डिजिटल कारोबारको ट्रेन्ड बढ्दो, दसैंमा मोबाइल वालेटमार्फत् एउटै कम्पनीको अर्ब माथि कारोबार

उन्नत सापकोटा/बिजमाण्डू
२०७७ कात्तिक १३ गते १२:१२ | Oct 29, 2020
डिजिटल कारोबारको ट्रेन्ड बढ्दो, दसैंमा मोबाइल वालेटमार्फत् एउटै कम्पनीको अर्ब माथि कारोबार



काठमाडौं। कोरोना संक्रमणसँगै दसैंमा टिका लगाएपछि नोटनै दिने प्रचलनमा कमी आएको छ। केही वर्षदेखि दसैंको दक्षिणा मोबाइल वालेटबाट दिन केही भुक्तानी सेवा प्रदायकले एग्रेसिभ रुपमा मार्केटिङ गरिरहेका थिए।

Tata
GBIME
Nepal Life

त्यसमा पनि कोरोना संक्रमणको जोखिम नोटबाट सर्ने भएपछि बाणिज्य बैंकले समेत मोबाइलमार्फत दक्षिणा दिने अभियानमा सामेल भए। भुक्तानी प्रदायक कम्पनीसँगै बैंक तथा वित्तिय संस्था पनि थपिएपछि नोटको कारोबारमा कमी आएको छ भने मोबाइल बैंकिङमार्फत अर्बौको कारोबार भएको छ।

कोरोना भाइरस नोटबाट समेत सर्न सक्ने जोखिम भएकाले वित्तीय संस्था, मोबाइल वालेट सेवा प्रदायक, चिकित्सकसहित सरकार आफैंले पनि विद्युतीय भुक्तानी प्रोत्साहन गर्न विभिन्न जनचेतनामूलक सन्देश प्रवाह गरेका थिए। नेपाल राष्ट्र बैंकले गत चैतमा मोबाइल तथा इन्टरनेट बैंकिङसँगै डिजिटल वालेटहरुबाट गरिने विद्युतीय भुक्तानीको सीमा बढाएको थियो। बैंकहरूले आफ्ना मोबाइल एपबाट कारोबार गर्दा क्यासब्याक र छुटका स्कीमहरू सार्वजनिक गरेका थिए।

इसेवाबाट दसैं बिदाको पाँच दिने अवधिमा कारोबार संख्या ११ लाखभन्दा बढी भएको छ। जसमार्फत् इसेवा प्रयोगकर्ताहरुले एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको कम्पनीले जनाएको छ। त्यसैगरी, इसेवाले दसैंको टीकाको दिनलाई लक्षित गरी लञ्च गरेको डिजिटल दक्षिणा स्किमबाट त्यो दिन प्रयोगकर्ताहरुले ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको कम्पनीले जनाएको छ। 

इसेवा टु इसेवासँगै प्रयोगकर्ताहरुले इसेवा टु बैंक खातामा पनि कारोबार गरेको बताइएको छ। दसैं विदाका कारण कारोबार संख्यासँगै रकम भने घटेको इसेवाले जनाएको छ। दसैं विदाका कारण सामान्य समयभन्दा कारोबार संख्या र रकम घटेपनि अघिल्लो दसैंहरुको तुलनामा कारोबारको ट्रेन्ड भने बढ्दै गएको इसेवाले जनाएको छ।

खल्तीबाट दसैंको फुलपातीदेखि एकादशीसम्मका पाँच दिनको अवधिमा करिब साढे सात करोड रुपैयाँ कारोबार भएको छ। खल्तीले हरेक दिन डेढ करोड रुपैयाँ हाराहारीमा कारोबार गरेको खल्तीका निर्देशक अमित अग्रवालले जानकारी दिए। 'दसैंअघि कारोबार संख्या दिनको तीन हजार हाराहारी मात्रै हुने गरेको थियो, दसैं सुरु भएपछि तीन गुणाभन्दा बढीले बढेको छ,' उनले बिजमाण्डुसँग भने। 

‘यसअघि हरेक दिन ३२ सय वटा मात्रै कारोबार हुने गरेकोमा दसैं बिदामा कारोबार संख्या दिनको करिब १० हजार पुगेको छ,’ अग्रवालले भने। उपभोक्ताहरुले खल्ती टु खल्ती वा खल्ती टु बैंक खातामा रकम पठाएको उनले बताए। खल्तीले ग्राहकहरुले डिजिटल दक्षिणावापत् गरेको कारोबार पनि यसमै समावेश भएको जनाएको छ। दसैंमा दक्षिणा पठाएको प्रयोजन खुलाउने कुनै निश्चित अप्सन नभएकाले कति कारोबार भयो भन्ने यकिन गर्न नसकिने उनले बताए।    

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट दसैं बिदाको पाँच दिनमा ८४ करोड रुपैयाँको कारोबार गरेको प्रमुख कार्यकारी निलेशमानसिंह प्रधानले जानकारी दिए। उनका अनुसार दसैंको पाँच दिने बिदामा कुल साढे ७५ हजार वटा कारोबार भएको छ। दसैं दक्षिणा स्किमअन्तर्गत उक्त अवधिमा तीन हजार वटा कारोबारबाट कुल ८१ लाख रुपैयाँको कारोबार भएको उनले जानकारी दिए।

आइएमइ पे र प्रभु पे लगायतका मोबाइल वालेट कम्पनीहरुले अघिल्लो दसैंभन्दा कारोबार बढेको बताए पनि तथ्यांक भने सार्वजनिक नगर्ने बताएका छन्। दसैं सुरु हुनु अगावै नेपालका प्राय सबै मोबाइल वालेट कम्पनीहरुले दक्षिणा दिँदा डिजिटल माध्यम प्रयोग गर्न आफ्ना ग्राहकहरुलाई आग्रह गरेका थिए। अघिल्लो वर्षहरुको दसैंमा खासै डिजिटल दक्षिणाको प्रयोग नभए पनि यसपटक परिस्थितिले यसको प्रयोग बढाएको मोबाइल वालेट कम्पनीहरुले जानकारी दिएका छन्। 

यस्तै, एनआइसी एसिया बैंकका सीइओ रोशन न्यौपानेका अनुसार पछिल्लो तीन वर्षदेखि दसैंमा डिजिटल भुक्तानी बढाउने योजना सञ्चालन गरिरहेको बताए। 'कारोबार संख्या र रकम केही बढे पनि समग्रमा यसको आकार निकै सानो छ। आगामी दिनमा यो बढ्दै जाने देखिएको छ,' उनले भने। 

लकडाउनपछि बढेको आकर्षण

कोरोना महामारी बढेपछि सरकारले गत चैत ११ देखि लकडाउन गरेको थियो। त्यसयता डिजिटल कारोबार उल्लेख्य रूपमा बढेको छ। राष्ट्र बैंकका अनुसार गत चैत, बैशाख, जेठ र असार गरी चार महिनामा ५८ खर्ब ९४ अर्ब ९६ करोड रूपैयाँ डिजिटल माध्यमबाट कारोबार भएको थियो। यसमा मोबाइल वालेटबाट मात्रै १७ अर्ब १५ करोड ४० लाखको कारोबार भएको तथ्यांक छ। 

बैंकहरूले आफ्ना मोबाइल एपबाट विद्युत, केबुल, इन्टरनेट, स्कुल-कलेजका शुल्कसँगै किनमेल पनि गर्न मिल्ने सुविधा दिँदा मोबाइल वालेट सेवा सञ्चालक कम्पनीका लागि चुनौती बढेको छ। बैंक खातामा भएका पैसा मोबाइल वालेटमा सारेर कारोबार गर्नुपर्छ। बैंककै एपबाट डिजिटल वालेटको सेवा उपयोग गर्न सकिने भएपछि भुक्तानी प्रदायक वालेट सेवाहरूका लागि चुनौती बढेको हो।

साउनयता पनि कोरोना सन्त्रास घटेन। नोटको कारोबार गर्दा संक्रमणको जोखिम हुने भएकाले बिभिन्न प्रकारका भुक्तानीका लागि डिजिटल कारोबार प्रणालीले सहज बनाएको छ। सर्वसाधारणले नगद कारोबारको साटो मोबाइल बैंकिङकै प्रयोग निरन्तर बढाएका छन्। 

कति कति पाइन्छ कारोबार गर्न 
नेपाल राष्ट्र बैंकले २०७६ पुस १७ गते जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन-२०७६ लाई चैत ९ गते संशोधन गरेको थियो। जसअनुसार राष्ट्र बैंकले वालेटको माध्यमबाट गरिने फन्ड ट्रान्सफरको अधिकतम सीमा तोकेको छ।

राष्ट्र बैंकले एजेन्ट वा सब-एजेन्टबाट वालेटमा प्रतिदिन २५ हजार रुपैयाँ र प्रतिमहिना एक लाख रुपैयाँ सीमा तोकेको छ। बैंक खाताबाट वालेटमा, वालेटबाट अन्य बैंक खातामा वा एक वालेटबाट अर्को वालेटमा भुक्तानी गर्दा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन एक लाख रुपैयाँ र प्रतिमहिना पाँच लाख रुपैयाँको सीमा राष्ट्र बैंकले तोकेको छ। यस्तै, राष्ट्र बैंकले वालेटबाट वालेटबाहकको बैंक खातामा रकमान्तर गर्दा कुनै सीमा तोकेको छैन। 

राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेटबाट गरिने कारोबारहरुको अधिकतम सीमा प्रतिदिन एक लाखदेखि १० लाख र प्रतिमहिना १० लाखदेखि ५० लाख रुपैयाँ कायम गरेको थियो। मोबाइल बैंकिङ (क्यूआर कोडसमेत)बाट उपभोक्ताहरुले प्रतिदिन एक लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्ने छन्। राष्ट्र बैंकले इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट)को सीमा प्रतिदिन १० लाख रुपैयाँ र प्रतिमहिना ३० लाख रुपैयाँ कायम गरेको छ। इन्टरनेट बैंकिङ (खातामा ट्रान्सफर) को सीमा प्रतिदिन १० लाख रुपैयाँ र प्रतिमहिना ५० लाख रुपैयाँ रहेको छ।