परिवर्त्य विदेशी मुद्राको स्रोत प्रशोधित छालाको निकासी सुक्दै, सरकारले इन्सेन्टिभको रकम दिएन

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७७ कात्तिक ७ गते १०:१० | Oct 23, 2020
परिवर्त्य विदेशी मुद्राको स्रोत प्रशोधित छालाको निकासी सुक्दै, सरकारले इन्सेन्टिभको रकम दिएन


Tata
GBIME
Nepal Life

विराटनगर। छालाको कारोबारमा आएको अन्तर्राष्ट्रिय मन्दीसँगै कोरोनाको महामारीले छालाको निकासीमा ठूलो गिरावट आएको छ।

विराटनगर नाकाबाट एसियन लेदर इन्डस्ट्री, नेपाल ट्यानिङ इन्डस्ट्री र युनाइटेड लेदर गरी तीन वटा छाला उद्योगले भारत र समुद्रपारका मुलुकमा छालाको निकासी गरिरहेका छन्। विराटनगर भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७६/७७ मा यस नाकाबाट १० करोड ९१ लाख १३ हजार ५ सय ६९ रुपैयाँको २३ लाख ४९ हजार ६ सय ४० वर्ग फिट छाला निकासी भएको छ।

उक्त तथ्यांक परिमाण र मूल्यका दृष्टिले अघिल्ला आर्थिक वर्षभन्दा धेरै कमजोर देखिन्छ। गत आर्थिक वर्षमा नेपालका छालाका निर्यातकर्ताले भनेजति परिमाणमा निकासी गर्न त पाएनन् नै, छालाको मूल्य पनि अत्यन्त कम पाएका छन्। गत आर्थिक वर्षमा विराटनगर नाकाबाट प्रति वर्ग फिट ४६ रुपैयाँ ४४ पैसाका दरले छालाको निकासी गरिएको तथ्यांक भन्सार कार्यालयले दिएको छ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा भने निर्यातकर्ताले थोरै राम्रो मूल्य पाएका थिए। उक्त आवमा प्रति वर्ग फिट ४९ रुपैयाँ ७७ पैसाका दरले निकासी गरिएको थियो। कार्यालयका अनुसार उक्त आवमा २८ करोड ७८ लाख २८ हजार ९ सय ४७ रुपैयाँ मूल्यको ५७ लाख ८३ हजार १० वर्गफिट छाला निकासी गरिएको कार्यालयले जनाएको छ।

आर्थिक वर्ष २०७४/७५ भने छालाका निकासीकर्ताका लागि स्वर्णिम वर्ष भएको देखिएको छ। यस आर्थिक वर्षमा निर्यातकर्ताले प्रति वर्गफिट छालाको ७३ रुपैयाँ २० पैसा पाएका छन्। उक्त आवमा ३७ करोड ६१ लाख १५ हजार मूल्यको ५१ लाख ३८ हजार १ सय १९ वर्गफिट छाला निकासी भएको तथ्यांक कार्यालयले उपलब्ध गराएको छ।

त्यस्तै आर्थिक वर्ष २०७३/०७४ मा ५२ करोड ३८ लाख २३ हजार मूल्यको ७२ लाख ३२ हजार ५ सय ३ वर्गफिट छाला निर्यात गरिएको छ। चालु आवमा निर्यातकर्ताले प्रति वर्गफिट ७२ रुपैयाँ ४३ पैसा पाएका छन्। नेपालबाट भारत, चीन, इटली, फ्रान्स, टर्की, ल्याटिन अमेरिका लगायतका देशमा प्रशोधित छालाको निकासी गरिन्छ।

एसियन लेदर इन्डस्ट्रिजका सञ्चालक हसन अन्सारीका अनुसार छालाको व्यवसायमा विश्वव्यापी मन्दी आएको छ। भारतमा छालाको सबैभन्दा ठूलो ‘हब’ कानपुर हो। इलाहावादमा गत वर्ष भएको महाकुम्भमा प्रदूषण फैलने भन्दै कानपुरका छालाका उद्योगलाई बन्द गराइएको थियो। यसले गर्दा गत वर्षदेखि नै भारतमा प्रशोधिततर्फको निर्यातमा अवरोध आएको छ।

‘सन् २०१९ मा भारत सरकारले उद्योग बन्द गरायो, २०२० मा कोभिड–१९ को प्रकोप फैलियो,’ उद्यमी हसनले भने, ‘छालाको मूल्यमा पनि ७५ प्रतिशतसम्मले ह्रास आएको छ । छालाका उद्योग दोहोरो तेहरो मारमा परेका छन्।’

‘सरकारले इन्सेन्टिभ पनि दिएन’
उद्यमी अन्सारीले छालाका निकासीकर्ताले पाउँदै आएको इन्सेन्टिभमा ओली सरकार गठन भएपछि रोक लगाइएको भन्दै आक्रोश व्यक्त गरे।

उनले वर्तमान सरकारले छाला र अन्य निकासीमूलक उद्योगलाई प्रोत्साहन गर्ला भन्ने कुरामा व्यवसायीको आशा मरेको र अब कुनै आशा बाँकी नभएको प्रतिक्रिया व्यक्त गरे। ‘छालाको निकासीमा सरकारले ३ देखि ५ प्रतिशतसम्म नगद इन्सेन्टिभ दिने नीतिगत निर्णय गरेको छ,’ उनले भने, ‘तर हामीले विगत ३ वषदेखि कुनै इन्सेन्टिभ पाएका छैनौं।’ 

भ्याट फिर्ता पनि भएन
प्रशोधित छालाका अर्का निर्यातकर्ता एवम् युनाइटेड लेदरका सञ्चालक परवेज अख्तरले विगत ३ वर्षदेखि निकासीकर्ताले फिर्ता पाउनुपर्ने भ्याटको रकम पनि सरकारले नदिएको गुनासो गरे।

‘हामी पटकपटक अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागमा गयौं,’ उद्यमी परवेजको भनाइ थियो, ‘दुवै निकायबाट हामीलाई आश्वासनमात्र प्राप्त हुन्छ तर  त्यो आश्वासन कार्यान्वयन गरिँदैन । प्रत्येक निकासीकर्ताले फिर्ता पाउनुपर्ने मूअकरको रकम १ करोडभन्दा बढी छ।’

अर्का उद्यमी हसनले थपे, ‘हामीले मूअकरको रकम कहिलेसम्म फिर्ता पाउँछौं लेखेर दिनूस् भनेर विभागमा आग्रह पनि गर्‍यौं तर उहाँहरूले लिखित दिन मिल्दैन भन्ने उत्तर फर्काउनुभयो।’ कुनै पनि उद्योगले निकासी गरिसकेपछि निकासी गरेको सामग्रीको कच्चा पदार्थ खरिद, र प्रशोधन गर्दा तिर्नुपरेको मूअकर सरकारले फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ। तर वर्तमान सरकारले मूअकर फिर्ता नगरेर कानुनी प्रावधानको ठाडो उल्लङ्घन गरिरहेको व्यवसायीको आरोप छ।

हसनले काँचो छालाको मुख्य संकलन स्थल काठमाडौं, ललितपुर र भक्तपुर भएको जानकारी दिए। उनले नेपालका अरू कुनै पनि जिल्ला समन्वय समितिले छालामा निकासी कर नलगाएको तर राजधानीका तीन जिल्लाले प्रति थान ३० रुपैयाँका दरले निकासी कर लिइरहेको गुनासो गरे।