ठेक्का तोडेर टेलिकमलाई जिम्मा दिएपछि कर्णाली र सुदूरपश्चिममा सूचना महामार्गको कामले लियो गति

बिजमाण्डू
२०७७ कात्तिक ५ गते १०:४४ | Oct 21, 2020
ठेक्का तोडेर टेलिकमलाई जिम्मा दिएपछि कर्णाली र सुदूरपश्चिममा सूचना महामार्गको कामले लियो गति


काठमाडौं। ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशमा निर्माण भइरहेको सूचना महामार्गमा आवश्यक कोर राउटर उपकरणको खरिदका लागि ठेक्का प्रक्रिया अघि बढेको छ।

Tata
GBIME
Nepal Life

यी दुवै प्रदेशमा नेपाल टेलिकमले सूचना महामार्ग निर्माणको काम गरिरहेको छ। सोहीअन्तर्गत कोर राउटर खरिदको ठेक्का प्रक्रिया थालिएको हो ।

तीन वर्षअघि स्मार्ट टेलिकमलाई यो प्याकेजको ठेक्का दिइएको थियो। तर, स्मार्टले समयमै काम नगरेको भन्दै मन्त्रिपरिषद्को निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले ठेक्का तोडेर गत वर्ष नेपाल टेलिकमसँग नयाँ सम्झौता गरेको थियो। सम्झौता भएको दुई वर्षभित्र काम सक्ने लक्ष्य राखिएको छ। 
 
कोर राउटर खरिदसँगै उपकरणको आपूर्ति, जडान, परीक्षणलगायतका कार्यका लागि ठेक्का अघि बढाएको टेलिकमले जनाएको छ। सूचना महामार्गमा अप्टिकल फाइबर बिच्छ्याउने, डेन्स वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ (डीडब्लुडीएम) जडान, राउटर उपकरण जडान लगायतका कामहरु तीन वटा प्याकेजमा बाँडिएको छ।

प्याकेज तीन अन्तर्गत रहेको कर्णाली र सुदूरपश्चिम प्रदेशमा कुल ५६ वटा कोर राउटर उपकरण जडान गर्नुपर्ने प्राधिकरणले जनाएको छ। हालसम्म यस प्याकेजमा उक्त उपकरण जडान भएको छैन। इच्छुक कम्पनीले आगामी मंसिर १७ गतेसम्म प्रस्ताव पेश गर्न सक्ने गरी टेलिकमले सूचना निकालेको हो । 

यो प्याकेजमा टेलिकमले माइक्रो वेभ ट्रान्समिसन नेटवर्क र एडीएसएस अप्टिकल फाइबर नेटवर्कको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया यसअघि नै सुरु गरिसकेको प्राधिकरणले जनाएको छ। यो प्याकेजमा २८ वटा डीडब्लुडीएम उपकरण जडान गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। 

सम्झौताबमोजिम यो प्याकेजमा १८ हप्स् (नेटवर्किङ) माइक्रोवेभ स्पट राख्न खोजिएको छ। तर अहिलेसम्म कुनै पनि माइक्रोवेभ स्पट जडान भएको छैन।