भारतमा चीनविरोधी भावनाको लाभ सामसङलाई, २ वर्षपछि साओमीलाई उछिन्दै बन्यो नम्बर वान

बिजमाण्डू
२०७७ कात्तिक १४ गते १२:०२ | Oct 30, 2020
भारतमा चीनविरोधी भावनाको लाभ सामसङलाई, २ वर्षपछि साओमीलाई उछिन्दै बन्यो नम्बर वान

भारतीय स्मार्टफोन बजारमा उत्कृष्ट स्थान ओगटेको साओमीले दुई वर्षपछि आफ्नो स्थान गुमाएको छ । 

Tata
GBIME
Nepal Life

पछिल्लोपटक लद्दाखको गल्वान भ्यालीमा दुई देशका सैन्य जत्थाबीच भएको झडपपछि सीमालाई लिएर भारतमा जनस्तरमा उब्जिएको आक्रोशले चिनियाँ उत्पादनहरु बहिष्कारको अभियान नै चल्यो । त्यसयता भारतमा चिनियाँ उत्पादन उपभोगमा आएको कमीको प्रत्यक्ष प्रभाव स्मार्टफोन बजारमा देखिएको छ ।

चिनियाँ स्मार्टफोन ब्रान्डहरुले पनि आफ्नो बजार गुमाउनुपर्दा यसको लाभ कोरियाली स्मार्टफोन जायन्ट सामसङलाई मिलेको हो । साओमीले 'टप' स्थान हासिल गरेको दुई वर्षपछि सामसङले यसलाई उछिनेको रिसर्च फर्म 'काउन्टर प्वाइन्ट' को ताजा प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनअनुसार सामसङले पछिल्लो त्रैमासमा स्मार्टफोन बिक्रीमा साओमीलाई पछि पारेको हो । यसको प्रमुख कारण नै गत जुनमा सीमामा दुई देशबीचको तनावका कारण भारतीय उपभोक्‍ताहरुमा चीनविरोधी भावना र चिनियाँ स्मार्टफोन ब्रान्डहरुको नयाँ मोडेल भारतमा लन्च गर्न प्रतिबन्ध लगाइनु भएको काउन्टर प्वाइन्टका अनुसन्धान विश्लेषक शिल्पी जैनले बताएका छन् ।

चीनविरोधी भावनाले प्रभावित भारतीय स्मार्टफोन बजारमा सामसङले सन् २०२० को तेस्रो त्रैमासमा २४ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको प्रतिवेदनले जनाएको छ । यस्तै, दोस्रो स्थानमा झरेको साओमीको अझै पनि २३ प्रतिशत बजार हिस्सा छ, जसलाई अन्य दुई चिनियाँ स्मार्टफोन ब्रान्ड भिभो र रियल मीले पछ्याएका छन् ।

अघिल्लो वर्ष समान त्रैमासमा २० प्रतिशत बजार हिस्सा रहेको सामसङले यो वर्ष साओमीको मात्र नभएर भिभो र रियल मीको पनि केही बजार खोसेको देखिन्छ ।

भारतीय स्मार्टफोन बजारमा पछिल्लो त्रैमासमा मात्र आयातित मोबाइल सेट ५ करोड ३० लाख थान भित्रिएको थियो, जुन अघिल्लो वर्षको समान अवधिको तुलनामा ९ प्रतिशतको वृद्धि हो ।

पछिल्लो अप्रिलदेखि सेप्टेम्बरबीच मात्र १८ प्रकारका फोनहरु लन्च गरेको छ । यस अवधिमा साओमीले भने यसको अर्को स्मार्टफोन ब्रान्ड 'पोको' सहित कुल २२ मोडेलका फोन बजारमा ल्यायो । यसका बाबजुद सामसङको आक्रामक अनलाइन बिक्री र प्रभावकारी वितरणका कारण बिक्रीमा साओमीलाई उछिन्न सफल भएको काउन्टर प्वाइन्टको प्रतिवेदनको भनाइ छ ।

अर्कोतर्फ, साओमीको बिक्री भने कोरोना भाइरस महाव्याधिका कारण उत्पादन र वितरणमा लामो अवधिको अन्तरबाट प्रभावित बनेको जनाइएको छ । यद्यपि, सामसङको अहिलेको अग्र स्थानको आधार बलियो नभएकाले अर्को त्रैमासमा पुनः साओमीले उछिन्न सक्ने सम्भावना रहेको पनि प्रतिवेदनले औंल्याएको छ ।

कुनै समय पहिलो स्थान ओगटेको भारतीय ब्रान्ड माइक्रोम्याक्सले पनि अहिले भारतीय उपभोक्तामा उत्पन्न चीनविरोधी भावनाको लाभ उठाउने गरी अर्को महिनाबाट नयाँ सेरिज 'इन' ल्याएर 'कमब्याक' गर्ने लक्ष्यमा रहेको जनाइएको छ ।