राजनीतिक र सरकारी पहुँचको आडमा इँटाको मूल्यवृद्धि, प्रशासनको मौनता रहस्यमय

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७७ कात्तिक १४ गते १०:४५ | Oct 30, 2020

Tata
GBIME
Nepal Life

विराटनगर। आम उपभोक्ताको ध्यान चाडबाडतिर भइरहेका बेला पूर्वका उद्योगीले अप्रत्याशित रूपमा इँटाको मूल्य बढाएका छन्। मोरङ र सुनसरीका उद्योगीले दसैंको मुखमा इँटाको मूल्य प्रति गोटा २ रुपैयाँले बढाएका हुन्।

मोरङको सबैभन्दा ठूलो उद्योग आनन्द इँटा भट्टाले १ नम्बर इटाको मूल्य १८ बाट २० रुपैयाँ बनाएको छ। इँटा उत्पादनका लागि आनन्दका ८ वटा चिम्नी संचालनमा छ। आनन्द इँटाका संचालक मोरङको रंगेली नगरपालिकाका प्रमुख एवं नेकपाका नेता दिलीप अग्रवाल बगडिया हुन्। त्यस्तै सुनसरीको पवित्रा इँटाले प्रति गोटा २२ रुपैयाँ कायम गरेको छ।

कोशी इँटा व्यवसायी संघका अध्यक्ष महेन्द्र शाहको सञ्चालनमा रहेको जय नेपाल इँटा उद्योगले १७ बाट १९ रुपैयाँ निर्धारण गरेको छ। दुबै जिल्लाका अन्य सबै उद्योगले प्रति गोटा १ रुपैयाँ ५० पैसादेखि २ रुपैयाँसम्मले मूल्यवृद्धि गरेका छन्। मोरङ सुनसरीमा १ नम्बर इँटा प्रति गोटा १६ देखि १८ रुपैयाँमा विक्री भइरहेकोमा दसैं अगाडिदेखि प्रति गोटा १८ देखि २२ रुपैयाँ बनाइएको छ।

दुवै जिल्ला केही इँटा उद्योगी आफ्नो सरकारी पहुँच र शक्तिको धाक देखाउँदै इँटाको मूल्य वृद्धि गर्न विगत २ वर्षदेखि अन्य उद्योगीलाई दबाब दिँदै आएका थिए। तर स्थानीय प्रशासन र उपभोक्तावादी सङ्गठनका डरले अन्य इँटा उद्योगी मूल्य बढाउन मानिरहेका थिएनन्। तर यस वर्ष उनै उद्योगीका दबाबमा कोशी इँटा व्यवसायी संघको बैठकनै बसेर इँटाको मूल्य वृद्धि गरिएको हो।

स्रोतका अनुसार मोरङ र सुनसरीमा इँटाको मूल्य वृद्धि गर्नुपर्छ भनेर दबाब दिनेमा मोरङको रंगेली नगरपालिकाका प्रमुख बगडिया, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र कोशी इँटा व्यवसायी संघका अध्यक्ष शाह हुन्। उद्योग संगठनका अध्यक्ष घिमिरेको सञ्चालनमा सुनसरीमा एबी इटा उद्योग छ।

रंगेलीका प्रमुख बगडिया पूर्व माओवादी हुन्। उनले संघीय सरकारका गृहमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट मूल्यवृद्धिको निर्णयमा कुनै विरोध नआउने ग्यारेन्टी लिएका छन्। त्यस्तै पूर्व एमालेमा पहुँच राख्न सक्ने उद्योग संगठनका अध्यक्ष घिमिरेले इँटाको मूल्यवृद्धिका विषयमा सरकारमा आफूले कन्भिन्स गर्ने जिम्मा लिएका छन्।

संघका अध्यक्ष शाहले स्थानीय प्रशासन र राजनीतिक दलका भ्रातृ संगठन मिलाउने अभिभारा पाएका छन्। यसअघिका वर्षमा इँटाको मूल्यवृद्धि हुनेबित्तिकै आन्दोलनमा उत्रने कांग्रेस समर्थक तरुण दल, नेविसंघ र वामपन्थी धारका युवा संघ लगायतका भ्रातृ संगठनहरू यस पटक रहस्यमय ढंगले मौन देखिएका छन्।

पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले मोरङ र सुनसरीका इँटा उद्योगीले सिन्डिकेट कायम गरेर इटाको मूल्य वृद्धि गरेको बताए। ‘इँटाको मूल्यवृद्धि गर्ने यो सिजन नै होइन,’ उनले भने, ‘अहिले पाइने सबै इँटा गत वर्षकै सिजनमा उत्पादन गरिएका हुन्। उद्योगीले यस वर्षको सिजनमा नयाँ इँटा उत्पादन गरेकै छैनन्। यसरी पुरानै उत्पादनलाई एकाएक महँगो पारेर जनताको ढाड सेक्ने काम गरिएको छ।’

उनले कोरोनाको महामारीबाट सरकारी विकास–निर्माण र जनता निर्माणमा पनि सुस्तता छाएको उल्लेख गर्दै जनताको क्रयशक्ति घटेका बेला इटाको मूल्य एकतर्फी र मनपरी रूपमा वृद्धि गरिएको भन्दै आक्रोश व्यक्त गरे। स्रोतका अनुसार इँटाको मूल्यवृद्धि गर्नुपूर्व कोशी इँटा व्यवसायी संघका पदाधिकारी तथा सदस्यहरू मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलासित भेट गर्न गएका थिए।

संघका पदाधिकारीहरूले प्रजिअ निरौलासमक्ष यसअघि इँटाको मूल्य वृद्धि गर्दा तत्कालीन प्रजिअ गणेश कार्कीले अवरोध गरेको स्मरण गराउँदै केही नगरिदिन अनुरोध गरेका थिए। इँटा उद्योगीका प्रभावमा परेर मोरङका प्रजिअ निरौला मूल्यवृद्धिका सम्बन्धमा चुपचाप देखिएका छन्। प्रजिअ निरौलाले इँटाको मूल्यवृद्धि भएको थाहा नपाएको बताए। उनले भने, ‘खै मलाई त अहिलेसम्म थाहा छैन। अब चासो दिनुपर्ला।’ प्रजिअ निरौलाले खुला बजार र उदार अर्थतन्त्र भएको मुलुकमा आफ्नो उद्योगको उत्पादनको मूल्य तोक्न सम्बन्धित उद्योगपति स्वतन्त्र भएको जबाफ दिए।

सरकारी दररेटअनुसार मोरङमा १ नम्बर इटा एक हजारको १६ हजार २ सय ४८ रुपैयाँमा बिक्री गर्नुपर्ने हुन्छ। यो गत आर्थिक वर्षकै दररेट हो । चालु आवका लागि जिल्ला प्रशासन कार्यालयले अझै दररेट लागु गरिसकेको छैन। कोशी इँटा उद्योग संघका अध्यक्ष साहले बाध्य भएर इँटाको मूल्य वृद्धि गर्नुपरेको उत्तर दिए।

साहले भने, ‘मजदुर खर्च वृद्धि भएको छ । एक टन कोइलाको मूल्य २२ हजारबाट २७ हजार भएको छ। इँटा उद्योगमा ७० प्रतिशत भूमिका कोइलाकै हुन्छ। त्यसमा पनि भारतबाट कोइला नआएका कारण इन्डोनेसिया र अमेरिकाबाट ल्याउनु परेको छ।’

उनले विगत ६ वर्षदेखि मोरङ र सुनसरीमा इँटाको मूल्यवृद्धि नभएको भन्दै यस पटक सामान्य वृद्धि हुनु कुनै अपराध होइन भन्ने जिकिर गरे। साहका अनुसार मोरङ र सुनसरीमा ३३ वटा इँटा उद्योगका ४३ वटा चिम्नी छन्। दुवै जिल्लाबाट वर्षको १२ देखि १५ करोड वटासम्म इँटा उत्पादन गरिन्छ।