इन्टरनेट ग्राहकका लागि खल्लो दसैं, आइएसपीहरुले ल्याएनन् आकर्षक फेस्टिभ अफर

बिजमाण्डू
२०७७ कात्तिक ९ गते ११:२३ | Oct 25, 2020
इन्टरनेट ग्राहकका लागि खल्लो दसैं, आइएसपीहरुले ल्याएनन् आकर्षक फेस्टिभ अफर


Tata
GBIME
Nepal Life

काठमाडौं। इन्टरनेट सेवा प्रदायकहरुले यो वर्ष दसैंतिहार लगायतका चाडबाड लक्षित प्याकेज ल्याएका छैनन्। यसअघिका वर्षहरुमा आकर्षक अफरको ओइरो ल्याउने आइएसपीहरुलाई यो वर्ष केही पनि ल्याएनन्।

यो वर्ष कोरोना जोखिमका कारण चाडपर्वको रौनक नदेखिएको भन्दै आइएसपीहरुले फेस्टिभ अफर ल्याउन जोडबल नगरेको देखिन्छ। अघिल्लो वर्षको दसैंमा आइएसपीहरुले नयाँ साथै पुराना ग्राहकलाई लक्षित गर्दै आइपी टिभीसहित एलइडी टिभी सेट, नगद छुटलगायतका अन्य पुरस्कारहरुको स्कीम ल्याएका थिए।

तर, आइएसपीहरुले अघिल्लो वर्षहरुको जस्तो आकर्षक अफर यो वर्ष भने ल्याएका छैनन्। अफर घोषणा गरेका केही आइएसपीले पनि सामान्य प्रकृतिका अफरहरु ल्याएको देखिन्छ। क्लासिक टेक र भायनेटबाहेक अन्य कुनै पनि नाम चलेका आइएसपीहरुले चाडवाड लक्षित अफर ल्याएको देखिँदैन। वर्ल्डलिंक, सुबिसु, एनटीसी, डिसहोम,मर्कन्टाइल, हन्सलगायतका आएसपीहरुले अफर घोषणा गरेका छैनन्।

कोरोना महाव्याधिका कारण नै यस वर्ष आकर्षक फेस्टिभ अफर नल्याएको अधिकांश आइएसपीहरुले बताएका छन्। आफ्ना धेरै प्राविधिक/कर्मचारीहरुमा कोभिड-१९ संक्रमण देखिएको र आइसोलेसनमा रहेका कारण केबल/फाइबर इन्टरनेट ग्राहकहरुका लागि आकर्षक प्याकेज तयार गर्न नसकेको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए।

'चाडवाडलाई लक्षित गरेर अझै बढी अफरहरु घोषणा गर्ने योजना बनाएका थियौं तर संक्रमणले टेलिकमका दक्ष जनशक्तिलाई छोएपछि थप अफरहरु घोषणा गर्न सकेनौं,' जोशीले भने। 

यस्तै, कोरोना महाव्याधिले निम्त्याएको विषम परिस्थितिका कारण यस वर्ष आकर्षक अफर नल्याएको वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवले बताए। 'स्वास्थ्य नै अहिलेको मुख्य विषय बनेको छ, चाडवाडको रौनक र उत्साह कम भएकाले फेस्टिभ अफर नल्याइएको हो,' उनले भने।  

नयाँ ग्राहकको चाप घट्नु साथै कम्पनीहरुको क्यास फ्लो अझै सहज बन्न नसकेकाले आइएसपीहरुले फेस्टिभ अफरहरु ल्याउन उपयुक्त नठानेको देखिन्छ।

क्लासिक टेकले १२ सय रुपैयाँमै ३० एमबीपीएस इन्टरनेटसहित आइपी टिभी (सेटअप बक्स समेत) को अफर ल्याएको जनाएको छ। कम्पनीले यसअघि यही मूल्य हाराहारीमा यो सेवा दिइरहेको थियो।

यस्तै,भायनेटले आफ्नो पुराना इन्टरनेट प्रयोगकर्तालाई मात्रै लक्षित गरेर क्यासब्याक सुविधा दिने योजना ल्याएको छ। विद्युतीय भुक्तानी माध्यम इसेवाबाट इन्टरनेटको नवीकरण शुल्क तिरेमा ग्राहकले २% क्यासब्याक पाउने कम्पनीले जनाएको छ। इसेवामार्फत् बिल भुक्तानी गर्दा कुपन कोड “VIAESEWA”प्रयोग गरी क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। भायनेटले यो अफर कात्तिक १ देखि ११ गतेसम्म मात्रै लागू हुने जनाएको छ। ग्राहकले यो सुविधा एक पटक मात्रै उपभोग गर्न सक्ने पनि कम्पनीले जनाएको छ।

दूरसञ्चार सेवा प्रदायकले ल्याए बोनसदेखि आकर्षक उपहारको स्कीम

सरकारी स्वामित्वको नेपाल टेलिकमले दसैं, तिहार र छठलाई लक्षित गर्दै मोबाइल रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसको फेस्टिभल अफर ल्याएको जनाएको छ।

रिचार्ज कार्डबाट५० रुपैयाँ वा एमपोसबाट २० देखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी पाँच मिनेट बोनस प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ। रिचार्ज कार्डबाट एक सय रुपैयाँ वा एमपोसबाट ५१ देखि एक सय रुपैयाँ रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी १० मिनेट बोनस पाउन सकिने टेलिकमका प्रवक्ता राजेश जोशीले बताए।

रिचार्ज कार्डबाट दुई सय रुपैयाँ वा एमपोसबाट एक सय एकदेखि दुई सय रुपैयाँ रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट बोनस पाउन सकिने टेलिकमले जनाएको छ। यस्तै,एमपोसबाट दुई सय एकदेखि चार सय ९९ रुपैयाँ रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस पाउन सकिने टेलिकमले जनाएको छ।

रिचार्ज कार्डबाट पाँच सय रुपैयाँ वा एमपोसबाट पाँच सयदेखि नौ सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुने टेलिकमले जनाएको छ। साथै, रिचार्ज कार्डबाट एक हजार रुपैयाँ वा एमपोसबाट एक हजार रुपैयाँ वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी एक सय मिनेट बोनसको अफर रहेको टेलिकमले जनाएको छ। टेलिकमले फेस्टिभल अफर दसैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म र तिहारदेखि छठ पर्वसम्म लागू हुने विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, एनसेलले चाडवाड लक्षित 'कुरै कुरामा उपहार' नामक अफर ल्याएको छ। उक्त अफरमा सहभागी भएर एनसेल प्रयोगकर्ताले दैनिक, साप्ताहिक र अन्य उपहारहरु प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ। दैनिक प्रयोग हुने कल टालमका आधारमा बोनस टकटाइम पाउन सकिने एनसेलले जनाएको छ।

एनसेलले दैनिक उपहारस्वरुप दुई सय रुपैयाँ बोनस दिने जनाएको छ। दिनमा धेरै समय कलटाइम प्रयोग गर्ने पहिलो सात सय ग्राहकले(हरेक प्रदेशबाट धेरै कल गर्ने एक सयजना ग्राहक) दुई सय रुपैयाँ बोनस ब्यालेन्स पाउने एनसेलले जनाएको छ। उक्त बोनस ब्यालेन्स एनसेल नेटवर्क भित्र १५ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। बोनस ब्यालेन्स प्रयोग गरी हुने कल पनि उपहारका लागि योग्य हुने बताइएको छ।

यस्तै, साप्ताहिक उपहारस्वरुप धेरै कल गर्ने शीर्ष सात (हरेक प्रदेशबाट एक जना) ग्राहकले सामसङ ग्यालेक्सी एम ०१ एसस्मार्टफोन पाउने एनसेलले जनाएको छ। एनसेलले आठ हप्ताको अवधिमा धेरै कल गर्ने शीर्ष दुई जनालाई सामसङ ग्यालेक्सी नोट २० स्मार्टफोन पाउने जनाएको छ। एनसेलबाट अन्य सेवा प्रदायकको नम्बरमा गरिने टकटाइम पनि उपहारका लागि गणना हुने बताइएको छ। एनसेलको फेस्टिभल अफर असोज १८ देखि मंसिर १३ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ।