निर्माणाधीन ठूला होटलको लागत कोरोनाले ३०% सम्म थपियो, तोकिएको समयमा कुनै पनि होटल संचालन नआउने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ कात्तिक ११ गते १२:२६ | Oct 27, 2020
निर्माणाधीन ठूला होटलको लागत कोरोनाले ३०% सम्म थपियो, तोकिएको समयमा कुनै पनि होटल संचालन नआउने


Tata
GBIME
Nepal Life

काठमाडौं। १० वर्ष यता मुलुकको पर्यटन क्षेत्रमा सम्भावना देखिएपछि धमाधम होटल निर्माणको लहरनै चलेको थियो।  माओवादी द्वन्द्वको शान्तिपूर्ण अवतरणपछि अन्तर्राष्ट्रिय चेन होटल आकर्षित भएर स्वदेशी लगानीकर्ता समेत लगानी खन्याउन तयार भए।

फेयरफिल्ड मेरियट, काठमाडौं मेरियट, ताज सफारी र भिभान्तालगायत चेन होटल सञ्चालनमा आइसकेका छन्। केही होटल निर्माणाधिन छन्। तर निर्माणको अवधिमै केही होटलले नेपालले मात्रै भोगेको भूकम्प र नाकाबन्दी मात्रै होइन कोरोना महामारीको समेत चपेटामा परेका छन्। भूकम्प र नाकाबन्दीका कारण लागत बढेको थियो भने होटल संचालनमा आउने मिति सरेको थियो। त्यही होटललाई कोरोनाले थप संकटमा पारेको छ।

कोरोनाका कारण शेराटन, होटल बाराही, भंगेरी रिसोर्ट, दुसित थानी, हायात प्यालेस लगायत ठूला होटललाई समस्यामा पारेको छ। २०७२ सालको भूकम्प खेपिसकेको गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घलेको ठमेलस्थित निर्माणाधीन होटल शेराटन संचालनमा आउनै थप डेढ वर्ष लाग्ने भएको छ।

१० अर्बको निर्माण लागत अनुमान गरिएको होटलमा थप दुई अर्ब रुपैयाँ खर्च बढ्ने एमआइटी ग्रुपका अपरेशन म्यानेजर सुरेश चित्रकारले बताए। 'सात महिनादेखि काम राम्रोसँग हुन सकेको छैन्। विदेशबाट आउनुपर्ने आवश्यक निर्माण सामाग्री सहजै आउने अवस्था छ तर जनशक्ति कम छ,' उनले भने, 'यही कारण अब निर्माण लागतसँगै संचालन मिति पनि सर्ने निश्चित भइसकेको छ।'

कोरोना महाब्याधिका कारण रोकिएको शंकर समूहको पाँचतारे होटलको निर्माणको लागत र निर्माण अवधि पनि लम्बिएको छ। महाब्याधिको अनिश्चिततालाई तोड्दै समूहले होटल परियोजना निर्माणलाई अघि बढाएको छ। तर कोरोनाका कारण ६ महिना होटलको कामनै रोकियो। होटलको ९० प्रतिशत काम सकिएको र अबको १६ महिनामा होटल तयार हुने समूहका प्रवन्ध निर्देशक साहिल अग्रवालले बताए।

‘कोरोनाका कारण होटल निर्माण ६ महिना रोकियो। वाहिरबाट सामान आउन पनि सकेन्। तर अब सामान आइसकेको छ’, उनले भने, ‘हामी अब होटल निर्माणलाई तीब्रता दिनेछौं।’ कोभिड र स्तरोन्नतिका कारण होटलको लागत पाँच अर्ब पुगेको छ। तीन वर्ष अघि साढे तीन अर्ब लागतमा बनाउने लक्ष्यसहित यो होटलको निर्माण थालिएको थियो।

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै यही डिसेम्बरभित्र संचालनमा आउने योजना बनाएको काभ्रेस्थित 'दुसित थानी हिमालयन रिसोर्ट एण्ड स्पा' लाई संचालनमा आउन थप समय लाग्ने भएको छ। थाइल्याण्डको सुप्रसिद्ध हेरिटेज म्यानेजमेन्ट कम्पनीले दुसित थानी र ओमस्टोन एसियाद्वारा उक्त रिसोर्ट निर्माणाधीन छ। रिसोर्ट तत्काल संचालनमा आउन अझै समय लाग्ने ओमस्टोन एसियाका व्यवस्थापन साझेदार रमेशकुमार हमालले बताए।

एक अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिए पनि कोभिड-१९ का कारण यो रिसोर्टको निर्माण लागत २० प्रतिशतले वृद्धि हुने अनुमान गरिएको उनले बताए। 'अब रिसोर्ट तयारीका लागि दुई अर्ब २५ करोड रुपैयाँ अझै लाग्ने अनुमान छ। प्राय निर्माण सामाग्री विदेशबाटै आयात गर्नुपर्ने हुन्छ। डलरको भाउ बढिरहेको छ। त्यसैले होटलको लागत महँगो पर्ने भएको छ।,' व्यवस्थापन साझेदार हमालले भने।

८० प्रतिशत निर्माण कार्य सकिए पनि विदेशबाट आउनुपर्ने सामाग्री र प्राविधिक जनशक्ति आउन सहज नभएकोले सात महिनापछि मात्रै होटल संचालनमा आउने उनले बताए। उनका अनुसार अहिले एक सय ८० कामदारले होटल निर्माणको काम गरिरहेका छन्। 'सन् २०२१को अन्त्य तिर रिसोर्ट संचालनमा ल्याउने योजना बनाएका छौं,' उनले भने।

नगरकोटस्थित चौधरी ग्रुपको लगानी र लेमन ट्री होटल समूहको व्यवस्थापनमा निर्माणाधिन भंगेरी दरबार रिसोर्टको निर्माण कार्य विगत सात महिनादेखि ठप्प छ। दुई वर्षअघि एक अर्ब रुपैयाँ लागत अनुमानमा निर्माण सुरु गरिएको यो होटल सन् २०२१ भित्र संचालनमा ल्याउने योजना थियो। तर कोभिड-१९का कारण निर्माण कार्यनै ठप्प भएपछि होटल संचालनमा आउनै थप डेढ वर्ष लाग्ने अनुमान रहेको प्रबन्धक नवीन गुरुङले बताए

'सात महिना भइसक्यो जनशक्ति ल्याउन सकिएको छैन। काम ठप्प रहेको छ। अब जनशक्ति परिचालन, निर्माण सामाग्री खरिद लगायतका कारण निर्माण लागतले न्यूनतम पाँचदेखि सात प्रतिशतसम्म बढ्न सक्ने देखिएको छ,' प्रबन्धक गुरुङले भने। उनका अनुसार लकडाउन अघि दैनिक ७० जनाले निर्माण गरेपनि सोचे अनुसार प्रगति भएको छैन्। 'कामदार तत्काल ल्याउने अवस्था छैन। संक्रमण अवस्था न्यून हुँदै गएको अवस्थामा छठपछि निर्माण कार्यलाई गति दिने योजनामा छौं,' उनले भने।

गोदावरीस्थित गोदावरी फरेस्ट रिसोर्टले पनि संचालनको मिति पछि सारेको छ। अब सन् २०२२ देखि संचालनमा ल्याउने गरि काम अघि बढाएको होटलका उपाध्यक्ष मदनलाल जोशीले बताए। उनका अनुसार  संचालन मिति सर्नुका साथै लागत पनि २५ प्रतिशतले बढ्न सक्ने देखिएको छ। 'अब संचालनमा ल्याउने समयावधि नै डेढ वर्ष पर धकेलिएपछि बैंकको ब्याजदर पनि १५ प्रतिशतसम्म बढ्ने देखिएको छ। निर्माण सामाग्रीको मूल्य पनि १० देखि १५ प्रतिशत बढ्ने भएकाले होटलको लागत बढ्छ,' उनले भने।सिभिल कन्स्ट्रक्सनको काम सम्पन्न भइसकेको होटलको एमइपी (मेकानिकल इलेक्ट्रिकल प्लम्बिङ) काम भने बाँकी नै रहेको उनले जानकारी दिए।