नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रसादको १५ बुँदे निर्देशन, कार्यालय समयमा कडाई

बिजमाण्डू
२०७७ कात्तिक ६ गते १०:२९ | Oct 22, 2020
नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रसादको १५ बुँदे निर्देशन, कार्यालय समयमा कडाई

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रसाद(प्रकाश) पौडेलले १५ बुँदे निर्देशन जारी गरेका छन्।

निगममा भइरहेको बेथिति र अराजकता नियन्त्रण गर्न भन्दै उनले यो निर्देशन जारी गरेका हुन्। उनले अनुशासनका आधारभूत नियम कडाइका साथ पालना गर्न निर्देशित गरेको बताए। कर्मचारीको कार्यालय प्रवेश र बाहिरिने समय, खाजा समय, हाजिर गरेर अफिस टाइममै अनावश्यक बाहिर निस्कने, पोशाक, परिचयपत्र लगायत विषयमा निर्देशन केन्द्रित छ।

निगमले तोकेको कार्यालय समय बिहान १० बजे सबै कर्मचारी कार्यालय आइपुग्नुपर्ने, यदि कुनै कारणले ढिला भएमा एक महिनामा चार पटकसम्म १५ मिनेटका दरले छुट दिने तर सो हदभन्दा बढी भएमा गयल कायम गर्ने जनाइएको छ। निगमका अनुसार खाजा समय ३० मिनेट मात्र कायम गर्दै कार्यालयमा हाजिर गरी बाहिर गएमा अनुशासनहीनताको कार्बाही गर्ने, पोशाक र परिचयपत्र नलगाइ कार्यालय आउने कर्मचारीको नाम सुरक्षा अधिकारीलाई टिपाउने व्यवस्था गरिएको छ।

एक महिनामा चार पटकभन्दा बढी हेलचक्र्याइँ गरेमा कार्यालय प्रवेशमै रोक लगाउन विभागलाई निर्देशन दिने उनले बताए। बिना काम अबेरसम्म बसेर निस्केकै भरमा ओभरटाइम गणना नगर्न र एक घण्टा भन्दा कम समयको ओभरटाइमको गणना नगर्न पनि उनले निर्देशन दिएका छन्।  

महिनाको ५ गतेसम्ममा प्रत्येक विभागका विभागीय प्रमुखहरुले मासिक प्रगति विवरण अनिवार्यरूपमा पठाउनु पर्ने, विभागीय प्रमुखहरुले प्रयोग गर्ने सवारी साधन निगमै पार्किङ गर्नुपर्ने, निगमको प्रवक्ता र सहप्रवक्ताले निगमको विभाग, महाशाखा वा शाखा जहाँबाट पनि सोझै सूचना माग भएमा २० मिनेटभित्र जानकारी उपलब्ध गराउनु पर्नेछ। निगमलाई आर्थिकरूपले सबल बनाउन पहिला संगठनभित्रको आचरण र अनुशासनलाई बलियो बनाउन सुधारको थालनी गरिएको महाप्रबन्धक पौडेलले बताए।