कोरोनाले काठमाडौंका धेरै रेष्टुरेन्ट बन्द, तर एलिस, त्रिशारा, रोड हाउस र किङ्स लाउन्ज खुल्ने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ कात्तिक ८ गते १४:१८ | Oct 24, 2020
कोरोनाले काठमाडौंका धेरै रेष्टुरेन्ट बन्द, तर एलिस, त्रिशारा, रोड हाउस र किङ्स लाउन्ज खुल्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। दसैंमा प्राय: काठमाडौं सुनसान हुने गर्छ। सप्तमीदेखि दशमीसम्म उपत्यकाका अधिकांश पसल तथा रेष्टुरेन्ट समेत बन्द हुन्छन्। अझ यो वर्ष कोरोनाका कारण धेरै पसल र रेष्टुरेन्ट बन्द भएका छन्।

तर यो असहज अवस्थामा पनि उपत्यकाका केही रेष्टुरेन्ट भने खुला रहनेछन्। स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ती रेष्टुरेन्टले सेवा दिने भएका छन्।त्रिशाराले दसैंको अवधिमा रेष्टुरेन्ट खुला गर्ने भएको छ। त्रिशाराको लाजिम्पाट र दरबारमार्गमा आउटलेट छ। रेष्टुरेन्टका संचालक शोभनवीर मालाकारले दसैंको सबै दिन दुबै आउटलेट संचालनमा आउने जानकारी दिए। विगत तीन वर्षदेखि दसैं र तिहारमा यो रेष्टुरेन्ट खुला छ।

'कोभिड-१९का कारण यो वर्ष निकै लामो समय सम्म व्यवसाय नै प्रभावित भएको छ। यो लामो अवधिमा घर गएका केही कर्मचारीहरु काठमाडौं फर्किसकेका छन्। विदामा पनि सेवा प्रवाह गर्न उनीहरु तयार छन्' उनले बिजमाण्डूसँग भने, ‘विदामा परिवारको साथ घर वाहिर गएर खाने चाहना हुन्छ। त्यही चाहनालाई मध्यनजर गर्दै दसैंमा खुला गर्न लागेका हौं।’

दरबारमार्ग र गैह्रिधारामा आउटलेट रहेको एलिस रेष्टुरेन्ट टिकाको दिन वाहेक सबै दिन खुला रहने संचालक नकुल शेरचनले बताए। उनका अनुसार रेष्टुरेन्टमै आएर खान आउने र टेकवे दुबै खुला हुनेछ। यो वाहेक फूडमाण्डू, भोज डिल्स र फूड बस्टरमार्फत अर्डर गरेर घरमै एलिसको परिकार खान सकिने उनले बताए। दरबारमार्गमै रहेको किङ्स लाउन्जले पनि दसैं अवधिभर सेवा दिने भएको छ।

मनोरञ्जन गर्न चाहने र नियमित ग्राहकको मागलाई मध्यनजर गर्दे किङ्सले यो वर्ष पनि निरन्तर सेवा दिन लागेको जनाएको छ। रेष्टुरेण्टमा प्राय: सन्ध्याकालिन समयमा ग्राहकको चहलपहल हुने एक कर्मचारीले बताए।रोड हाउस क्याफेले दसैं विदामा पनि सेवा निरन्तर दिने जनाएको छ।पुरानो भाटभटेनी, ठमेल, झम्सिखेल, बौद्ध, दरबारमार्ग लगायत विभिन्न क्षेत्रमा रहेका आउटलेट टिकाको दिन बाहेक दिउँसो १२:०० बजेदेखि राती ८:०० बजेसम्म खुला रहनेछ।

उनका अनुसार टिकाको दिन भने रेष्टुरेण्ट दिउँसो २:०० बजेदेखि राती ८:०० बजेसम्म खुला रहनेछ। 'ग्राहक सेवाको मागलाई मध्यनजर गर्दै हामीले विगत वर्ष झैं यो वर्ष पनि नियमित सेवा दिन लागेका हौं। कोभिड-१९ले रेष्टुरेण्ट क्षेत्र प्रभावित भएपनि सर्भाइभल र कर्मचारीको फाइदाका लागि सेवा निरन्तर अगाडि बढाएका छौं।'

रोड हाउस क्याफेका एक संचालकले भने । कोभिड-१९का कारण विदेशी पर्यटकको आगमन शुन्य भएका कारण यतिखेर ठमेल, बौद्ध, झम्सिखेल लगायत पर्यटकीय क्षेत्रका रेष्टुरेण्ट विगतका वर्ष झैं संचालनमा आउन नसकेको व्यवसायीले बताएका छन्।

विगत वर्षहरुमा दसैको विदामा पनि सेवा प्रवाह गर्दै आएका रेष्टुरेण्टले यो वर्ष सेवा नदिने भएका छन्। बिहीबार सम्म खुला रहेको दरबारमार्ग स्थित ओपियमले यो वर्ष दसैंपछि मात्र संचालन हुने भएको छ। शुक्रबारदेखि बन्द गरिएको रेष्टुरेण्ट आउँदो साता देखि पुनः संचालनमा आउने प्रवन्धक रेवन्तकुमार क्षेत्रीले बताए।

'गत वर्ष हामीले दशैंको विदामा पनि सेवा प्रवाह गर्दै आएका थियौं। यो वर्ष अवस्गथा परिवेशले साथ दिएन, ' प्रवन्धक क्षेत्रीले भने। झम्सिखेलस्थित इभोक क्याफे एण्ड बिस्ट्रोले शनिबारसम्म सेवा दिने भएको छ। तीन दिन (नवमी देखि टिकाको भोलिपल्ट) सम्म बन्द पछि पुनः सेवा सुचारु गर्ने योजना रहेको फुड एण्ड बेभरेज विभागका प्रवन्धक दिपक गोलेले बताए। 'हामीले भोलिसम्म सेवा प्रवाह गर्नेछौँ। आइतबार देखि मंगलबारसम्म बन्द गरिएको सेवा प्रवाह संचालनमा ल्याउनेछौं,’ उनले भने।

एण्डिजले शनिबारदेखि चार दिनका लागि आफ्नो रेष्टुरेण्ट बन्द गर्ने जनाएको छ। रेष्टुरेण्ट सेवा बन्द भएपनि कम्पनीले बेकरी प्रोडक्ट आउटलेट भने खुला नै राख्ने संचालक अरनिको राजभण्डारीले बताए।'अधिकांश कर्मचारीहरु सबै घर गइसकेका छन्। थोरै जनशक्ति राखेर सेवा प्रवाह गर्ने योजना त बनाएका थियौँ। तर कर्मचारीसँगको समन्वय अनुसार चार दिनको लागि रेष्टुरेण्ट सेवा बन्द गर्न लागेका हौं,' संचालक राजभण्डारीले भने।