आफ्नो सम्पत्ति बेचेर पनि बैंक जोगाउन हिँडेका सूर्यबहादुर, उमेशसिंह भण्डारीको नजरमा केसी




देशको पहिलो पुस्ताका मर्जरहरु गराउन मैले सक्रिय भूमिका खेलेको थिएँ। पछिल्लो समय कुमारीमा काष्ठमण्डप विकास बैंक मर्जरमा पनि मैले सक्रिय भूमिका खेल्ने मौका पाएको थिएँ। 

विभिन्न संस्थाहरुमा गरिएको मर्जरका मेरा आफ्नै अनुभवहरु छन्। यसबारे छुट्टै प्रसंगमा चर्चा गरौंला। तर ती अनुभवमध्ये माछापुच्छ्रे बैंक र तत्कालिन स्ट्याण्डर्ड फाइनान्सको सफल मर्जरबारे यहाँ केही उल्लेख गर्न खोजेको छु- खासगरी सूर्यबहादुर केसी सरको योगदानलाई लिएर। 

TaTa
Kumari Bank
TVS

यो मर्जरमा अतुलनीय योगदान गर्ने माछापुच्छ्रे बैंकका तत्कालिन अध्यक्ष सूर्यबहादुर केसीको हालै असामयिक निधन भएपछि यससँग जोडिएका केही अनुभूतिहरुबारे लेख्न सान्दर्भिक ठानेको हुँ।

मैले माछापुच्छ्रे बैंक छाडेको पनि लगभग सात वर्ष भइसकेको छ। यद्यपि, हामीबीच राम्रो व्यक्तिगत सम्बन्ध थियो। मैले उहाँलाई एउटा सम्मानजनक व्यक्तिका रूपमा हेरेकाले सधैं 'सर' ले सम्बोधन गर्न सहज ठानेँ। सूर्यबहादुर सर काठमाडौं आउँदा वा म पोखरा गएका बेला प्रायः भेटघाट र लामो कुराकानी हुने गरेको थियो। यसबाहेक पनि फोनबाट कुराकानी नियमित नै हुन्थ्यो।

त्यस्तो कुराकानी उहाँ बित्नुभन्दा तीन-चार दिनअगाडि पनि भएको थियो। त्यतिबेला स्वास्थ्य ठीक रहेको बताउनुभएको सूर्य सर केही दिनमै बितेको खबर अकस्मात सुन्दा त्यसले मलाई स्तब्ध बनायो।

यसबाट केही पछाडि फर्कन चाहन्छु जतिबेला म तत्कालिन स्ट्याण्डर्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर गएको थिएँ। सीईओ बनेर गएपछि ममा एक किसिमको ब्यग्रता बढ्न थालेको थियो। फाइनान्सको पुँजी एक अर्ब र खुद्रा निक्षेप/कर्जा पनि लगभग एक-एक अर्ब हाराहारी थियो। 

त्यसबेला फाइनान्स र विकास बैंकहरु समस्यामा गइरहेको अवस्था थियो। अर्कोतिर, संस्थापकहरु फाइनान्सलाई चाहिनेभन्दा पाँच गुणा पुँजी थपेर वाणिज्य बैंक हुने सपना बोकेर बसेका थिए। 

यस्तो अवस्थामा संस्थालाई राम्रो प्रतिफल प्रदान गर्न र स्तरोन्नति गर्न पनि तत्कालै महत्पूर्ण रणनीतिक कदम चाल्नुपर्ने अवस्था थियो। हामी सबैजना सञ्चालक समिति तथा उच्च व्यवस्थापन मर्जरमार्फत यी दुवै उद्देश्य पूरा गर्ने निर्णयमा पुग्यौं। धेरैवटा वित्तीय संस्थाहरुसँग कुराकानी भइरहेकै थियो।

त्यसै मेसोमा एक बिहान मेरा तत्कालिन सहकर्मी नायव महाप्रबन्धक (डीजीएम) अशोक खड्का आएर 'माछापुच्छ्रे बैंक पनि मर्जरमा जान खोजेको रहेछ, कुरा गरौं न' भन्नुभयो। सोहीपछि हामी दुवैजनाले माछापुच्छ्रे बैंकका सीईओसँग सामान्य कुराकानी गयौं। उहाँले त्यसमा सहमति जनाउँदै आफ्ना अध्यक्षज्यूसँग  भेटेर कुरा बढाउँदा अझ प्रभावकारी हुने बताउनुभयो ।

त्यसबेला दुवै संस्था कमजोर अवस्थामा रहेको हुँदा मर्ज गर्दा अझ समस्या आउला कि भनेर हामीले नेपाल राष्ट्र बैंकका तत्कालिन उच्च तहका अधिकारीहरुसँग पनि छलफल गर्‍यौं। उहाँहरुले व्यवस्थापन गर्नुपर्ने केही पाटो सुझाउँदै त्यसलाई सम्बोधन गर्न सक्दा मर्जरमा सफल हुनसक्ने सल्लाह दिनुभयो ।

मलाई ती कुराहरु हामीले व्यवस्थापन गर्न सक्छौं भन्ने लाग्यो । त्यही आत्मविश्वासमा मैले सञ्चालक समिति र उच्च व्यवस्थापनसमक्ष मर्जरका चुनौती र अवसरबारे बताए। यसपछि माछापुच्छ्रे बैंकका तत्कालिन अध्यक्ष सूर्यबहादुर केसीसँग भेट्न जाने कुरा भयो। स्ट्याण्डर्ड फाइनान्सको सञ्चालक समितिले प्रमुख कार्यकारीलाई नै उहाँसँग भेट्न पठाउने निर्णय गर्‍यो।

मर्जरको प्रस्ताव लिएर भेट्न गएको म पहिलो भेटमै उहाँबाट प्रभावित भएँ । त्यसबेला उहाँले मलाई भन्नुभएको कुरा अझै ताजा छ । 'बैंकमा हालेको मेरो ६० करोड रुपैयाँ पुँजीको माया छैन। तर, गण्डकी क्षेत्रका जनताले मलाई विश्वास गरेर ४/५ अर्ब रुपैयाँ पैसा जम्मा गरेका छन्। त्यो पैसाको सुरक्षा गर्नु मेरो कर्तव्य हो। यसका लागि मैले निर्वाह गर्नुपर्ने जेजस्तो भूमिका हुन्छ, त्यो निर्वाह गर्न तयार छु,' सूर्यबहादुर सरले भन्नुभएको थियो।

त्यसबेला पनि मैले केसी सरका बारेमा थुप्रै कुराहरु सुनेको थिएँ। एक सफल व्यवसायी, राजनीतिज्ञ, बैंकर, समाजसेवी इत्यादि उहाँका केही परिचय थिए। तर उहाँले भेटमा जे कुरा भन्नु भयो, त्यो अरु सञ्चालकबाट मैले आजसम्म सुन्न पाएको छैन। उहाँ आफ्नोभन्दा जनताको पैसाप्रति चिन्तित हुनुहुन्थ्यो। 

मर्जरका विषयमा उहाँसँग कुरा गर्न पोखरा पुग्नेबित्तिकै सम्पर्क गरेँ। उहाँले साँझ ५ बजेको समयलाई बोलाउनुभयो। सोहीअनुसार म पुँगे। अग्लो कद, गोरो वर्णका सूर्य सर त्यसबेला स्वास्थ्य केही कमजोर अवस्थामा (भर्खरै ठूलो बिमारबाट तंग्रिने क्रममा हुनुहुन्थ्यो) भएकाले बोली पनि राम्ररी नबुझिने थियो। त्यसका बाबजुद उहाँले मसँग करीब तीन घण्टा छलफल गर्नुभयो। 

छलफलको सुरुमै उहाँले मलाई दुईवटा प्रश्न गर्नुभयोः

१. हामीजस्तो ठूलो बैंकले सानो संस्थालाई मर्ज किन गर्ने ?

२. तपाइँलाई कुन पद चाहिन्छ ? फलानो (एकजना व्यक्तिको नामै तोकेर भन्नु भएको थियो) भन्दा तल कि माथि ?

मैले उहाँलाई भनें, 'सर, मर्जर ठूलो वा सानो जुन संस्थासँग गरे पनि हुन्छ। त्यसको दीर्घकालीन फाइदा दुवै पक्षलाई हुनुपर्‍यो। अहिले माछापुच्छ्रे बैंकसँग पुँजीको अभाव छ। तर व्यवसाय विस्तार गर्ने प्रचुर क्षमता र सम्भावना छ। हाम्रो फाइनान्सको पुँजी धेरै छ तर व्यवसाय बढाउने क्षमता र सम्भावना न्यून छ। यस्तो अवस्थामा दुवै संस्था मिलेर गए पुँजीको पनि समस्या हल हुन्छ र व्यवसाय विस्तारमा पनि राम्रो गर्न सकिन्छ। यसबाट दीर्घकालीन हित दुवैलाई हुन्छ। दुवै पक्षले राम्रो प्रतिफल पनि लिन पाउँछन्। यो मर्जर सफल भयो भने देशकै ठूलो (तत्कालिन अवस्थामा) मर्जर हुनेछ। पुँजी सबैभन्दा धेरै हुनेछ। सञ्जाल पनि बढ्नेछ। कर्मचारी व्यवस्थापनका हिसाबले पनि ऐतिहासिक हुनेछ।'

उहाँको पहिलो प्रश्नमा मेरो जवाफ थियो । त्यसपछि मैले उहाँको दोस्रो प्रश्नको उत्तर दिएँ। 

'कर्मचारीको पदका लागि मर्जर गर्ने होइन। संस्थाको बृहत्तर हितका लागि गर्ने हो। म फाइनान्सको सीईओ भएका नाताले मेरो संस्थालाई सबल बनाउन मैले निःस्वार्थ रूपमा कम्पनीको हितमा काम गर्नुपर्ने हुन्छ। त्यसैका लागि पनि म तपाइँलाई भेट्न आएको हो।' 

आफूलाई पदका लागि खासै मतलब छैन भने पनि उहाँ मान्नु भएन। स्पष्ट जवाफ दिनका लागि उहाँले जोड दिनुभयो। 

'मेरो क्षमता, योग्यता, अनुभव हेरेर यहाँहरुले मेरो पदस्थापन गर्नुहोला, तर मलाई अन्याय हुनेगरी पदस्थापन गरिएमा भने म निरन्तरता दिन्न। त्यसका बाबजुद मर्जर गराएपछि मात्र छाड्छु। मेरो चिन्ता नलिनुस्' भनेँ। यति भनेपछि उहाँ बल्ल खुलेर कुरा गर्न थाल्नु भयो। 

त्यो भेटमा उहाँले सोध्नुभएका ती दुई प्रश्न मर्जरप्रति मेरो डेडिकेसनबारे जान्नका लागि पनि थियो कि जस्तो लाग्छ । 

'आफू व्यवसायी र राजनीतिज्ञ भएको हुँदा बैंकिङ क्षेत्रबारे त्यति धेरै जानकारी नभएकाले कमीकमजोरीहरु भए पनि मेरो नियत भने कहिल्यै खराब थिएन र छैन' भनेर उहाँले मलाई भन्नुभयो। उहाँले बैंक निकै अप्ठ्यारो अवस्थामा रहेको भनेर चिन्ता व्यक्त गर्नुभयो। 
यो अप्ठ्यारो अवस्थाले कतै निक्षेपकर्ताहरुको अहित त हुँदैन भन्ने ठूलो डर उहाँमा थियो। यसैले मसँग अझ खुलेर फेरि पनि भन्नुभयो - 'भण्डारीजी मलाई गण्डकी क्षेत्रमा सीताराम भनेर चिन्छन्। मेरो विश्वासमा यस क्षेत्रका जनता/संघसंस्थाहरुले ५/७ अर्ब रुपैयाँ बैंकमा हालेका छन्। बैंकमा मेरो लगानी जम्मा ६० करोड हो। मलाई यसको माया छैन। तर गण्डकी क्षेत्रका जनता र संघसंस्थाको पैसाको चिन्ता सधैं लागिरहन्छ।'

म अचम्मै परेँ उहाँको कुरा सुनेर। मेरो २४ वर्षको बैंकिङ करियर (तत्कालिन अवस्था) मा यसरी कुनै बैंकका अध्यक्ष/सञ्चालकले निक्षेपकर्ताको चिन्ता गरेको धेरै कम मात्र देखेको थिएँ। राष्ट्र बैंकले मात्र निक्षेपकर्ताको चिन्ता गरेको मेरो अनुभव छ। त्यसैले म उहाँको कुराले अत्यन्तै प्रभावित भएको थिएँ। यो भेटले माछापुच्छ्रे बैंक र स्याण्डर्ड फाइनान्सबीच मर्जरका लागि आधारशीला तयार भयो।

***

उहाँले भन्नुभयो - 'भण्डारीजी धेरै बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जरका कुराहरु अगाडि बढेका थिए। तर पनि मैले स्ट्यान्डर्ड फाइनान्स छान्नुको खास कारण छ। एक त सफल गैरआवासीय नेपाली र तराई पृष्ठभूमिबाट आउनु भएका डा. उपेन्द्र महतो सरहरुबाट प्रवर्द्धित संस्था। तराइ र पहाडबीचको मिलनका रूपमा मैले विशेष अभिरुचि र महत्त्व दिएर यो मर्जर गर्न खोजेको हुँ।' 
उहाँ निर्णय गर्दा देश/समाजप्रति उत्तरदायित्वपूर्ण र विवेकपूर्ण हुनुपर्छ भन्नुहुन्थ्यो।

त्यसबेला उहाँले पहल नगरेको भए माछापुच्छ्रे बैंक आज जहाँ छ त्यो स्थानमा पुर्‍याउन निकै कठिन हुनेथियो। । यसबारेमा धेरै कम व्यक्तिहरुलाई मात्र थाहा छ। त्यसबेला सूर्यबहादूर सरले सोच्नुभयो, उपायहरु निकाल्नुभयो र निर्णय गर्नुभयो जसले माछापुच्छ्रे बैंक एक सफल बैंक हुन सकेको छ।

***

मर्जर प्रक्रिया सुरु भयो। माछापुच्छ्रे बैंकको आर्थिक अवस्था कमजोर थियो। स्यान्डर्ड फाइनान्सको पनि कमजोर नै थियो। लगभग ४५ करोड रुपैयाँ जोखिम व्यवस्थापन (प्रोभिजनिङ) गर्नुपर्ने थियो। अहिले पनि त्यो रकम ठूलो हो। त्यसबेलाका लागि झन् धेरै ठूलो रकम थियो। 

प्रोभिजनिङ गर्दा बैंकको घाटा उच्च रूपमा बढ्ने निश्चित थियो। यदि बैंकको नाफा नोक्सान हिसाब खाता घाटामा गए बैंकले तीन वर्षसम्म संस्थागत निक्षेप उठाउन सक्दैन थियो। यसले गर्दा मर्जरपछि बैंकले पुँजी वृद्धि भएअनुसार व्यवसाय विस्तार गर्न नसक्ने अवस्था आउने थियो। 

यस्तो अवस्थामा ४५ करोडभन्दा बढी रकम जोहो गर्नुपर्ने भयो। यसका लागि १५ करोड रुपैयाँ जति सेयर प्रिमियमवापत र अन्य स्रोतहरु समेत गर्दा पनि २० करोडजति अपुग हुने देखियो। उहाँसँग यसबारेमा लामो छलफल गरियो। उहाँले भन्नुभयो - 'माछापुच्छ्रे बैंकको थापाथलीमा ४२ आना जग्गा छ (हाल सिप्रदी ट्रेडिङको सोरुम भएको), त्यो जग्गा २२ लाख रुपैयाँ आनामा किनेको हो। यसलाई बेच्न सके अपुग रकम जोहो गर्न सकिन्थ्यो कि।'

त्यसबेला घरजग्गाको कारोबारमा बन्दी थियो। सौभाग्यवस त्यसबेला सिप्रदीका सीईओ मेरा एक मित्रका दाजु हुनुहुन्थ्यो । उहाँलाई खबर गरेर म भेट्न गएँ। 'माछापुच्छ्रे बैंकको जग्गा बेच्न लागेको, दाइको कम्पनीलाई काम लाग्ला कि भनेर सोध्न आएको' भनेँ।

उहाँहरु पनि थापाथलीमा राम्रो जग्गा पाए किन्न उत्सुक हुनुहुँदो रहेछ।  उहाँले भन्नुभयो- '४२ आना मात्र होइन छेउमा सूर्यबहादूर केसी सरको ७२ आना जग्गा छ। त्यो पनि मिल्ने हो भने हामी विचार गरौंला ।'

यो खबर मैले सूर्यबहादूर सरलाई सुनाएँ। उहाँले 'त्यो जग्गा बिक्री गर्ने होइन भण्डारीजी, त्यो मेरी श्रीमतीको नाममा छ। उनीसँग पनि सल्लाह गर्नुपर्छ' भन्नुभयो। 

सायद उहाँहरुबीच त्यही दिन सल्लाह भएछ । भोलिपल्टै खबर गरेर सिप्रदीसँग भेट्न जाने कुरा भयो। 

त्यो दिन बैंकको नाममा भएको ४२ आना जग्गा खरिद-बिक्री सम्झौता गरियो। म माछापुच्छ्रे बैंकको तर्फबाट साक्षी बसेँ। तर ७२ आना जग्गाको प्राविधिक कुराहरु मिलाउनुपर्ने भएकाले पछि सम्झौता गर्ने कुरा भयो। 

सूर्यबहादूर सरले बैंकको जग्गा खरिद बिक्री सम्झौताको बैंकतर्फको कपी मलाई राख्न भन्नुभयो र यो कुरा गोप्य राख्न पनि भन्नु भयो। म छक्क परेँ। 'अर्को संस्थााबाट आएको सीईओ छ। तैपनि यति धेरै विश्वास उहाँको !' मनमनै प्रश्न गरें ।

उहाँले श्रीमतीको नाममा भएको ७२ आना जग्गा राखेर कुनै बैंकबाट राम्रै ऋण लिनुभएको रहेछ। त्यही पनि माछापुच्छ्रे बैंकका लागि उहाँले आवश्यकता नै नभएको त्यो प्राइम प्रोपर्टी बेच्न भनेर असारको मध्यतिर बैंक ऋण तिरेर जग्गा फुकुवा गरिदिनु भयो। 

त्यसबेला उहाँ बिरामी नै हुनुहुन्थ्यो। छोराहरु पनि व्यवसायमा आइसकेका थिएनन्। यस्तो बेला उहाँ स्वयंलाई नगद प्रवाहको खाँचो थियो। तर पनि माछापुच्छ्रे बैंकलाई राम्रो बनाउन उहाँले त्यत्रो ऋण एकैपटक तिरिदिनु भयो। यद्यपि, विविध कारणले उहाँको ७२ आना जग्गा बिक्री हुन सकेन। 

पछि भन्नुहुन्थ्यो- 'घर सल्लाहमा नबेच्ने भन्ने थियो। श्रीमतीले साह्रै चित्त दुखाइन्। तर मैले माछापुच्छ्रे बैंकका लागि यति पनि गरिँन भनेँ त मलाई पाप लाग्छ भनेर बेच्ने निर्णय गरेको थिएँ। बिक्री भएन, राम्रो भयो। बैंक पनि जोगियो, सम्पत्ति पनि जोगियो।' 

उहाँले जे भनेपनि बैंकप्रति उहाँको माया निकै थियो। परिवारको चित्त दुखाएर पनि उहाँ आफ्नो सम्पत्ति बेचेर बैंक जोगाउन हिँड्नुभएको थियो। यदि उहाँले त्यसबेला आफ्नो ७२ आना जग्गा बेच्दिन भन्नु भएको थियो भने ४२ आना पनि नबिक्न सक्थ्यो। र, बैंक समस्यामा पर्न सक्थ्यो। 

 ***

उहाँमा मान्छे चिन्न सक्ने अचम्मको गुण थियो । कसैमाथि उहाँलाई विश्वास लागेपछि अचम्मैसँग विश्वास र सहयोग गर्ने । उहाँले विश्वास गर्नेमध्ये एक म पनि थिएँ जस्तो लाग्छ। त्यसबेला म अर्को संस्थाको सीईओ भएर पनि काम गर्ने क्रममा निक्कै राम्रो समझदारी कायम रहन गयो।

तत्कालिन अवस्थामा हामीले माछापुच्छ्रे बैंकमा पहल गरेका उच्चतम व्यवस्थापकीय नेतृत्वलाई चयन गर्ने कुराहरु हुन्। कर्मचारी छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी बनाउने, अन्य उच्च व्यवस्थापकीय कर्मचारीहरुलाई हाम्रो सिफारिसमा चयन गर्ने लगायतका कुराहरु हुन्। उहाँले हाम्रो विश्वासमा आँखा चिम्लेर सहयोग गर्नुभयो। यी निर्णयहरुले आज माछापुच्छ्रे बैंकलाई उचाई लिन सहयोग पुग्यो जस्तो लाग्छ।

विगतमा संस्थागत सुशासनमा भएका कमजोरीहरुलाई सही मार्गमा ल्याउन खेलेका भूमिकाहरु सम्झन लायक छन्। एक कुशल राजनीतिक/व्यवसायिक नेतृत्व भएर होला उहाँमा गजबको समन्वयकारी क्षमता थियो। दुई संस्थाको मर्जर सफल हुनुमा उहाँको यही क्षमताले काम गरेको हो। 

समग्रमा भन्दा माछापुच्छ्रे बैंकलाई यो अवस्थासम्म ल्याउन उहाँको महत्वपूर्ण नेतृत्वदायी भूमिका छ। एक असल व्यक्ति, राम्रो नेतृत्व र समन्वयकर्ता, निडर व्यवसायी, राजनीतिज्ञ, बैंकरको निधनले देशलाई क्षति पुगेको छ। 

अलबिदा केसी सर !  


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell