइएको थियो। राष्ट्रिय प्राथमिकताको आयोजना भए पनि वन विभाग र प्राधिकरणले सहजीकरण नगरिदिँदा चिनियाँ कम्पनीले कामै सुरु गर्न सकेका थिएनन्। 

साइटमा खडा गरेका क्याम्पमा ठुला ठुला इक्विपमेन्ट र निर्माण सामाग्रीहरु ल्याइए पनि काम गर्ने साइट क्लियर नहुँदा थन्क्याएर राख्नुपरेको थियो। अहिले भने दुवै निकायबाट सहजीकरण पाएका कारण काम सुरु भएको आयोजनाका इन्जिनियर कृष्ण आचार्यले बताए। 

उनका अनुसार, महामारी नभएको भए अहिले तीव्र गतिमा काम भइरहेको हुने थियो। साइटको समस्या हल हुने बित्तिकै कोरोना महामारी सुरु भएको थियो।
 
अहिले निर्माण कम्पनीले आयोजनाको सहजीकरण र सम्बन्धित निकायको रेखदेखमा रुख कटानको जिम्मा दिइएको छ। अहिले निर्माण कम्पनी आफैंले द्रुत गतिमा रुख कटानको काम गरिरहेको छ। 

राजमार्गको सिमांकनमा साना-ठुला गरि करिब ३० हजार रुखहरु पर्छन्। जसमा साढे ६ हजार कटान भइसकेको छ। बाँकी कटान जारी छ। मध्यवर्ती क्षेत्रमा पर्ने रूखहरू पनि कटानका लागि मन्त्रिपरिषदले स्वीकृति दिइसकेको आयोजनाले जनाएको छ।  

इन्जिनियर आचार्यका अनुसार, विद्युतका पोलहरु सार्ने काम पनि निर्माण कम्पनीलाई जिम्मा दिने अन्तिम तयारी भएको छ। उसले कहाँ कहाँ काम गर्ने त्यहीँका पोल सार्दै काम गर्नेछ। 

त्यसमा नेपाल विद्युत प्राधिकरण र आयोजनाको समन्वय हुनेछ। 'हाम्रो भूमिका सहजीकरणको मात्रै हो। काम गर्ने होइन,' आचार्यले भने,  'ठेकेदार कम्पनी चिनियाँ छ, परामर्शदाता कोरियन। चिनियाँ कम्पनीलाई कोरियन कम्पनीले काम लगाउने हो,' उनले भने।

आयोजनाका अनुसार, अहिले साइटमा ६५ जना प्राविधिकसहितको समूह खटिएको छ। १५० हाराहारी कामदार छन्। आवश्यकता अनुसार कामदार थपघट गरिँदै आएको छ।  दुई ठुला पुल, साना पुल. साइड ड्रेन, ५० वटा कल्भर्ट, माटो भर्ने, कटान, सानातिना संरचना निर्माण, रुख कटान लगायतका कामहरु भइरहेका छन्। 

मेसिन बेस आयोजना 
यो आयोजना मेसिनमा आधारित भएर निर्माण हुनेछ। सडक निर्माणका लागि आवश्यक पर्ने सबै खालका मेसिनहरु निर्माण कम्पनीले साइटमा ल्याइसकेको छ। 

'निर्माण लागि मेसिनको कुनै समस्या छैन। कम्पनीले ल्याएर साइटमा राखेको छ,' आचार्यले भने, 'कुनै मेसिन सय जनाको काम एउटै मेसिनले गर्ने खालका अत्याधुनिक पनि छन्। काम अघि बढेकाले गति दिन सहज छ।'

उनका अनुसार, पाइल फाउण्डेसनका लागि रिग मेसिन ल्याइएको छ। जसले ३/४ वटा पुलका लागि एकै दिनमा पाइल खनेर कंक्रिटिङ गर्न सक्छ। सामान्यतया नेपालमा अहिले रहेका प्रविधिबाट एउटै पाइल खन्न तीन साता बढी लाग्छ। यस्तो प्रविधि अन्य पुल निर्माण गर्न स्थानहरु पनि उपयोगमा ल्याउनुपर्ने आयोजनाका इन्जिनियरहरुको भनाइ छ। 

बेस, सवबेसदेखि कालोपत्रेसम्मका लागि कामदारको भन्दा बढी मेसिनहरु प्रयोग हुनेछ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ९ गते शिलान्यास गरेपछि निर्माण थालिएको यो आयोजनाको कामको मूल्यांकन गर्न सकिने अवस्थामा भने पुग्न सकेको छैन। 

'भर्खरै काम सुरु भएकाले यत्ति प्रगति भनेर मूल्यांकन गर्न सकिने अवस्था छैन। एक दुई महिनापछि मात्रै मूल्यांकन गर्न मिल्छ,' आचार्यले भने, 'माटो भर्ने, कल्भर्ट लगायतका साना संरचनाका मात्रै काम भएकाले खर्च पनि धेरै देखिँदैन। ठुला काम बल्ल सुरु हुन लागेको छ।'

१ सय १५ किमि सडक बिस्तार हुने १६ अर्बको आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले पाएको छ। नारायणगढ-दाउन्ने ६५ र दाउन्ने-बुटवल ५० किमिका दुई खण्ड छन्। 

दुवै खण्डका लागि छुट्टा छुट्टै आयोजना कार्यालयनै स्थापना गरिएको छ। यो आयोजना एसियाली विकास बैकको सहयोगमा निर्माण हुन लागेको हो। सडकको हालको विद्यमान दुई लेनलाई चार लेनमा विस्तार गर्न लागिएको हो। 

दुई/दुई लेनको बीचमा ग्रिनरी मेडियन राखिनेछ। जसमा फूल र साना विरुवाहरु रोपेर सुन्दर बनाउने डिजाइन छ। ३.५ मिटरको एउटा लेन हुनेछ।

'विदेशी कन्ट्रयाक्टर भनेर माया गरिनेवाला छैन'
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समयमा काम सक्न निर्देशन दिएका छन्। गत साता सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित भर्चुअल छलफलमा आइसोलेसनबाटै नेम्वाङले विदेशी कन्ट्रयाक्टर भनेर माया नगरिने भन्दै समयमा काम सक्न निर्देशन दिएका हुन्।

उनले देशकै महत्वपूर्ण यो सडक विस्तारका लागि सम्बन्धित निर्माण कम्पनी र परामर्शदातासँग बसी कार्ययोजना बनाएर अघि बढ्न आयोजना कार्यालयलाई निर्देशन दिएका छन्। 

छलफलमा आयोजना कार्यान्वयन निर्देशनालय (एडीबी) का प्रमुख दीपक श्रेष्ठ, विभागका महानिर्देशक केशवकुमार शर्मा, सहसचिव गोपाल सिग्देल, आयोजनाका इन्जिनियरहरु, निर्माण कम्पनीका प्रतिनिधि, परामर्शदाता कम्पनी लगायत सहभागी थिए। निर्माण कम्पनीका प्रतिनिधिले समयमै सक्ने प्रतिबद्धता जनाएका थिए।

यो आयोजना तयारी नै नगरी ठेक्का निकालिएका कारण एक वर्ष पछाडि धकेलिने आयोजनाको संशोधित तालिका छ।