दसैंमा सवारी साधन बिक्रीमा बहार, असोजमा मात्रै साढे ३६ हजार मोटरसाइकल आयात

बिजमाण्डू
२०७७ कात्तिक १३ गते १३:०३ | Oct 29, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना महामारीले शिथिल बनेको अटो बजार दसैंमा रौनक देखिएको छ। कोरोनासँगै सार्वजनिक यातायात नचलेपछि बाइकको व्यापारमा बहार आएको छ। लकडाउन र निषेधाज्ञा खुलेपछि बाइक र स्कुटरको ब्यापार अस्वभाविक रूपमा बिक्री भएको छ।

जगदम्बा मोटर्सले मात्रै एकै दिन एक हजार टिभिएस बाइक बिक्री गरेको छ। भन्सार विभागका अनुसार असोज महिनामा मात्रै ५० सीसीदेखि २ सय ५० सीसीसम्मका ३६ हजार ६ सय ६४ वटा मोटरसाइकल आयात भएको छ। गत वर्ष सोही अवधिमा यो शीर्षकमा २८ हजार वटा मोटरसाइकल मात्रै आयात भएको थियो।  

कोरोना महामारी सुरु भएयता मोटरसाइकलको आयात निरन्तर वृद्धि भइरहेको छ। चालु वर्षको साउन र भदौ महिनामा ५० देखि २५० सीसीसम्मको मोटरसाइकल १५ हजार २ सय ६४ वटा मात्रै आयात भएको थियो। असोज महिनामा यो शीर्षकमा २३ हजार ६ सय ५३ वटा मोटरसाइकल आयात भएको छ। यस्तै फरक भन्सार शीर्षकमा ५० देखि २५० सीसी सम्मको मोटरसाइकल असोजमा मात्रै १३ हजार ११ वटा आयात भएको छ। 

गाडी आयात पनि बढ्यो

हजार सीसीदेखि १५ सय सीसीसम्मको गाडी असोजमा मात्रै १४ सय ५४ वटा आयात भएको छ। यो शीर्षकमा साउन र भदौ महिनामा ८ सय ५४ वटा गाडी आयात भएको थियो। यो गाडी आयातबाट सरकारले ४ अर्ब ७२ करोड राजस्व संकलन गरेको छ। अन्य महँगो सवारी आयात भने सुधार हुन सकेको छैन। 

चालु वर्षको सुरुवाती तीन  महिनामा १५ सय सीसीदेखि २५ सय सीसीसम्मको गाडी १ सय ११ वटा मात्रै आयात भएको छ। यस्तै हजार सीसी सम्मको ५ सय ५ वटा बाइक आयात भएको छ। यस्तै ढुवानी र खेत जोत्न प्रयोग गरिने ट्रयाक्टर २५ सय ४९ वटा आयात भएको छ। पिकअप भ्यान २ हजार सीसीसम्मको ५ सय १ वटा आयात भएको छ। यस्तै १५ सय सीसीसम्मको डिजल इन्जिन भएको सवारी ३ महिनामा ३ सय ९७ वटा आयात भएको छ। जसबाट राज्यले ८८ करोड ६७ लाख राजस्व संकलन गरेको छ। बस र ट्रक भारतबाट ३ महिनामा २ सय २० वटा आयात भएको छ। 

चिनी मात्रै तीन अर्बको आयात

यसैगरी चाडपर्व लक्षित गरी व्यवसायीले करिब ३ अर्बको  चिनी आयात गरिसकेका छन्। चिनीबाट मात्रै राज्यले १ अर्ब ६९ करोड राजस्व संकलन गरेको छ। असोजमा मात्रै व्यावसायीहरुले ६५ करोडको चिनी आयात गरेका छन्। साल्ट ट्रेडिङ र नेपाली उद्योगीसँग चिनीको मौज्दात सकिदै जाँदा चिनी आयात बढेको छ। विभिन्न बहुमूल्य वस्तुको आयातलाई पछि पार्दै चिनी धेरै आयातको ११ औं स्थानमा आइपुगेको छ। चाड पर्वलाई लक्षित गर्दै व्यावसायीहरुले धमाधम चिनी आयात गरिरहेका छन्। 

यस्तै सिमेन्टका लागि आवश्यक कच्चा पदार्थ क्लिंकर १ अर्ब ९ करोडको आयात भइसकेको छ। युनाइटेड अरब इमिरेट्स (यूएई) बाट १ सय किलो सुन आयात भएको छ। यो ७३ करोड ७० लाख मूल्य बराबरको हो । सुनबाट राज्यले ८५ करोड राजस्व संकलन गरेको छ। असोज महिनाभर भन्सार विभागले ३९ अर्ब राजस्व संकलन गरेको छ। यो विभागको भन्दा राजस्व संकलन लक्ष्यभन्दा ३ अर्बले कम हो ।

यो महिना विभागले ४२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। गत आर्थिक वर्षको सुरुवाती तीन महिनाको तुलनामा चालु वर्षको आयातमा १२ प्रतिशतले गिरावट आएको छ।