वीरगंजका दुई भन्सारले राजस्व लक्ष्य भेटाएनन्, असोजमा पौने १८ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन

बिजमाण्डू
२०७७ कात्तिक १३ गते २०:१६ | Oct 29, 2020

Tata
GBIME
Nepal Life

वीरगंज। वीरगंजका दुई भन्सार कार्यालयले असोज महिनामा १७ अर्ब ७७ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेका छन्। वीरगंज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले यो राजस्व असुली गरेका हुन्।

तर दुवै भन्सारले असोज महिनामा राजस्व असुली लक्ष्य भने भेट्टाउन सकेका छैनन्। अघिल्ला वर्षहरुमा दसैं, तिहारको पूर्व सन्ध्यामा आयात निर्यात व्यापार उकालो लाग्ने गरेको थियो। वीरगंज भन्सार कार्यालयको असोजमा १६ अर्ब ९० करोड ६५ लाख ७१ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा लक्ष्यको ७९.०९ प्रतिशत अर्थात १३ अर्ब ३७ करोड १५ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

चालु आवको असोजसम्म ३५ अर्ब ३३ करोड ४९ लाख ९६ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा २९ अर्ब ७७ करोड ८३ लाख ४४ हजार रुपैयाँ राजस्व असूली गरेको छ । जुन लक्ष्यको ८४.२७ प्रतिशत हो। तथ्यांक हेर्दा मासिक भन्दा त्रैमासिक राजस्व असुलीको अवस्था सन्तोषजनक रहेको छ। तैपनि यो भन्सारले चालु आवका तीन वटै महिनामा मासिक राजस्व असुली लक्ष्य भेट्टाउन सकेको छैन।

कार्यालयका सूचना अधिकृत विमल साह लकडाउन खुलेसँगै आयात निर्यात व्यापारको अवस्था सुधारोन्मुख रहे पनि मासिक राजस्व असुली लक्ष्य भेट्टाउनलाई त्यो पर्याप्त नरहेको बताए। राजस्वमा योगदान गर्ने मुख्य वस्तुहरु सवारी साधन र इन्धनको आयात क्रमशः बढ्दै गएकाले कात्तिक महिनादेखि राजस्व असुलीको अवस्थामा सुधार आउने सम्भावना रहेको उनले बताए। वीरगंज मुलुककै सर्वाधिक राजस्व संकलन गर्ने भन्सार कार्यालय हो।

यता सुक्खा बन्दरगाह भन्सार कार्यालयले असोजको लक्ष्यको ८६.९३ प्रतिशत राजस्व असुली गरेको छ। यो महिनामा ४ अर्ब ४६ करोड २६ लाख ९२ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा ३ अर्ब ८७ करोड ९६ लाख ३९ हजार रुपैयाँ राजस्व असुली भएको छ। चालु आवको असोजसम्म ९ अर्ब ३७ करोड १२ लाख ४७ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा ८ अर्ब २६ करोड ४४ लाख ९३ हजार रुपैयाँ राजस्व असुली भएको छ।

जुन लक्ष्यको ८८.१९ प्रतिशत हो। कार्यालयका सूचना अधिकृत जगदीश पूर्वे लकडाउनकै कारण चालु आवमा यो नाकाबाट आयात निर्यात व्यापार हुँदा राजस्वमा असर परेको बताए। भारतीय रेल सन्जालसँग जोडिएकाले तेश्रो मुलुकबाट आयात हुने वस्तु यो नाकाबाट बढी भित्रिने गरेको छ। यो नाका हुदै विशेषगरी फलाम, मदिरा, गेडागुडी तथा अन्य औद्योगिक कच्चा पदार्थहरु बढी आयात हुने गर्छ।