सात महिनापछि होटल र रिर्सोटमा देखियो आन्तरिक पर्यटकको रौनक, अकुपेन्सी ९० प्रतिशतसम्म

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ कात्तिक १३ गते ०८:४८ | Oct 29, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। सात महिनापछि काठमाडौं उपत्यका लगायतका होटल र रिर्सोटमा रौनक देखिएको छ। 

कोरोना संक्रमणसँगै लकडाउन र निषेधाज्ञाको मारमा परेका होटल र रिर्सोट दसैंका बेलामा भरिभराउ भएका छन्। पछिल्लो केही वर्षदेखि दसैंमा घुमघाम गर्ने प्रचलन बढ्दो थियो। 

यो वर्षको दसैंमा भने कोरोनाका कारण घुमघाममा कमी आउने अनुमान गरिएको थियो। तर कोरोनाको त्रासका बीच घुमघाम गर्नेको संख्या भने उल्लेख्य पाइएको छ जसका कारण होटल र रिर्सोट भरिएका हुन्। स्वास्थ्य मापदण्डका कारण अधिकांश होटल रिर्सोट ५० प्रतिशत मात्रै कोठा संचालनमा ल्याएका थिए। दसैंमा संचालनमा रहेका रुमको अकुपेन्सी ९० प्रतिशत रहेको व्यवसायीले बताएका छन्।

काठमाडौंका चन्द्रागिरि हिल्स रिसोर्ट, ग्रीन भ्याली रिसोर्ट, बोजिनी रिसोर्टको अकुपेन्सी ९० प्रतिशतको हाराहारीमा थिए। 

चन्द्रागिरि हिल्स एण्ड रिसोर्टमा दसैंमा ९० प्रतिशत अकुपेन्सी रहेको कम्पनीका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए। 'हामीले ५० वटा कोठा मात्रै संचालनमा ल्याएका थियौं। त्यसमा दसैंको अवधिमा ९० प्रतिशत अकुपेन्सी रहेको थियो,’ उनले बिजमाण्डूसँग भने। 

कम्पनीले लकडाउन र निषेधाज्ञापछि पर्यटकीय गतिविधि बढाउन आकर्षक प्याकेज ल्याएको थियो। कम्पनीले दुई जनाको लागि एक रात दुई दिनको बेड एण्ड ब्रेकफाष्टको लागि साढे ६ हजारको प्याकेज ल्याएको थियो।

यो प्याकेज अन्तर्गत ग्राहकले नि:शुल्क केबुलकार सुविधा, ब्रेकफास्ट, डिलक्स रुम रहेको छ। नगरकोटको क्लब हिमालयमा समेत १८ वटा रुम संचालनमा थिए। दसैंको समयमा ती सबै कोठा भरिएको होटलका एक कर्मचारीले बताए। 

रिसोर्टले चाडपर्वलाई लक्षित गर्दै ६ हजार रुपैयाँको प्याकेज ल्याएको थियो। यसमा दुई जनालाई बेड एण्ड ब्रेकफाष्टको सुविधा थियो। कोरोना अघि यो प्याकेजको शुल्क ११ हजार रुपैयाँ थियो। नगरकोटको होटल मिस्टिक माउन्टेनले फूलपातीदेखि नै चहलपहल बढेको जनाएको छ। होटलमा ७२ वटा कोठा रहे पनि ६२ वटा मात्रै संचालनमा ल्याइएको जनाएको छ। 

पछिल्लो समय ९० प्रतिशत अकुपेन्सी कायम हुँदै आएको होटलका फ्रन्ट अफिस एक्जिक्युटिभ अनिल गनेजुले बताए। 'चाडबाडको बिदामा घुमघाम, खानपिन र बसोबास गर्न आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। पर्यटकीय चहलपहलले एउटा सकारात्मक सन्देश फैलिएको अवस्था छ,' उनले भने। 

होटलले १० हजार पाँच सय रुपैयाँको प्याकेजमा एक जोडीलाई बेड, ब्रेकफास्ट, डिनर, ज्याकुजी, स्वीमिङको सुविधा दिएको छ।

पोखरामा पनि पर्यटकको चहलपहल
पोखरामा दसैंको बेलामा पर्यटकको चहलपहल बढेको छ। दसैंको बेलामा पर्यटकले भरिभराउ हुने पोखरामा यो वर्ष भने अकुपेन्सी २० प्रतिशतको हाराहारीमा रहेको छ।

‘गत वर्ष पोखराको सबै कोठा भरिएका थिए। यो वर्ष कोरोनाका कारण २० प्रतिशतको हाराहारीमा कोठा भरिएका छन्,’ क्राउन हिमालयका निर्देशक आग्रह अर्यालले भने, ‘हामीले यसलाई पनि सकारात्मक रूपमा लिएका छौं। विस्तारै पर्यटक संख्या बढ्दो क्रममा छ।’

 उनका अनुसार होटलभन्दा रेष्टुरेन्टमा भने भीडभाड धेरै छ। पामेमा रहेका अधिकांश रेष्टुरेन्ट भरिएका थिए। 

सौराहामा टीकापछि पर्यटक बढे
सौराहामा दशमीको टीकापछि घुमघाम गर्न आउने बढेका छन्। क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले दसैंपछि सौराहा होटलको अकुपेन्सी २० प्रतिशतको हाराहारीमा भएको बताए।

‘टीका अगाडि फाटफुट्ट मात्रै पर्यटक आएका थिए। तर टीकापछि भने आउने क्रम बढ्यो,’ उनले बिजमाण्डूसँग भने, ‘टीकापछि सौराहा आएर घुम्ने र त्यही दिन फर्किनेको संख्या पनि उल्लेख्य थियो।’ उनका अनुसार होटल भन्दा रेष्टुरेन्टको कारोबार भने राम्रो भएको छ।