मुस्लिम देशहरुमा फ्रान्सका सामान बहिस्कार अभियान: के पर्छ फ्रान्सको अर्थतन्त्रमा असर?

बिजमाण्डू
२०७७ कात्तिक १३ गते ०९:५१ | Oct 29, 2020
मुस्लिम देशहरुमा फ्रान्सका सामान बहिस्कार अभियान: के पर्छ फ्रान्सको अर्थतन्त्रमा असर?


काठमाडौं। फ्रान्सका विरुद्ध मुस्लिम देशहरुको दुखेसो संसददेखि सडकसम्म देखिन थालेको छ। पहिले केही देशहरुले फ्रान्समा उत्पादित सामानहरुको बहिस्कार गर्ने कुरा गरेका थिए। अब पाकिस्तान र इरानको संसदमा बहिस्कारको नारा नै लाग्न थालेको छ।

Tata
GBIME
Nepal Life

कुबेत, जोर्डन र कतारका केही पसलबाट फ्रान्सका सामानहरु हटाइएको छ। टर्कीका राष्ट्रपतिले सार्वजनिक रूपमै फ्रान्समा बनेको सामान बहिस्कार गर्न अपिल गरेका छन्। पाकिस्तानको संसदले फ्रान्समा रहेका आफ्ना राजदूतलाई फिर्ता गर्न माग गरेको छ। 

संसदमा कुरा उठ्नु ठीक अघि प्रधानमन्त्री इमरान खानले फ्रान्सका राष्ट्रपतिले इस्लाममाथि हमला गरेको आरोप लगाएका थिए। बंगलादेशमा पनि हजारौंको संख्यामा मान्छेहरु सडकमा उत्रिएर फ्रान्स विरोधी नाराबाजी गरेका छन्। 

मुस्लिम देशहरुले फ्रान्सको विरोध गर्नुको कारण छ। पैगम्बर मोहम्मदको कार्टुन देखाउने फ्रान्सकी एक शिक्षिकाको हत्या हुन्छ। हत्यापछि फ्रान्सका राष्ट्रपति म्याक्रोले भद्दा टिप्पणी गर्छन्। उनले भने- इस्लाम संकटमा छ। उनले शिक्षिकाको हत्या इस्लामी आतंकवादी हमला भएको बताएका थिए।

यसपछि इस्लामी देशहरु फ्रान्ससँग रिसाएका हुन्। आर्थिक सहयोग तथा विकास संगठनको २०१९ अप्रिलको रिपोर्ट अनुसार, फ्रान्सको निर्यात मुख्य चार वस्तुहरुमा छ। पहिलो, हवाइ तथा विमानसँग सम्बन्धि सामान, दोस्रो यातायातका साधन, यसमा अटो क्षेत्र पनि पर्छ। तेस्रो कृषिसँग सम्बन्धित सामान र अन्तिम फेसन तथा लक्जरी गुड्सहरु पर्छन्। पछिल्लो दुई वर्षमा यसै पनि फ्रान्सको निर्यात घटिरहेको देखिन्छ।

रोयटर्सले फ्रान्सको सामानका बारेमा कुवेत र साउदी अरबको बजारमा गएर अध्ययन गरेको थियो। त्यहाँका सुपरमार्केट्समा लरियल ब्रान्डका कस्मेटिक र स्किन केयर प्रडक्टहरुको दराज खाली देखिएको थियो।

लरियल ब्रान्ड सन्सारभरी नै प्रसिद्ध छ। मध्य पूर्वी देश र अफ्रिकालाई जोड्ने हो भने लरियल र अन्य फ्रान्सका फेसन ब्रान्डको कुल कारोबार दुई प्रतिशत मात्र छ। फ्रान्सको ब्रान्डहरु बहिस्कार  गर्ने भनिए पनि मुस्लिम देशहरुका सुपरमार्केट पुग्दा सामान्य जस्तै फ्रान्सका सामानहरु बिक्री भइरहेका थिए। 

कृषि उत्पादनमा फ्रान्स सबैभन्दा बढी गहुँ निर्यात गर्छ। कुल अन्न निर्यातको तीन प्रतिशत मात्र उसले मुस्लिम देशहरुमा निर्यात गर्छ। यसमध्ये पनि धेरै जस्तो उत्तर अफ्रिकाका मुस्लिम देशहरु छन्। फ्रान्स वाइन पनि राम्रै निर्यात गर्छ। तर यसको उपभोक्ता मुस्लिम देशहरु होइनन्।

ऊर्जा क्षेत्रमा फ्रान्सको कम्पनी टोटलको बेग्लै पहिचान छ। पाकिस्तान, बंगलादेश, टर्की, साउदी अरब र अन्य खाडी मूलुकको पेट्रोलियम उत्पादनमा यसले काम गर्छ। रक्षा क्षेत्रमा निजी जेट, राफेलजस्ता लडाकु विमान फ्रान्सले साउदी अरब, कतार, टर्की, यूएईजस्ता देशहरुमा बेच्छ।

फ्रान्सका उत्पादन पूर्ण रूपमा बहिस्कार गर्ने हो भने उसको अर्थतन्त्रमा असर गर्छ। तर अर्थशास्त्रीहरु मुस्लिम देशहरुमा बिक्री हुने फ्रान्सका उत्पादन अन्य मूलुकको तुलनामा निकै कम रहेकाले खासै असर नगर्ने बताउँछन्। असर परिहाले पनि एकदमै न्यून मात्रामा पर्ने उनीहरुको तर्क छ।
बीबीसी