नेपाली व्यापारीले विदेशबाट सामान मगाउन नजान्दा ढुवानी भाडा महँगो, यस्तो छ विज्ञको सुझाव

बिजमाण्डू
२०७७ कात्तिक ११ गते ११:२७ | Oct 27, 2020
नेपाली व्यापारीले विदेशबाट सामान मगाउन नजान्दा ढुवानी भाडा महँगो, यस्तो छ विज्ञको सुझाव


Tata
GBIME
Nepal Life

वीरगंज। भारत तथा तेस्रो मुलुकसँगको व्यापार तथा पारवाहनको ज्ञान नहुँदा नेपाली व्यापारीहरुले घाटा व्योहोर्दै आएका छन्। 

सही समयमा सही ज्ञान सीप लगाएर व्यवसाय गरिए व्यवसायमा लागत खर्च घट्ने उनीहरुको भनाइ छ। सिर्सिया सुक्खा बन्दरगाह भन्सार सञ्चालन गर्न ५ वर्षको ठेक्का लिएको ठेकेदार कम्पनीका प्रतिनिधिका अनुसार नेपाली आयातकर्ताहरुसँग तेस्रो मुलुकसँग गर्नुपर्ने व्यापारमा दक्ष जनशक्ति (प्रेफेसनल फ्रेट फरवार्डर)को अभाव देखिएको बताएका छन्।

ड्राइपोर्ट सञ्चालन गर्ने प्रिन्सिटाइन भ्याली प्रालिका स्ट्रेटजी प्रमुख आदित्य रोयका अनुसार नेपाली आयातकर्ताहरु एजेन्ट वा कम ज्ञान भएको लजिस्टिक प्रतिनिधिबाट मालसामान मगाउँदा बर्सेनि करोडौं घाटा व्योहोर्नु परेको बताए। उनले नेपाली आयातकर्ताहरु विशेषगरी सिआइएफ (कस्ट इन्सुरेन्स फ्रेट)बाट मालसमान मगाउने गरेका छन्।

यसले आयातकर्ताहरु निर्यातकर्ता र सिपिङलाइन कम्पनीको नियन्त्रणमा रहने गर्छन्। तर फ्री अन बोर्ड (एफओबी)बाट मालसमान मगाउँदा कम्तीमा २५ प्रतिशत विभिन्न शुल्क बचत गर्न सकिने उनको विश्लेषण छ। ‘सिआईएफबाट समान मगाउँदा जहाजबाट आउने समानको बीमा विदेशी कम्पनीले गर्छ, जहाज डुब्यो भने बीमाको रकम लिन झन्झट खेप्नु पर्छ, भाडा पनि सिपर (जहाज कम्पनीले) तय गर्छ।

त्यसैगरी, समान कुन समयमा आउँछ, कति दिनको विलम्ब शुल्क लिने हो सबै कुरा सिपिङलाइन कम्पनीको हातमा हुने भएकाले व्यवसायीले अरुको भर पर्नुपर्ने चलन छ। तर एफओबीबाट समान मगाउँदा जहाजको भाडा बार्गेनिङ गर्न सहज हुन्छ। बीमा नेपाली कम्पनीसँग गर्न कागजात तथा पैसा भुक्तानी लिन-दिन पनि सहज हुनेछ।

विलम्ब शुल्कमा पनि सिपिङलाइन कम्पनीसँग बार्गेनिङ गर्न सकिन्छ। यसरी, सिआइएफभन्दा एफओबी न्यून खर्चिलो प्रणाली हुने भएकाले यस विधिबाट नै समान मगाउँदा उत्तम हुने उनले सुझाए।