दसैंमा तीन लाखले उपत्यका छाडे, दुई लाख भित्रिए, कोरोना बढेपछि अहिले पनि काठमाडौं आउन डराए

रासस
२०७७ कात्तिक १४ गते १४:५८ | Oct 30, 2020
दसैंमा तीन लाखले उपत्यका छाडे, दुई लाख भित्रिए, कोरोना बढेपछि अहिले पनि काठमाडौं आउन डराए


Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दसैंमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन्। विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौं लाख हुन्थ्यो।

यसपाली भने केही लाखले मात्रै आवतजावत गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले विगतका वर्षमा दसैंमा उपत्यका छाड्ने झण्डै १० देखि १२ लाख हुने गरेकोमा यसपाली भने एक लाखको हाराहारीमा रहेको बताए। गत वर्ष ३० लाखले उपत्यका छाडेका थिए भने १८ लाख भित्रिएका थिए।

यसपाली दसैंमा भने तीन लाखले उपत्यका छाडे, झण्डै दुई लाख भित्रिएका छन्। कोभिड–१९ को महामारीका कारण यसरी यात्रु आवागमनमा प्रत्यक्ष प्रभावित भएका हुन्। दसैं सकिएपछि पनि उपत्यका भित्रिने यात्रुको संख्या बढ्न सकेको छैन।

यही १३ गते २४ हजार यात्रु भित्रिएका छन् भने २० हजार बाहिरिएको विवरणले पनि उक्त कुराको पुष्टि गर्छ। पछिल्लो समय उपत्यकामा कोरोना संक्रमणको उच्च जोखिम छ। मुलुकभर देखिएको कुल संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकामा रहेकाले पनि मानिसहरू राजधानी आउन डराइरहेका जनस्वास्थ्य विज्ञको भनाइ छ।

संख्यात्मक रूपमा विश्लेषण गर्दा यो वर्ष इतिहासमै पहिलो पटक चाडपर्वमा मानिसहरूको आवागमन न्यून भएको प्रहरीको दाबी छ। विसं २०७७ लाई छाड्दा २०७१ पछिको विवरणमा विसं २०७१ र २०७२ मा उपत्यकामा सबैभन्दा कम यात्रुको आवागमन भएको थियो। विसं २०७१ को दसैंमा ६५ हजार सवारी साधनमार्फत आठ लाख यात्रु बाहिरिएका र ५१ हजार सवारी साधनमार्फत पाँच लाख मानिस भित्रिएका थिए।

यस्तै २०७२ सालमा ५९ हजार सवारी साधानमार्फत आठ लाख ३० हजार यात्रु बाहिरिएका थिए भने ५६ हजार सवारी साधनमार्फत पाँच लाख १६ हजार भित्रिएका थिए। विसं २०७३ देखि २०७६ सम्म यात्रु भित्रिने र बाहिरिने संख्या ह्वात्तै बढेको थियो। यसपाली भने सबैभन्दा कम यात्रुको चहलपहल देखियो।

नयाँ संविधान निर्माण भई संघीयता कार्यान्वयनको समयमा शान्ति प्रक्रिया टुंगोमा पुगेको र शान्ति/सुरक्षा अब्बल बन्दै गएकाले वातावरण सहज हुँदा यात्रुलाई एक ठाउँबाट अर्को स्थानमा जान आउन समस्या थिएन। तर यसपाली गत चैतबाट बढेको कोरोना महामारीले चाडबाडलाई समेत नराम्ररी प्रभावित बनाएको आवागमनको तथ्यांकले देखाएको छ। प्रहरी प्रवक्ता कुबेर कडायत यसपालीको दसैंको बेलामा सवारी साधन र यात्रुको आवातजावत कम हुँदा ठूला दुर्घटनासमेत नभएको बताए। बजारमा समेत चहलपहल कम हुँदा आपाराधिक घटनामा समेत कमि देखिएको उनको भनाइ छ।

गत वर्ष र यसपालीका यात्रु आवागमन कस्तो छ?

यसपाली दसैंको समय कात्तिक १३ गतेसम्मको विवरणमा ५१ हजार ५९४ सवारी साधानमार्फत दुई लाख तीन हजार यात्रु काठमाडौं भित्रिएका छन्।

काठमाडौंबाट भने ५८ हजार सवारी साधानमा झण्डै तीन लाख यात्रु बाहिरिए। यो विगत वर्षको भन्दा अत्यन्तै न्यून आवागमन हो। विगतमा सवारी साधनको संख्या बराबर यसपाली यात्रुको संख्या देखिएको छ। गत आर्थिक वर्ष २०७६/७७ को दसैंका अवधिमा तीन लाख ५९ हजार सवारी साधनबाट ३० लाख मानिस काठमाडौं छाडेर बाहिरिएका थिए।

उक्त वर्ष तीन लाख ३५ हजार सवारीमार्फत १८ लाख ३५ हजार मानिस भित्रिएका थिए। महाशाखा प्रमुख ढकालले कोभिड–१९ का कारण दसैं लाग्नु अघि नै मानिस उपत्यका छाडिसकेको र दसैंमा संक्रमणको डरले पनि आवागमन नगरेको पाइएको बताए। कतिपय घर कोठामै बसेर दसैं मनाइरहेका छन्। ‘अझै मानिस संक्रमणको त्रास नै छ, त्यसैले जो जहाँ छन्, त्यहीँ बसेर दसैं मनाए,’ ढकालले भने, ‘कतिपय तिहार मानेर फर्कने योजनाका साथ बसेका पनि हुन सक्छन्।‘

यसपाली कोरोनाकै कारण चाडबाडसमेत खल्लो भएको छ। गाउँमा रौनक देखिएको थिएन भने सकेसम्म मानिस आफन्तको हातबाट टीका थाप्नसमेत गएनन्। कतिपयले प्रविधिको प्रयोग गरी आशिर्वाद लिएका छन्। पर्यटन व्यवसायी रमेश सिलवाल यसपाली सावधानी अपनाएरै दसैं मनाएको अनुभव सुनाउँछन्। हुन त नेपाल सरकारले नै जो जहाँ छौं त्यहीँ बसेर दसैं मनाउन सार्वजनिक अपिल नै गरेको थियो।

सामाजिक सञ्जालमा सर्वसाधारणले कोडिभ–१९ बाट जोगिएर दसैं मनाउन अनुरोध गर्दै स्टाटस पोस्ट गरेका थिए। अधिकांशले भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डको प्रयोग गर्दै दसैं मनाएका भए पनि कतिपय सर्वसाधारण दसैं मान्न घर पुगेका थिए। जसका कारण गाउँ गाउँमा कोभिड–१९ को संक्रमण बढ्ने आशंका कायमै छ।