१४ लाख ६९४ जनामा परीक्षण गर्दा एक लाख ६० हजार ४०० जनामा कोरोना संक्रमण

बिजमाण्डू
२०७७ कात्तिक १२ गते १०:१७ | Oct 28, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। देशभर हालसम्म एक लाख ६० हजार ४०० जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ लाख ६९४ जनामा परीक्षण गर्दा उक्त संख्यामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

हालसम्म नेपालभर कोभिड संक्रमणबाट ८७६ जनाको मृत्यु भइसकेको छ। हाल ४० हजार ६८१ कोभिडका सक्रिय संक्रमित छन् भने एक लाख १८ हजार ८४३ जना निको भइसकेका छन्।

मंगलबार ५७० जनामात्र कोभिड संक्रमित थपिए। दसैंका कारण परीक्षण दर घटेपछि संक्रमणको पुष्टि पनि कम भएको हो। दुई हजार ७२५ जनामा परीक्षण गर्दा ५७० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

२१ देखि ३० वर्ष उमेरका बढी संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २१ देखि ३० वर्ष उमेरका धेरैजना कोरोना संक्रमणबाट प्रभावित बनेका छन्। यो अवधिमा ३१ हजार ४३० जना पुरुष र १५ हजार ८०९ महिला गरी ४७ हजार २३९ जना यो उमेर समूहका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरु प्रभावितको दोस्रो नम्बरमा परेका छन्। ३० हजार ५३३ पुरुष र १२ हजार ४३९ जना महिला गरी ४२ हजार ९७२ जना यो उमेर समूहका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ।

२१ देखि ३० र ३१ देखि ४० यी दुई उमेर समूहका गरी ९० हजार २११ जना संक्रमित पुगेका छन्। यो कुल संक्रमितको ५६ प्रतिशत हो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ २० देखि ४० वर्ष उमेर समूहका मानिसबाट सबैभन्दा बढी फैलिएको बताएको छ।   

यी उमेर समूहका अधिकांश मानिसलाई संक्रमण भएकोसमेत थाहा नहुने हुनाले पनि संक्रमण फैलन सक्ने खतरा बढ्दै गएको भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको हो।   

रोगी र अत्यधिक जनघनत्व रहेको स्थानमा अझ बढी जोखिम रहेको भन्दै थप सतर्कता बढाउन संगठनले जोड दिएको छ।