उड्डयन क्षेत्रमा कोभिड कहर अझै गहिरिँदै, सन् २०२१ मा आम्दानी ४६ प्रतिशतले घट्ने प्रक्षेपण

बिजमाण्डू
२०७७ कात्तिक १४ गते १०:१८ | Oct 30, 2020
उड्डयन क्षेत्रमा कोभिड कहर अझै गहिरिँदै, सन् २०२१ मा आम्दानी ४६ प्रतिशतले घट्ने प्रक्षेपण

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड-१९ का कारण संकटमा परेको उड्डयन क्षेत्र सन् २०२१ झन खराब हुने देखिएको छ।

अन्तर्राष्ट्रिय हवाई यातायात संगठन(आयटा)ले गरेको अध्ययनका अनुसार सन् २०२१मा विश्व हवाई उड्डयन उद्योगको आम्दानीमा ४६ प्रतिशतभन्दा बढी गिरावट आउनेछ।

हवाई सेवा कम्पनीहरूको आर्थिक संकट बढ्नेछ भने कर्मचारीले रोजगारी गुमाउनेछन्। कोरोनाका कारण विभिन्न मुलुकमा पर्यटन क्षेत्र बन्द छ। कोरोनाको असर लामो समय रहँदा पर्यटकीय गतिविधि प्रभावित बन्दा उड्डयन क्षेत्र प्रभावित हुने आयटाको प्रक्षेपण छ।

विमान कम्पनीहरूले आफ्ना उडान संख्या घटाएका छन्। कतिपय गन्तव्यमा उडान अझै सुरु हुन सकेको छैन। त्यसैले विमान कम्पनीहरूको नोक्सानी बढेको छ। अघिल्लो वर्षको तुलनामा सन् २०२० मा ६६ प्रतिशतले अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा गिरावट आएको आयटाले जनाएको छ।

'विश्व उड्डयन क्षेत्रका लागि सन् २०२० को चौथो त्रैमासिक निकै कष्टकर रह्यो। सन् २०२१ को पहिलो अर्धवार्षिकीमा यो समस्या समाधान हुने देखिन्छ। लामो समयसम्म कतिपय मुलुकका सीमा नाकाहरु बन्द छन्। यसका साथै आवगमनका लागि क्वारेन्टाइन प्रावधान लागू भइरहेको अवस्था रहेको छ,' संगठनका महानिर्देशक एलेक्जेन्डर डी जुनेइकले भनेका छन्, 'भाडादर घट्दो क्रममा छ। वायुसेवा कम्पनी टिकाउनका लागि विभिन्न मुलुकको सरकारको आर्थिक सहयोगको आवश्यक देखिएको छ।'

उड्डयन क्षेत्रमा हुँदै आएको लो ट्राफिकलाई मध्यनजर गर्दै सेवा शुल्क नबढाउनका लागि विमानस्थल र एयर ट्राफिक कन्ट्रोललाई आयटाले अनुरोध गरेको जनाएको छ। संगठनले हवाई इन्धन शुल्क नबढाउनका लागि निर्देशन दिएको छ।

'हामीले यतिखेर अधिकतम रूपमा खर्च कटौती गरे पनि सन् २०२१ मा पनि दिगो रूपमा उड्डयन क्षेत्र टिकाउन मुस्किल रहने छ। कोभिड-१९ का कारण १३ लाख रोजगारी जोखिममा पर्न सक्ने देखिएको छ,' महानिर्देशक जुनेइकले भने।