कोरोनाले बिक्री घटेको बेला कतिमा पाइन्छ जग्गा? काठमाडौंभित्र यी ठाउँमा पर्छ आनाको १० लाख मात्रै

बिजमाण्डू
२०७७ कात्तिक ८ गते ०७:४३ | Oct 24, 2020
कोरोनाले बिक्री घटेको बेला कतिमा पाइन्छ जग्गा? काठमाडौंभित्र यी ठाउँमा पर्छ आनाको १० लाख मात्रै


काठमाडौं। कोभिड-१९ का कारण पछिल्लो समय घरजग्गा कारोबार र बजार चहलपहल घटेको छ । यसले बैंक कर्जा वा ऋण काढेर जग्गा विकास तथा किनबेचकै काम गर्ने व्यवसायीहरुलाई केही अफ्ठ्यारो भएकाले घरजग्गाको मूल्य घट्ने धेरैको अनुमान थियो ।

Tata
GBIME
Nepal Life

तर गत चैतयताको समग्र घरजग्गा कारोबारमा कमी आएको भए पनि मूल्य भने आम अपेक्षाअनुसार नघटेको पाइएको छ ।

जग्गा बेच्नुपर्ने मान्छे समस्यामै परेर बेच्नुपर्दा बाहेक दलालमार्फत हुने कारोबारमा अहिले पनि जग्गाको मूल्य कोरोना प्रभाव र लकडाउनअघकै जस्तो छ। यतिबेला किन्ने मान्छेले सस्तो जग्गा नपाएर किन्न सकेको छैन भने बेच्नेले पनि सस्तैमा दिँदा समेत बीचमा दलालले धेरै मार्जिन राखेपछि किनबेच हुन सकेको छैन । 

कोभिड-१९ ले आय प्रभावित र आगामी दिनमा समेत अनिश्चित रहेकाले जग्गा आवश्यक नै भएका व्यक्तिले समेत सस्तो मूल्यमा पाए किन्ने मनशाय बनाएका छन् । तर दलालले चर्को मार्जिन राख्दा त्यस्ता खरीदकर्ता पनि फेला पार्न सकेका छैनन्।

यसका बाबजुद काठमाडौं उपत्यकाभित्रै कम बजेटमा जग्गा जोड्न खोजिरहेका व्यक्तिका लागि भने केही यस्ता ठाउँ पनि छन् जहाँ ९/१० लाख रुपैयाँदेखिका घडेरी किन्न पाइन्छन्। तर यो मूल्यको हाराहारीमा जग्गा पाउन भने खरीदकर्ता दलालको भर नपरी आफैं खोज्न खट्नुपर्ने हुन्छ। 

उपत्यकाको यी ठाउँमा पाइन्छ आनाको १० लाखमा जग्गा
काठमाडौंमा अहिले सुन्दरीजल, साँखु, झोर महाँकाल, गोलढुंगा, काभ्रेस्थली, रामकोट, थानकोट, मातातीर्थ, मच्छेगाउँ र चाल्नाखेलमा प्रतिआना १० लाख रुपैयाँसम्मका जग्गा पाउन सकिन्छ । मुख्य सडकबाट २ किलोमिटरभित्र २० फिटे बाटोमा यी ठाउँमा यो मूल्यमा जग्गा पाइन्छ । 

यीमध्ये सुन्दरीजल, साँखु र गोलढुंगा क्षेत्रमा ९ लाख रुपैयाँ प्रतिआनामै पनि घडेरी पाइने जग्गा व्यावसायी राम कुँवर आलेले बताए।

त्यसैगरी, ललितपुरमा खोकना, बुङमती, चापागाउँ, गोदावरी, हरिसिद्धी र लामाबगरमा पनि आनाको १० लाख रुपैयाँसम्ममा घडेरी जग्गा किन्न सकिने व्यवसायीले बताएका छन् । २० फिटे बाटो कायम भएका यी ठाउँमा पनि दक्षिण दिशातर्फ अलिक भित्र ८/९ लाख रुपैयाँ प्रतिआनासम्मका घडेरी किन्न पाइने उनीहरुको भनाइ छ।

यसैगरी भक्तपुरको दुवाकोट, दधिकोट, ताथली, सुडाल, चाँगुनारायण, सिपाडोल, जगाती र सानोठिमी क्षेत्रमा पनि प्रतिआना १० लाख रुपैयाँ सम्ममा जग्गा पाउने स्थानीय व्यवसायी कृष्णकुमार बमले जानकारी दिए।

अहिले उपत्यकाको काठ क्षेत्रमा जग्गाको औसत मूल्य १० देखि १२ लाख रुपैयाँ आनासम्म पुगिसकेको छ। तर यिनै ठाउँमा ३/४ वर्ष अघिसम्म भने प्रतिआना ४ देखि ५ लाख रुपैयाँसम्ममा जग्गा किन्न पाइन्थ्यो। 

उपत्यकाभित्र अन्यत्रभन्दा सस्तोमा जग्गा पाइने यी ठाउँमा लगातार कारोबार बढ्न थालेपछि जग्गाको मूल्य पनि दिन प्रतिदिन बढेको हो। 
मालपोत कार्यालयको तथ्यांकले पनि यी ठाउँमा एउटै जग्गा धेरैपटक किनबेच भएको देखाउँछ। जसले गर्दा तीन वर्षमै उक्त ठाउँहरुको जग्गाको मूल्य तेब्बरसम्मले बढेको पाइएको छ।

आनाको १५ लाखमा जग्गा पाइने ठाउँ
माथि उल्लेख गरिएका ठाउँमा पनि मुख्य राजमार्गमा भने प्रतिआना १५ लाख रुपैयाँ घटी जग्गा पाउन छाडिसकेको छ। यी ठाउँ जत्तिकै टाढा भएपनि बुढानिलकण्ठ क्षेत्रमा २० फिटे बाटोमा प्रतिआना १५ लाख रुपैयाँ घटि जग्गा पाउन सकिँदैन।

त्यसैगरी मुलपानी, कपन, धापासी, मनमैजु, सितापाइला, सतुङ्गल, कीर्तिपुर, चोभार, भैंसीपाटी, थैब, टिकाथली, बालकोट, लोकन्थली, सल्लाघारी र ठिमीमा अझै पनि प्रतिआना १५ लाख रुपैयाँ हाराहारीमा जग्गा पाउन सकिने व्यावसायीहरुले बताएका छन्।

यी ठाउँमा ३/४ वर्ष अघिसम्म भने आनाको ८ देखि १० लाख रुपैयाँमै जग्गा किन्न सकिन्थ्यो। काठ क्षेत्रको तुलनमा भने यी ठाउँमा जग्गाको मूल्यवृद्धि कम देखिन्छ।

उपत्यकामा जहाँ आनाको २० देखि २५ लाखमा जग्गा पाइन्छ
चक्रपथभित्र आनाको २०-२५ लाख रुपैयाँको दरले जग्गा पाउन मुस्किल भइसकेको छ । तर चक्रपथबाहिर भने यसको वरिपरि अहिले पनि यो मूल्यमा जग्गा पाउन सकिन्छ। 

बाटोको उपलब्धता र राजमार्गको अवस्था हेरी चक्रपथबाट १/२ किलोमिटरबाहिर आनाको २० देखि २५ लाख रुपैयाँसम्मका घडेरी किन्न सकिन्छ। तर मुख्य राजमार्गसँग जोडिएका जग्गाको भने काठ क्षेत्रमै पनि २०/२५ लाख रुपैयाँ मूल्य पर्न थालिसकेको स्थानीय जग्गा व्यवसायी समर्पण श्रेष्ठले बताए।

काठमाडौं प्रवेश गर्ने मध्यम आय वर्गको आर्थिक हैसियत अनुसार जग्गा खरीदका लागि अचेल पहिलो रोजाइ काँठ क्षेत्र हुने गरेको छ । यसकारण पनि काठ क्षेत्रमा संख्यात्मक रुपमा धेरै घरजग्गा किनबेच हुने गरेको मालपोत कार्यालयहरुको आँकडाले देखाउँछ ।

यसकारण यहाँको मूल्य पछिल्लो तीन वर्षमै तीन गुणासम्मले बढिसकेको छ। तर चक्रपथ आसपासमा भने कारोबार नै कम हुने हुँदा तुलनात्मक रुपमा जग्गाको मूल्य वृद्धि पनि कम भएको देखिन्छ । 

चक्रपथ आसपासमा एक चरणको मूल्य बढिसकेपछि धेरै किनबेच नहुँदा जग्गाको मूल्य वृद्धिको चक्र पनि केही सुस्त भएको व्यवसायीहरु बताउँछन्। 

यी ठाउँमा वर्षेनी हुने जग्गा कारोबार संख्या तुलनात्मक रुपमा कम छ । चक्रपथभित्र महँगो क्षेत्रका रुपमा दरिएका धेरै स्थानहरुको घरजग्गा किनबेच डिल्लीबजार मालपोत कार्यालय अन्तर्गत हुन्छ । यस मालपोत कार्यालयले मासिक दुईदेखि तीन सयसम्म मात्रै घरजग्गा किनबेच गराउँछ। 

यसको तुलनामा काठ क्षेत्रका मालपोत कार्यालयबाट भने महिनामै एक हजारको हाराहारीमा घरजग्गा किनबेच हुने गरेको छ ।