ब्रोडब्याण्ड इन्टरनेट जडानको भौतिक प्रगति ६६.५८%, ५ हजारभन्दा बढी साइटमा इन्टरनेट जोड्न बाँकी

बिजमाण्डू
२०७७ कात्तिक १२ गते १७:५६ | Oct 28, 2020
ब्रोडब्याण्ड इन्टरनेट जडानको भौतिक प्रगति ६६.५८%, ५ हजारभन्दा बढी साइटमा इन्टरनेट जोड्न बाँकी

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी स्थानीय निकाय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्था गरी १० हजार पाँच सय ५३ साइटमा ब्रोडब्याण्ड इन्टरनेट जडान गरेको छ। इन्टरनेट जडानको कुल भौतिक प्रगति ६६.५८ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ। ब्रोडब्याण्ड इन्टरनेटको जम्मा सम्झौता रकम पाँच अर्ब २७ करोड रुपैयाँ छ। 

६ सय ६५ मध्ये चार सय ७२ स्थानीय तहको कार्यालयमा इन्टरनेट पुगेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले असोज मसान्तसम्मको प्रगति विवरण बुधबार सार्वजनिक गर्दै अब दुई सय तीन स्थानीय तहको कार्यालयमा इन्टरनेट पुर्‍याउन बाँकी रहेको जनाएको छ। 

यस्तै, ५८ सय २७ वडा कार्यालयमध्ये ३९ सय ५८ वटामा इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ। ५२ सय २५ माध्यमिक विद्यालयमा इन्टरनेट जडान सम्झौता गरेको प्राधिकरणले ३३ सय एकमा जडान गरेको छ। यस्तै, २८ सय २२ स्वास्थ्य संस्थामा इन्टरनेट जोडिसकेको प्राधिकरणले अब १३ सयमा जडान गर्न बाँकी रहेको जनाएको छ। 

प्राधिकरणले १८ प्याकेजमा १५ हजार आठ सय ४९ साइटमा ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने गरी सम्झौता गरेको जनाएको छ। १८ मध्ये १२ वटा प्याकेजको काम यसअघि नै प्राधिकरणले सम्पन्न गरिसकेको छ। दुई वटा प्याकेजमार्फत् नौ वटा जिल्लामा ५० प्रतिशत काम भएर सेवा सञ्चालन समेत भइसकेको प्राधिकरणले जनाएको छ। बाँकी चार प्याकेज मार्फत् १९ जिल्लामा नेटवर्क तथा कनेक्टिभिटी जडानका लागि छनोट भएको सेवा प्रदायकले काम गरिरहेको प्राधिकरणले जनाएको छ। 

सम्पन्न भएका परियोजनामध्ये एउटाको अनुगमन गरी प्रमाणीकरण कार्य समेत सकिएको प्राधिकरणले जनाएको छ। बाँकी परियोजनाहरुको विभिन्न चरणमा अनुगमन गरी प्रमाणीकरण गर्ने काम र पर्फर्मेन्स अनुगमनको काम भइरहेको प्राधिकरणले प्रगति विवरणमा उल्लेख गरेको छ।