पहाडमा पनि छोइनसक्नु छ जग्गाको दाम, यी हिल स्टेसनहरुमा पर्छ आनाकै ८० लाखमाथि

बिजमाण्डू
२०७७ कात्तिक १४ गते ०८:४० | Oct 30, 2020

काठमाडौं। नेपालको कुन ठाउँमा जग्गा सबैभन्दा महँगो होला? धेरैको अनुमान हुने गर्छ- राजधानी काठमाडौं उपत्यका र त्यसपछि तराइका प्रमुख शहरहरू। 

Tata
GBIME
Nepal Life

उपत्यका र तराइका मुख्य व्यापारिक केन्द्रमा जग्गा मूल्यको पारो छोइनसक्नु गरी अकासिएको सबैलाई जाहेर छ। तर, हिमाली तथा पहाडी क्षेत्रका केही यस्ता ठाउँ पनि छन् जसले काठमाडौं उपत्यकाका मुख्य स्थानहरूमा चलेको दामलाई पनि उछिनेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको हालको निवासस्थान काठमाडौंको बुढानीलकण्ठभन्दा गृहजिल्ला डडेलधुराको बजारमा जग्गाको मूल्य चर्को छ। बुढानीलकण्ठमा देउवाको घर रहेको क्षेत्रमा प्रतिआना २५ देखि ३० लाख रुपैयाँ हाराहारीको भाउ चलेको छ। जबकि, सुदूरपश्चिमको ‘हिल स्टेसन’ अमरगढी (डडेलधुरा) मा त्यसको झन्डै दोब्बर महँगो छ जग्गा। 

अरू पहाडी शहरहरूमा जग्गा त्यसकै हाराहारी वा त्योभन्दा पनि बढी मूल्यमा किनबेच भइरहेको छ।

उपत्यकाको चक्रपथभित्र पर्ने सबैजसो ठाउँका सहायक मार्गमा जग्गाको न्यूनतम मूल्यांकन (सरकारी) प्रतिआना ३ देखि १२ लाख रुपैयाँसम्म छ। देशको राजधानीलाई घेर्ने प्रमुख शहरी क्षेत्रको यो मूल्यकै हाराहारीमा उपत्यका बाहिरका पहाडी जिल्लामा पनि सरकारी मूल्य तोकिएको छ। तर, खास कारोबार मूल्य भने काठमाडौंभन्दा निकै माथि देखिन्छ ती क्षेत्रमा।

चलनचल्तीको मूल्य सरकारी मूल्यांकनभन्दा २ देखि १० गुणासम्म बढी हुने गरेको छ। नेपालका विभिन्न मालपोत कार्यालयहरूसँग बुझ्दा, पछिल्लो समय थैली रकम वास्तविक कारोबार बराबरकै वा त्यसकै हाराहारीमा देखाउने क्रम पनि बढ्न थालेको छ। 

खासगरी बैंकबाट व्यवसाय वा अन्य प्रयोजनमा कर्जा लिन र पूर्वाधार परियोजनाहरूमा मुआब्जा दाबीका लागि भए पनि वास्तविक मूल्यकै कर तिरेर जग्गा रजिस्ट्रेसन हुने क्रम बाक्लिन थालेको मालपोत कार्यालयका प्रतिनिधिले जनाएका छन्। 

अधिकांश पहाडी तथा हिमाली जिल्लाहरूमा जग्गा कारोबार ‘हात’ का आधारमा हुने गरेको छ, अर्थात् ‘एक हातको यति’ भनेर दर चलेको हुन्छ। सामान्यतया एक हात बराबर २० हात लम्बाइ तथा एक हात चौडाइको जग्गा भन्ने बुझिन्छ र एक आना बराबर ६ हातको हिसाब लिइन्छ।

किन औधी महँगो
पहाडी जिल्लामा मोटरबाटो पुगे पनि समथर ठाउँ धेरै छैन। बस्नयोग्य ठाउँ कम हुनुले नै मूल्यको चाप बढेको हो। सदरमुकाम तथा अन्य मुख्य बजार क्षेत्रमा जति जग्गा बाँकी छन्, तिनीहरूको बजार मूल्य उकासिने क्रम जारी छ।

गण्डकी प्रदेशका लमजुङ, तनहुँ, म्याग्दी लगायतका ठाउँमा जग्गाको मूल्य आकासिनुको कारण बस्नयोग्य जग्गाको अभाव नै हो। बाटो पुगेको ठाउँमा सीमित जग्गा सबैको रोजाइमा परेकाले मूल्यमा चाप परेको मालपोत कार्यालय तनहुँका पूर्वप्रमुख दीर्घबहादुर पोखरेल बताउँछन्। 
लमजुङ र म्याग्दीमा समेत मालपोत प्रमुख भएर बसेका पोखरेलको भनाइमा ती जिल्लामा सरकारी मूल्यांकनको कम्तीमा ५ गुणा बढी मूल्यमा जग्गा किनबेच हुने गरेको छ।

हातको हिसाबमा जग्गा किनबेच हुने मुगुको गमगढीमा पनि जग्गाको मूल्य असाध्यै चर्को छ। ‘बजार क्षेत्र सानो छ तर राराका कारण यस क्षेत्रको पर्यटकीय सम्भावना ठूलो छ,’ मुगुका स्थानीय रामबहादुर रोकायाले भने, ‘यसैले यहाँ जग्गा महँगो छ।’

सम्बन्धित मालपोत कार्यालयहरूले उपलब्ध गराएको कारोबार मूल्यको आधारमा पहाडी तथा हिमाली जिल्लाका महँगा केही स्थानहरू यहाँ उल्लेख गरिएको छ। 

पहाडका यी ठाउँमा पर्छ आनाकै ८० लाखमाथि 
तनहुँको दमौलीमा एक आना जग्गाको सरकारी मूल्यांकन नै करीब १४ लाख रुपैयाँ रहेको छ। तर, चलनचल्तीको कारोबार मूल्य भने त्यसको पाँचदेखि आठ गुणासम्म बढी रहेको पाइएको छ। दमौली बजारमा प्रतिआना ६० देखि ८० लाख रुपैयाँसम्ममा जग्गा किनबेच हुने गरेको मालपोत कार्यालय तनहुँले जनाएको छ।

बनेपा (काभ्रेपलाञ्चोक) मा जग्गाको कारोबार मूल्य अहिले आनाको ५० देखि ६० लाख रुपैयाँ सामान्य भइसकेको छ। जुन त्यहाँको सरकारी मूल्यांकन (आनाको १० लाख) को तुलनामा ५ देखि ६ गुणासम्म धेरै हो। अझ कहिलेकाहीँ ६० लाखभन्दा बढी मूल्यमा कारोबार भएका जग्गा पनि रजिस्ट्रेसनमा आउने गरेको त्यहाँको मालपोत कार्यालयले जानकारी दिएको छ।

धादिङको गजुरीमा मुख्य राजमार्गसँग जोडिएका जग्गा हातको अहिले १० लाख (आनाको ६० लाख) पर्ने त्यहाँका स्थानीय दिनेश बिसुरालले जानकारी दिए। उनको भनाइमा गजुरीको भित्री बाटोमै हातको ५ लाख चलेको छ। एक आनामा २० हात लम्बाइको जग्गा ६ हात हुन्छ। 
यस्तै, धादिङ सदरमुकाम धादिङबेंसीमा पनि आनाको ५० देखि ६० लाख रुपैयाँ रहेको सम्बन्धित मालपोत कार्यालयले जनाएको छ। यी स्थानमा सरकारी मूल्यांकन भने आनाको ८ देखि ९ लाख रुपैयाँमात्र छ।

सदरमुकाम, जहाँ आनाकै आधा करोड 
पहाडका विभिन्न पाँच जिल्ला सदरमुकाममा पनि जग्गाको चल्ती मूल्य छोइनसक्नु गरी महँगिएको छ। बागलुङ बजार (बागलुङ), तानसेन (पाल्पा), बेनी (म्याग्दी), सन्धिखर्क (अर्घाखाँची) र वीरेन्द्रनगर (सुर्खेत) मा एक आनाकै आधा करोड रुपैयाँ खर्चिने हैसियत भएकाले मात्र जग्गा जोड्न सक्छन्। 

यी स्थानमा जग्गाको कारोबार सरकारी मूल्यांकनको तीनदेखि पाँच गुणासम्म बढी मूल्यमा हुने गरेको पाइएको छ।

मालपोत कार्यालय बागलुङका अनुसार, बागलुङ बजारमा प्रतिआना ३० देखि ५० लाख रुपैयाँसम्ममा जग्गा कारोबार हुने गरेको छ, जसको सरकारी मूल्यांकन भने ११ लाख तोकिएको छ।

यस्तै, सरकारी मूल्यांकन आनाको १० लाख रुपैयाँ रहेको पाल्पा सदरमुकाम तानसेन बजारमा जग्गाको चलनचल्तीको कारोबार प्रतिआना ४० देखि ५० लाख रुपैयाँसम्ममा हुने गरेको मालपोत कार्यालयले जानकारी दिएको छ। 

बेनी (म्याग्दी), सन्धिखर्क (अर्घाखाँची) र वीरेन्द्रनगर (सुर्खेत) मा पनि जग्गा किनबेचको प्रचलित भाउ यतिबेला आनाको ३० देखि ५० लाख रुपैयाँ रहेको पाइएको छ। जबकि, सरकारी मूल्यांकन आनाको ७ देखि ९ लाख रुपैयाँमात्र तोकिएको सम्बन्धित मालपोत कार्यालयले जनाएका छन्।

डडेलधुरामा आनाको ५० देखि ६० लाख
झट्ट सुन्दा पत्याउन गाह्रो पर्छ, काठमाडौंको रिङरोडभित्रका कतिपय स्थानभन्दा डडेलधुराको अमरगढीमा जग्गा किन्न महँगो छ। सम्बन्धित मालपोत कार्यालयले दिएको जानकारीअनुसार, डडेलधुरामा जग्गा किनबेचको प्रचलित दर अहिले आनाको १५ देखि ५०/६० लाख रुपैयाँ रहेको छ। 

मालपोत कार्यालयको कारोबार रजिस्ट्रेसन रेकर्ड अर्थात् थैली रकमका आधारमा जिल्लाको अमरगढीमा जग्गाको मोल आनाकै ५० लाखसम्म रहेको देखिएको हो, जसको सरकारी मूल्यांकन भने ५ देखि ६ लाख मात्र रहेको छ। यो हिल स्टेसनमा सम्म ठाउँ पाउनै मुस्किल छ । 

पखेरो खारेर सडकको उचाइसम्म घर ठड्याउनु यहाँ सामान्य हो। रोचक त के हो भने, यहाँ सडकसँग जोडिएका कतिपय घर र होटलहरू भुइँतलामा आइपुग्दा टुंगिन्छन्, घरका अरू तल्लाहरू सडकभन्दा मुनि भीरतिरबाट उकासिएका हुन्छन्।

आनाको ३० देखि ४० लाखसम्म पर्ने अन्य पहाड
माथिका स्थानहरूलाई पछ्याउँदै कमलामाई (सिन्धुली), इलाम बजार (इलाम)र बेंसीसहर (लमजुङ) पनि जग्गाको मूल्यका लागि महँगा पहाडी स्थानहरूमा दरिएका छन्। जहाँ, एक आनाको ३० देखि ४० लाख रुपैयाँसम्म किनबेच भइरहेको त्यहाँका मालपोत कार्यालयहरूले जनाएका छन्। यी स्थानमा सरकारी मूल्यांकन भने ७ देखि ९ लाखसम्म रहेको छ।

यस्तै, चरिकोट (दोलखा), कुश्मा (पर्वत), प्यूठान बजार (प्यूठान) मा पनि जग्गा जोड्न सजिलो छैन। उक्त स्थानमा पछिल्ला दिनमा भएको कारोबारले त्यहाँ एक आनाकै २० देखि ३० लाख रुपैयाँसम्म पर्ने देखाएको छ। जबकि, सरकारी मूल्यांकन प्रति आना ६ देखि ७ लाख रुपैयाँ मात्र छ।

विकट हिमाली जिल्लामा पनि आनाकै २० लाख
दुर्गम र विकट भनिएर चिनिएका दार्चुला, जुम्ला, बझाङ, डोल्पा र सोलुखुम्बु लगायतका हिमाली जिल्लामा पनि जग्गाको मूल्य काठमाडौंको चक्रपथबाहिरका धेरै स्थानहरूभन्दा अधिक छ। यी जिल्लाका सदरमुकाममा आनाको १० देखि २० लाखसम्मको भाउ चल्तीमा छ।

सम्बन्धित मालपोत कार्यालयहरूका अनुसार खलंगा (जुम्ला) र चैनपुर (बझाङ) मा आनाको १० देखि १५ लाखमा किनबेच हुने गरेको छ। जोमसोम (मुस्ताङ) मा १० देखि २० लाखमा जग्गा किनबेच भइरहेको छ।

सोलुखुम्बुको चौरीखर्कमा एक आना जग्गा १० देखि २० लाख रुपैयाँसम्ममा कारोबार हुने गरेको मालपोत कार्यालय सोलुखुम्बुले जनाएको छ। सरकारी मूल्यांकन न्यूनतम करिब तीन लाख रुपैयाँ रहेको उक्त क्षेत्रमा बाहिरबाट गएर कसैले पनि घरजग्गा किन्न सजिलो छैन। 

स्थानीय शेर्पा बहुल समुदायबीच मात्र घरजग्गा किनबेच हुने गरेकाले बाहिरबाट जानेलाई किनमेल गर्न कठिन छ। त्यस्तै अवस्था मुस्ताङ र मनाङमा पनि छ।

दार्चुलाको खलंगा, नुवाकोटको बट्टार र भोजपुरको भोजपुर बजारमा चल्तीको दरअनुसार आनाको १० देखि २० लाख रुपैयाँ रहेको छ।

यस्तै, रामेछापको मन्थलीमा पनि अहिले चलेको दरअनुसार आनाको १५ देखि २० लाख रुपैयाँ पर्छ। स्याङ्जाको पुतलीबजार, मुगुको गमगढी र धनकुटाको धनकुटा बजारमा प्रतिआना १० देखि २० लाख रुपैयाँसम्ममा कारोबार हुने गरेको सम्बन्धित मालपोत कार्यालयले जनाएका छन्।

त्यसैगरी, जाजरकोटको खलंगा, पाँचथरको फिदिम, खोटाङको दिक्तेल, कालीकोटको मान्म, सिन्धुपाल्चोकको चौतारा, डोटीको सिलगढी र गोरखाको गोरखा बजारमा पनि जग्गाको भाउ ८ देखि १५ लाख रुपैयाँ प्रतिआनाको हारहारीमा रहेको सम्बन्धित मालपोत कार्यालयहरूले जनाएका छन् ।

चलनचल्तीमा ८ देखि २० लाखसम्मको दर रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा सरकारी मूल्यांकन भने २ देखि ५ लाख रुपैयाँसम्म मात्रै छ।