'ग्राउण्ड ह्याण्डलिङ खोसे नाफामा लैजान सकिँदैन,' नेवानि प्रबन्ध निर्देशक डिमप्रसाद पौडेल




मैले हचुवाको भरमा हामीलाई यति जहाज तुरुन्तै चाहियो भनेर तत्काल जहाज अर्डर गर्न मन्त्रालयमा जाने काम गर्दिन। पहिला मेरो आवश्यकता के हो, आफूले बनाएको व्यवसायिक योजना सफल बनाउनको निम्ति मैले गर्नुपर्ने पूर्व तयारी पूरा गरिसकेपछि मात्र जहाज खरिद गरिनेछ।

----

सरकारी कम्पनी नेपाल वायुसेवा निगम लगातारको नोक्सानीबाट माथि उठ्न प्रयास गर्छ। फेरि थला पर्छ। एउटा विवाद किनारा नलाग्दै अर्को विवादमा पर्ने निगम सरकारी हस्तक्षेपकै कारण निजी हवाई सेवा कम्पनीहरूसँग प्रतिष्पर्धामा खरो उत्रन सकेको छैन। कहिले जहाज खरिद विवाद, आम्दानी खोसिने समस्यासँग जुधिरहनुपर्ने कम्पनी ४० अर्बभन्दा बढीको ऋणभार खेपिरहेको छ। यसलाई नाफामा लैजानु ठूलो चुनौती छ। 
कोरोना महामारीकै समयमा सरकारले निगमको प्रबन्ध निर्देशकमा डिमप्रसाद पौडेललाई नियुक्त गरेको छ। दुई दशकदेखि निजी क्षेत्रमा कार्यकारी व्यवस्थापकको भुमिका निभाउँदै आएका पौडेललाई निगमको आर्थिक, व्यवसायिक क्षमता विस्तार गर्नुपर्ने चुनौती छ। व्यवस्थापनमा सुधारका लागि कम्पनी मोडलमा लैजाने भनिएको योजना प्रक्रियामै गएन। सरकारको प्रत्यक्ष हस्तक्षेप भइरहने संस्थामा पदाधिकारी नियुक्ति नै राजनीतिक पहुँचका आधारमा भइरहने प्रणालीले वित्तीय व्यवस्थापन सुधारेर नाफामा लैजाने योजना कहिले पनि फलदायी परिणाममा पुगेको छैन। 

नवनियुक्त प्रबन्ध निर्देशक पौडेललाई बिजमाण्डूका वसन्तराज उप्रेतीले सोधे - निगम आर्थिकरूपमा जर्जर थियो। कोरोनाको विश्वव्यापी महामारीले उड्डयन क्षेत्र नै तहसनहस छ। यो संकटका बीचमा निगम व्यवस्थापनको नेतृत्व लिन आइपुग्नुभएको छ। यो चुनौती चिर्न तपाइँसँग कस्तो योजना छ?
नेपाल वायुसेवा निगम भनेको राष्ट्रिय ध्वजावाहक, राष्ट्रको गौरव हो। राष्ट्रको इतिहास बोकेको एउटा संस्था हो। जस्तोसुकै असहज अवस्थामा पनि हामीले यसलाई धरापमा छाड्न मिल्दैन। कुन अवस्थामा छ भन्ने त्यो अलग कुरा हो। अहिलेकै अवस्थामा पनि हामीले कयौं मुलुकमा रहेका नेपालीलाई उद्धार उडान सेवा दियौं। यदि यो राष्ट्रिय ध्वजावाहक हुँदैनथ्यो भने त जुन किसिमले सेवा दिइयो, त्यो त सम्भव थिएन। यो जर्जर अवस्थामा पुग्नु इतिहासको एउटा बिडम्बना हो। यसलाई सुधारेर अगाडि जानुपर्छ भन्ने मान्यताका साथ म यहाँ आएको हो। 

एयर ट्राफिक ८० प्रतिशत घटेको छ। ऋणभार ४० अर्ब रुपैयाँ माथि छ। मासिक नोक्सानी करोडौं छ। निगमको व्यवस्थापन गन्जागोल छ। असल व्यवस्थापक बन्न कठिन होला जस्तो लागेको छैन्?
कठिन छ तर असम्भव छैन। कठिन यसकारण पनि छ कि हाम्रो संस्था २० औं वर्षदेखि हामीले बिगार्दै ल्यायौँ। यो अहिले एक वर्षमा, कोभिडका कारण बिग्रिएको होइन। यसलाई सुधार्न पनि समय लाग्छ। यो पेन्डामिक अहिले आएको हो, यो लामो समय रहँदैन। त्यस कारण महामारी सकिएलगत्तै व्यवस्थापकीय सुधार गरियो भने यो संस्थाको सुधार सम्भव छ।    

TaTa
Kumari Bank
TVS

मेरो  नियुक्ति राजनीतिक होला। तर म निजी क्षेत्रमा २० औं वर्ष व्यवस्थापनमै काम गरेको हिसाबले कसरी व्यवस्थापन चलाउनु पर्छ भन्ने कुरा राम्रो सँग बुझेको छु। ब्यवस्थापकहरु कहिल्यै पनि आफैं काम गर्ने होइनन्।

-----

एनएसीको एउटा दुर्भाग्य भनौं वा नियति सधैं दोहोरिन्छ। जति बेला जहाज हुँदैन, जहाज नभएर व्यवसायिक रूपमा उडान गर्न सकिएन भनेर हात बाँधेर बस्ने काम हुन्छ। जब जहाज आउँछ उडानको व्यवस्थापन गर्न नसकेर नोक्सानमा गयो भन्ने गरिन्छ। यो तपाईँको पालामा अन्त्य हुने आधार केही छ?
आधार छन्। पहिलो आधार भनको त म यो समस्या प्रति सचेत छु र जहाज आउनुभन्दा पहिला यसका लागि चाहिने आवश्यक तयारी। पाइलट, क्रु, प्राविधिक पक्ष तयारी अवस्थामा राख्नुपर्छ। होइन भने जहाज आइसकेपछि हामीले यदि यी काम थाल्यौं भने धेरै ढिलो भइसक्छ। जहाज थन्किएर खर्च बढिरहने अवस्थाको अन्त्य हुनुपर्छ। 

सरकारी संस्थाको नेतृत्वमा नयाँ नियुक्ति हुँदा पनि आशा धेरै हुन्छ। तपाइँ निजी क्षेत्रमा काम गरेर आएको व्यक्ति भएकाले नियुक्ति राजनीतिक निकटताका आधारमा पाए पनि आशा धेरै गरिएको छ। यसलाई कसरी हेर्नुहुन्छ? 
त्यो स्वभाविक हो। मैले अन्यत्र पनि भन्ने गरेको छु। होला मेरो  नियुक्ति राजनीतिक होला। तर म निजी क्षेत्रमा २० औं वर्ष व्यवस्थापनमै काम गरेको हिसाबले कसरी व्यवस्थापन चलाउनु पर्छ भन्ने कुरा राम्रो सँग बुझेको छु। ब्यवस्थापकहरु कहिल्यै पनि आफैं काम गर्ने होइनन्। सम्बन्धित विभागमा कार्यरत एक्सपर्टलाई काम गर्ने वातावरण उपलब्ध गराउने हो। र रिजल्ट कहाँ पुग्नेछ  भन्ने कुरा मन राखेर त्यो डिरेक्सनमा संस्था हाँक्न सकियो  भने समस्या हुँदैन। त्यसकारण जतिसुकै प्रतिकूलताका बावजुद पनि नेवानिमा काम गर्ने उपयुक्त वातावारण मैले सिर्जना  गरिदिन सकेँ भने मलाई लाग्छ यो सस्थालाई अगाडि बढाउन समस्या हुँदैन।   

तर यति भन्दाभन्दै पनि राजनीतिक दबाब र प्रभाव धेरै आउने भएकाले कम मात्रै प्रबन्ध निर्देशक विवादित पनि छन्। राजनीतिक दबाब र प्रभावलाई पन्छाउन सक्ने ल्याकत राख्नुहुन्छ?
अवश्य राख्छु। जब हाम्रो मनममा व्यक्ति, राजनैतिक दल, राजनैतिक कार्यकर्ताभन्दा संस्था ठूलो हो। यो संस्था रह्यो भने तर रोजगारी दिन सकिन्छ। सेवा दिन सकिन्छ र राज्यलाई योगदान दिन सकिन्छ भन्ने कुरा मनमा राखियो भने संस्था ठूलो हुन्छ। र संस्था ठूलो भयो भने अरु कुराहरुले असर गर्दैन। यदि हामीले आफ्नो व्यक्तिगत आकांक्षालाई, सम्बन्धमा राखेर निगमलाई कम प्राथमिकतामा राखियो भने ति समस्या बढाउने हो। मेरो पालामा त्यो समस्या आउन दिन्न।    

निगममा आउने प्रमुखले जहाज खरिद नै प्राथमिकतामा राख्छन्। त्यही जहाज खरिदमा प्रमुखहरु भष्टाचारमा तानिन्छन्। निगमलाई जहाज चाहिएको हो वा भएकै जहाज व्यवस्थापन गर्न सकिने अवस्था हो?
अहिलेको कोरोना महामारीमा हामीलाई अहिले भएकै जहाज पनि धेरै हुन सक्छ। यदि हामी अगाडि बढ्दै व्यवसायिक सफलता हासिल गर्ने कुरा गर्छौ भने हामीलाई जहाज चाहिन्छ। तर मैले हचुवाको भरमा हामीलाई यति जहाज तुरुन्तै चाहियो भनेर तत्काल जहाज अर्डर गर्न मन्त्रालयमा जाने काम गर्दिन। पहिला मेरो आवश्यकता के हो, आफूले बनाएको व्यवसायिक योजना सफल बनाउनको निम्ति मैले गर्नुपर्ने पूर्व तयारी पूरा गरिसकेपछि मात्र जहाज खरिद गरिनेछ। त्यो पनि आवश्यकताले निर्धारण गर्यो भनेमात्र जहाज खरिद गर्ने कुरा गर्छु। नत्र जहाज खरिदै गर्ने अनि व्यवसायिक योजना बनाउने मबाट हुँदैन। यस अर्थमा पनि म अन्य भन्दा अलिक फरक छु कि।           

निगमको ब्यालेन्स सीट बिगार्ने चिनियाँ जहाज अहिले पनि छदैछ। त्यसको व्यवस्थापन नगरी फेरि ट्विनअटर जहाज किन्ने कुरा गरिँदैछ। त्यो व्यवस्थापन कसरी हुन्छ?
निगमसँग भएका चिनियाँ जहाज नेपाली आकाशमा व्यवसायिक उडान गर्नका निम्ति विभिन्न अध्ययन प्रतिवेदनले देखाएको तथ्यांकलाई आधार मान्ने हो भने हामीले यी जहाजमार्फत व्यवसायिक  उडान गर्नु हुँदैन। त्यस अर्थमा यिनलाई ग्राउण्डेड  गरिएर राखिएको हो। नयाँ जहाज आवश्यक छ। 
हामीसँग भएको नाफा दिने ब्राण्डको जहाज एउटा हो। यस्ता अरु धेरै ब्राण्डको मुनाफाशीलता (प्रोफिटाबिलीटी) हामीले एनालिसिस गर्ने हो। डोमेस्टिक सेक्टरमा सबैभन्दा मुनाफा दिन सक्ने ब्राण्डको जहाज खरिदलाई प्राथमिकता दिनेछौं। तसर्थ यो खरिद गर्ने ऊ खरिद गर्ने भन्ने होइन। उपयुक्तता हेरेर व्यवसायले सपोर्ट गर्यो भने जहाज खरिद गर्ने हो। चिनियाँ जहाज व्यवस्थापनको हकमा अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयसँग राय मागेका छौं। उहाँहरुबाट के निर्देशन आउँछ, त्यही गर्नेछौं।     

पछिल्लो समयमा निगमको ग्राउण्ड ह्यान्डलिङमा निजी क्षेत्रले समेत आँखा लगाउन थालेका छन्। पछिल्लो समयमा केही जहाज कम्पनीलाई सेल्फ ग्राउण्ड ह्यान्डलिङ गर्न पनि दिइयो। यो दाउपेचलाई कसरी हेरिरहनुभएको छ?
अब निगमको ग्राउण्ड ह्याण्डलिङलाई आँखा लगाएको भन्ने तथ्यले प्रमाणित गरेको त छैन। तर शंका गर्ने पर्याप्त आधारहरु छन्। 'सेल्फ ग्राउण्ड ह्याण्डलिङ'को लागि मात्रै त्यत्रो ठूलो लगानी गरेर कुनै संस्था उभिँदैन की भन्ने हामीलाई आशंका हो। हामीलाई ग्राउण्ड ह्याण्डलिङको सेवाबाट च्युत गराउने हो भने निगमको स्थायित्व सम्भव छैन। नेपाल सरकारले यो कुराको प्रत्याभूति गर्नै पर्छ। र निगम धरासायी भयो भने दूरदराजका जनतालाई जसरी घाटा खाएरै भएपनि सेवा पुर्याएका छौं। त्यो पुर्याउन सम्भव  हुँदैन। तसर्थ म सरकारलाई विनम्रतापूर्वक अनुरोध गर्छु, यस्तो कदम कदापी नचालियोस् र यसतर्फ निजी क्षेत्रलाई दिने कुरा सोच्न पनि नसोचियोस्।         

ग्राउण्ड ह्यान्डलिङ पनि खोसियो भने निगमका लागि व्यवसायिक रूपमा सर्भाइभ गर्ने आधार रहँदैन होइन?
कदापी रहँदैन। 

निगमलाई अहिलेकै हालतमा चल्न सक्दैन। यसमा रणनीतिक साझेदार समेत ल्याउनुपर्छ भन्ने कुरा सुनिएको पनि धेरै भइसकेको छ। निगमलाई तपाईँहरु जस्तै व्यवस्थापकले सुधार गर्न सक्नुहुन्छ कि विदेशी साझेदार नै चाहिन्छ?
अब यसमा विदेशी साझेदार भन्दा पनि साझेदारको मात्र कुरा गरौं। स्वदेशी-विदेशी जेसुकै होस्। अहिले हामीसँग भएको टेक्निकल स्ट्रेन्थ र एक्सपर्टिज हो, त्यो कम भयो कि। यसमा नलेज ट्रान्सफर नलेज इन्डक्ट गर्ने कुरा आवश्यक हुन्छ कि भन्ने चौतर्फी रीपमा सोचिएको छ। त्यो विषयमा मैले अहिले अध्ययन गरिरहेको छु। हामीसँग भएको जुन जनशक्ति र प्रणाली छ, यो हामीले हासिल गर्न खोजेको लक्ष्यको निम्ति पर्याप्त छ कि छैन भन्ने कुरा अध्ययन गर्दैछौं। अध्ययन सकिएपछि र यो विश्वव्यापी कोरोना महामारीको प्रकोप छ, यो निश्चित विन्दुमा पुगिसकेपछि त्यसतर्फ सोचिनेछ। अहिले तत्काललाई त्यो कुरा सोचिएको छैन। यो विषयमा अहिले मैले केही भने भने अलिकति छिटो हुन सक्छ।      

ग्राउण्ड ह्याण्डलिङ यदि हामीसँग भएन भने मुनाफामा लान सम्भव छैन। ग्राउण्ड ह्याण्डलिङ सेवा हामीसँग  भरपूर मात्रामा हुने, प्यासेन्जर सर्भिसलाई अहिले भएका जहाजको अधिकतम उपयोग गर्न सकियो भने ग्लोबल एभरेजभन्दा पनि अझै राम्रो उपयोग गर्न सकियो भने मुनाफामा जान सकिनेछ।

----

तपाइँले नियुक्त हुँदा केही व्यवसायिक योजना पक्कै पेश गर्नुभएको छ। तपाईँको कार्यकालमा निगमको वित्तीय र व्यवस्थापनका हिसाबले कुन पोजिसनमा पाउन सकिन्छ?
अब मैले एउटा सुधारिएको वायुसेवा निगमको रूपमा काम सम्पन्न गर्न सकेँ भने आफ्नो कार्यकाल सफल रहेको ठान्नेछु। म यहाँहरुलाई विनम्रपूर्वक अनुरोध गर्न चाहन्छु, यतिवटा जहाज हुनछन्, यति प्रोफिट कमाइनेछ, यति स्टाफ कटौती गरिनेछ अथवा यसो  गरिनेछ भन्ने आधारमा मापन नगरिदिनुहोला। अहिलेको भन्दा सुधारिएको वायुसेवा निगमको रूपमा मैले त्यो ढंगमा पुर्याउन सकेँ भने आफूलाई सफल ठान्नेछु। 
व्यवसायिक योजनाको हकमा अबको १५ दिनमा सार्वजनिक गर्नेछौं।  त्यसमा हामीले अहिले भएका जहाजको अधिकतम उपयोग गर्नका निम्ति व्यवसायिक कार्ययोजना, मार्केटिङ प्लान तयार गर्दैछौं। त्यसको आधारमा अहिले हामीसँग भएका ६ वटा उडानयोग्य जहाज छन्, चारवटा अन्तर्राष्ट्रिय क्षेत्रका लागि र दुईवटा आन्तरिक उडानका लागि। यी जहाजको भरपूर उपयोग गरिसकेपछि मात्र जहाज थप्ने, गन्तव्य थप्ने, सेवालाई विविधिकरण गर्ने लगायत पक्षमा लाग्ने छौं। अहिले तत्कालका लागि भएको स्रोतसाधनको उपयोग गर्ने व्यवस्थापनमा ब्यापक सुधार गर्ने मेरो लक्ष्य छ।         

प्रबन्ध  निर्देशकमा नियुक्त हुनुअघि कोभिडको महामारीमै निगमलाई नाफा लान सकिन्छ भन्ने कुरा थियो। अब के छ सम्भावना?
मुनाफामा लान सकिन्छ सकिँदैन भन्ने कुरालाई धेरै एंगलबाट हेर्न सकिन्छ। ग्राउण्ड ह्याण्डलिङ यदि हामीसँग भएन भने मुनाफामा लान सम्भव छैन। ग्राउण्ड ह्याण्डलिङ सेवा हामीसँग  भरपूर मात्रामा हुने, प्यासेन्जर सर्भिसलाई अहिले भएका जहाजको अधिकतम उपयोग गर्न सकियो भने ग्लोबल एभरेजभन्दा पनि अझै राम्रो उपयोग गर्न सकियो भने मुनाफामा जान सकिनेछ। त्यसको लागि गर्नुपर्ने भनेको आन्तरिक सुधार र चुहावटको नियन्त्रण हो।      

              


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell