अप्टिकल फाइबर बिच्छ्याउने कामको अनुगमन तथा प्रमाणीकरण गर्न आठ कम्पनी सर्टलिस्टेड

बिजमाण्डू
२०७७ कात्तिक ११ गते १०:२८ | Oct 27, 2020
अप्टिकल फाइबर बिच्छ्याउने कामको अनुगमन तथा प्रमाणीकरण गर्न आठ कम्पनी सर्टलिस्टेड


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग अन्तर्गत प्याकेज २ र ३ मा अप्टिकल फाइबर बिछ्याउने कामको अनुगमन तथा प्रमाणीकरणका लागि आठ वटा स्वदेशी परामर्शदातालाई सर्टलिस्ट गरेको छ।

परामर्शदाताहरुले पेश गरेको आशयपत्रका आधारमा सर्टलिस्ट गरिएको प्राधिकरणले जनाएको छ। अप्टिकल फाइबर बिछ्याउने काम ग्रामीण दूरसञ्चार विकास कोषमार्फत भइरहेको छ।

यो परियोजनाका कामको अनुगमन तथा प्रमाणीकरणका लागि प्राधिकरणले गत वैशाख ८ गते बोलपत्र आह्वान गरेको थियो। प्याकेज-२ अन्तर्गत गण्डकी र लुम्बिनी प्रदेश साथै प्याकेज-३ मा कर्णाली र सुदूरपश्चिम प्रदेश रहेका छन्। 

दूरसञ्चार सेवा प्रदायक युटीएल र सरकारबीचको मुद्दा किनारा नलाग्दा प्याकेज-२ मा सूचना महामार्गको काम अलपत्र परिरहेको छ। यी दुई प्रदेशमा सूचना महामार्ग स्थापनाको काम सर्वोच्च अदालतको २०७६ वैशाखको अन्तरिम आदेशपछि नै रोकिएको छ। दुई वर्षको सम्झौता अवधिमा मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्गको काम ‍सन्तोषजनक नभएको भन्दै प्राधिकरणले युटीएललाई दिएको समय नथप्ने निर्णय २०७६ वैशाखमा गरेको थियो। प्राधिकरणको उक्त निर्णय बदर गराउन युटीएलले सर्वोच्च अदालत पुगेको थियो। 

रिट निवेदनको टुंगो नलागेसम्म सम्झौता अवधि थप नगर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले २०७६ वैशाखमै अन्तरिम आदेश जारी गरेको थियो। मुद्दा नटुंगिदा यी दुवै प्रदेशमा कसले र कहिलेबाट काम गर्ने हो भन्ने अन्योलका बीच प्राधिकरणले अप्टिकल फाइबर बिछ्याउने कामको अनुगमन तथा प्रमाणीकरणका लागि ठेक्का प्रक्रिया भने जारी राखेको छ। 

यस्तै, प्याकेज-३ मा अप्टिकल फाइबर बिछ्याउनेदेखि अन्य पूर्वाधार निर्माणको काम सरकारी स्वामित्वको नेपाल टेलिकमले गरिरहेको छ। तीन वर्षअघि स्मार्ट टेलिकमलाई ठेक्का दिइएको भएपनि समयमै काम नगरेको भन्दै प्राधिकरणले ठेक्का तोडेर गत वर्ष नेपाल टेलिकमसँग नयाँ सम्झौता गरेको थियो। अहिले यो प्याकेजको काम धमाधम भइरहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार सीआइएस-स्मार्ट जेभी,जीओकम इन्टरनेशनल.इन्क्लुसिभ-एभरेष्ट-माइक्रोटेक जेभी,  एक्जिक्युटिभ कन्सल्टिङ इन्जिनियरिङ एण्ड प्लानर,ट्यान्जेन्ट कन्सल्टेन्ट ग्रुप एसआइइसी-सीआइएस जेभी, एम-इच ग्रुप अफ टेक्नोलोजी र महाकाली मेची टेक्नोलोजिज एण्ड सप्लायर्स सर्ट लिस्ट भएका हुन्।