भारतमा राहतमा बाँडिएको रासनको चामल नेपाल आउँदा भयो सस्तो, मसिनो चामल मात्र महँगो

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७७ कात्तिक ८ गते ०८:०४ | Oct 24, 2020
भारतमा राहतमा बाँडिएको रासनको चामल नेपाल आउँदा भयो सस्तो, मसिनो चामल मात्र महँगो

Tata
GBIME
Nepal Life

विराटनगर। भारत सरकारले त्यहाँका निरपेक्ष गरीबीको रेखामुनि रहेका जनतालाई वितरण गरेको चामल नेपाल भित्रिएपछि नेपालमा चामलको मूल्य घटेको छ।

भारत सरकारले कोभिड सङ्क्रमणयता ३ महिनायता आफ्नो देशका ८० करोडभन्दा बढी जनतालाई प्रति किलोग्राम १ रुपैयाँका दरले एक जनालाई महिनामा १० किलोका हिसाबले रासनको चामल वितरण गर्न थालेको छ। तर आधाभन्दा बढी जनसङ्ख्याले उक्त चामल स्थानीय पसलेलाई विक्री गर्दछन् । त्यही चामल सङ्कलन भएर निर्यातको अवस्थासम्म आइपुगेको हो।

नेपालका सबैजसो चामलका आयातकर्ता अहिले त्यही चामल ल्याउन पल्किएका छन्।‘रासनको चामल सोना ग्रेडको हल्का मोटा हुन्छ’, चामल उद्योगी सुधीर तोदीले भने, ‘यो चामल भारतको बजारमा प्रति किलो २० रुपैयाँमा पाइन्छ। नेपालका पैठारीकर्ताले ल्याएर प्रति किलो ३३ रुपैयाँमा विक्री गरिरहेका छन्।’

भारत सरकारले आफ्ना गरिब जनतालाई वितरण गरेको रासनको चामल विराटनगर, वीरगञ्ज र भैरहवाजस्ता मुख्य भन्सारबाट नियमित रूपमा भित्रिरहेको तोदीले बताए। ‘रासनको चामल प्रशस्त भित्रिएका कारण जिरा मसिनो चामलको मूल्य र विक्रीमा असर परेको छ’, राधाकृष्ण राइस मिलका सञ्चालक तोदीको भनाइ छ, ‘सोना चामल नेपालमा प्रशस्त भित्रिएपछि जिरा मसिनो खरिद गर्ने पनि सोनामा पल्किए। गत वर्ष भारतमा जिरा मसिनोको उत्पादन पनि प्रशस्त थियो । यसका कारण अहिले यो चामलको मूल्य गत वर्षको यति बेलाकै बराबरमा छ।’

उनले गत वर्ष यति बेला प्रति किलो ५६ रुपैयाँमा जिरा मसिनो चामल विक्री गरेको र यस वर्ष पनि यही भाउमा विक्री भइरहेको जानकारी दिए।
‘हामीले धान खरिद गरेर ९ महिनासम्म गोदाममा राख्यौँ’, उनको दुखेसो थियो, ‘त्यसको सुक्तीमा घाटा भयो । गोदाम भाडा, श्रमिकको खर्च र ब्याज सबै लाग्यो। अहिले विक्री हुने बेलामा घटेर बेच्नु पर्यो।’

तोदीले चामल र धानको पैठारी गर्दा भन्सार कार्यालयमा लाग्ने कृषि सुधार शुल्कको अन्तर कम भएका कारणले चामलको बढी आयात हुँदा नेपालका राइस मिलहरू सङ्कटमा परेको दाबी गरे। नेपाल सरकारले चामलको पैठारी गर्दा कृषि सुधार शुल्क ९ प्रतिशत र धानको पैठारीमा ५ प्रतिशत तोकेको छ। चामल र धानमा कृषि सुधार शुल्कको फरक ४ प्रतिशत मात्र हुँदा चामल ल्याएर प्याकिङ गरेर विक्री गर्दा नै व्यवसायीलाई बढी फाइदा भएको पाइएको छ। चन्द्रशिव राइस मिल्सका सञ्चालक नरेश राठीले आयातीत चामलका कारणले नेपालका चामल उद्योगहरू ५० प्रीतशत क्षमतामा मात्र सञ्चालन भइरहेको उल्लेख गरे।

उनले भने, ‘भारतमा उत्पादन लागत सस्तो पर्छ । त्यसैले यहाँ धान ल्याएर उत्पादन गर्नुभन्दा त्यहीँ उत्पादित चामल पैठारी गर्दा सस्तो र फाइदाकारक हुन्छ ।’ विराटनगर नाकाबाट गत आर्थिक वर्ष २०७६–०७७ मा भारतबाट १ अर्ब ३८ करोड मूल्यको ३० हजार ८ सय ९८ किलो चामलको पैठारी भएको छ। त्यस्तै चालु आर्थिक वर्षको साउन र भदौ गरी २ महिनामा ५३ करोड ६ लाख मूल्यको १२ हजार ९ सय ३० टन चामल भित्रिसकेको छ।

त्यस्तै भारतबाट धानको पैठारी गत आर्थिक वर्षमा १ अर्ब ३३ करोड ३२ लाख मूल्यको ३८ हजार ४ सय ५२ टन भएको छ। चालु आवको साउन र भदौ गरी २ महिनामा २२ करोड २ लाख मूल्यको ७ हजार ६ सय १२ टन धान आयात गरिएको छ।अर्का चामल व्यवसायी राजेन्द्र अग्रवाल सिङ्गापुरीका अनुसार सस्तो चामलको मूल्य घटेको भए पनि बिलासी उपभोक्ताले प्रयोग गर्ने बास्मती र लङ ग्रेन जातका चामलको मूल्य घटेको छैन।

व्यवसायी सिङ्गापुरीले मसिनो चामलको मूल्य प्रति किलो ९० बाट सुरु हुने र १ सय ६० सम्म पर्ने बताए । उनले यस्तो चामल गत वर्षभन्दा अहिले प्रति किलोग्राम ५ देखि १५ रुपैयाँसम्मले वृद्धि भएको दाबी गरे।‘मसिनो चामल भनेको ‘एक्स्पोर्ट आइटम’ हो’, उनले भने, ‘मसिनो चामलको माग युरोप, अमेरिका, बेलायत र खाडीका सबै धनी र विकसित मुलुकमा पर्याप्त छ । त्यसैले यसको मूल्य घटेको छैन।’

गोल्छा अर्गनाइजेसनअन्तर्गतको भूदेव खाद्य उद्योगका सञ्चालक सुरेन्द्र गोल्छाले कोभिड–१९ को विश्वव्यापी महामारीका कारण पर्यटकको आगमन ठप्प भएको हुँदा मसिनो र बास्मती चामलको विक्रीमा ह्रास आएको जानकारी दिए। गोल्छाले भने, ‘नेपालमा अफ सिजनमा पनि सबैतिर मिलाएर कम्तीमा ५० हजार पर्यटक घुमिरहेका हुन्थे। मुख्य सिजनमा त १ लाखभन्दा बढीकै सङ्खामा हुन्थे। उनीहरूले उपभोग गर्ने भनेको मसिनो जातको बास्मती र लङ ग्रेन राइस नै हो। तर यतिका मानिस देशमा नभएपछि अधिक मूल्यको चामलको विक्रीमा ह्रास आएको हो।’

गोल्छाका अनुसार नेपालमा धेरै पर्यटक भारतका हुने र उनीहरूले एक छाक भात नै खाने भएकाले मसिनो जातको महँगो चामलको बजार नेपालमा राम्रो छ। उद्यमी सुरेन्द्रले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, सिँचाइ, मल र बीउको सहज आपूर्ति र व्यवस्था नहुन्जेल नेपाल धान र चामलमा परनिर्भर हुनुपर्ने बताए।