टेन्सवर्ग बियर उत्पादक कम्पनीमा ५०% सेयर लिएर दुर्गा प्रसाईं छिर्दै, ऋणबाटै लगानी जुटाइँदै

बिजमाण्डू
२०७७ कात्तिक ५ गते ०९:४६ | Oct 21, 2020
टेन्सवर्ग बियर उत्पादक कम्पनीमा ५०% सेयर लिएर दुर्गा प्रसाईं छिर्दै, ऋणबाटै लगानी जुटाइँदै


काठमाडौं। प्रतिष्पर्धी क्षमता बढाउन तेजेन्द्र खड्काले आफ्नो पारवारिक स्वामित्वमा रहेको टाइगर्स ब्रुअरी इन्डष्ट्रिजको आधा सेयर पूर्वका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बिक्री गर्ने प्रक्रिया अघि बढाएका छन्। 

Tata
GBIME
Nepal Life

कुल दुई अर्ब ४० करोड रुपैयाँ भ्यालुएसनमा कम्पनीको ५० प्रतिशत स्वामित्व बिक्रीको प्रक्रिया अघि बढाउन दुई व्यवसायीबीच प्रारम्भिक समझदारी भइसकेको छ। 'अहिले हामीले कागजात गरिरहेका छौं, स्वामित्व हस्तान्तरण भइसकेको छैन्,'  ब्रुअरीका लगानीकर्ता तथा अध्यक्ष तेजेन्द्र खड्काले बिजमाण्डूसँग भने।

दुई अर्ब ४० करोड भ्यालुएसन भए पनि यसमा एक अर्ब रुपैयाँ हाराहारीमा बैंक ऋण छ। दुई व्यवसायीबीच त्यही भ्यालुएसनमा रहेर कारोबार गर्ने सहमति भएको र केही रकम प्रसाईंले बैनाका रूपमा खड्कालाई दिएको स्रोतले बतायो।

प्रसाईंले तत्काललाई आठ करोड रूपैयाँ बैना दिने र बाँकी रकम बैंकसँग ऋण मिलान गरेर पुँजी लगानी गर्ने सहमति छ। बैना दिएको रकमको पनि बैंक कारोबार भने भइनसकेको स्रोतले दाबी गर्‍यो।

'सेयर किनबेचको समझदारी मात्रै भएको छ। त्यसको बाँकी प्रक्रियाका लागि कम्पनी रजिष्ट्रारको कार्यालय, ऋण दिने बैंकसँग औपचारिक पत्राचार केही भएको छैन,' यो डिलमा संलग्न एक स्रोतले भन्यो।

कम्पनीसँग एक अर्ब रुपैयाँ बैंक ऋण छ। त्यसलाई जस्ताको तस्तै राखेर ब्रुअरीको ५० प्रतिशत सेयर किन्दा प्रसाईंलाई ७० करोड रुपैयाँ भए पुग्छ। प्रसाईं त्यो ७० करोडको पनि ठूलो हिस्सा बैंक ऋणबाट जुटाउन खोजिरहेका छन्। त्यसका लागि उनलाई केही बैंकले सघाउने प्रतिबद्धता समेत दिएका छन्।

त्यसैगरी प्रसाईंले आफ्ना अस्पताल लगायत केही कम्पनीमा पनि खड्कालाई साझेदार बनाउन प्रयास गरिरहेका छन्। 'त्यसो भयो भने यो कारोबारमा सेयर आदानप्रदान हुन्छ, कम्पनीमा बैंक ऋण बढ्छ। ठूलो नगद कारोबार हुँदैन्,' यो कारोबारमा संलग्न एक जनाले बताए।

प्रसाईंसँग पूर्वको विर्तामोडमा बीएण्डसी मेडिकल कलेज, क्यान्सर अस्पताल, होटल र केही रियलस्टेट परियोजना छन्। उनीसँग पूर्वमा थुप्रै जग्गा छ, त्यही जग्गा बेच्दै र भ्यालुएसन बढाउँदै उनले विभिन्न परियोजनामा लगानी गर्दै आएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनको निकट सम्बन्ध छ। त्यही सम्बन्धका आधारमा उनलाई सर्वसाधरणले आलोचना गर्ने गर्छन्।

'हाम्रो कुराकानीहरु चलिरहेका छन्, के कतिमा किन सबै कुरा त म तपाईंलाई कहाँ भन्न सक्छु र !,' यो डिलका बारेमा खड्काले बिजमाण्डूलाई प्रतिक्रिया दिए। 

'बियर बजारमा अब अझै लड्न पर्ने भयो। बलियो साझेदारको जरुरत पर्‍यो। त्यही भएर उहाँसँग कुराकानी अघि बढेको हो,' उनले भने। 

को हुन् तेजेन्द्र खड्का?
बागलुङका तेजेन्द्र खड्का सामान्य जागिरका लागि लामो समय भारतमा बसे। तीन दशक भारतमा बस्दा उनको कनेक्सन भारतीय मदिरा व्यवसायी विजय माल्यासँग बन्यो। 

माल्याको स्वामित्वमा रहेको स्टार बियर उत्पादन गर्ने हेटौंडा औद्योगिक क्षेत्रमा रहेको युनाइटेड ब्रुअरी खड्काको स्वामित्वमा आयो। उनले त्यो उद्योग आठ वर्ष अघि गैरआवासीय नेपाली भवन भट्टलाई बिक्री गरे।

त्यसबाट आएको पैसा लगेर उनले रुपन्देहीको मैनिहियामा पाँच बिघा जग्गा किने। कट्ठाको पाँच लाख हाराहारीमा किनेको त्यो जग्गाको मूल्यांकन नै अहिले पाँच गुणा बढेको छ। 

उनले त्यहाँ २०६९ जेठमा स्थानीय गोविन्द क्षेत्रीलाई ३० प्रतिशतको साझेदार बनाएर टाइगर ब्रुअरी इण्डष्ट्रिज स्थापना गरे। त्यसको एक वर्षपछि उनले टाइगर ब्रुअरीबाट क्षेत्रीलाई हटाएर सोनिपत हरियाणाका मदिरा व्यवसायी प्रिन्स वात्रालाई २०७० जेठमा ५० प्रतिशत साझेदारका रूपमा भित्र्याए।

खड्का र वात्राले गरी त्यतिबेला ब्रुअरीमा झण्डै ७० करोड रुपैयाँ लगानी गरे। उनले त्यो कम्पनीबाट टेन्सवर्ग बियरको उत्पादन सुरु गरे। त्यसको पाँच महिनापछि उनले फेरि उद्योगमा चुक्ता पुँजी बढाएर वात्राको सेयर स्वामित्व ४० प्रतिशतमा घटाए भने श्रीमति सुन्तली खड्कासहित आफ्नो स्वामित्व बढाएर ६० प्रतिशत पुर्‍याए।

वात्रासँगको साझेदारीमा उनले आफ्नो उद्योगलाई विस्तार गर्दै लगे। टेन्सवर्गसँगै लण्डन आइस बियर पनि उनले उत्पादन सुरु गरे। ठूला बियर उद्योगको नजर नपरेको साना शहर र ग्रामीण बजारमा उनले सस्तो स्ट्रङ बियरमार्फत आफ्नो बजार विस्तार गरे।

त्यही उद्योगबाट उत्पादन भएको बियर नेपालमा मात्रै नभएर भारतीय सिमावर्ती शहरसम्म पुग्यो। त्यसपछि २०७४ मंसिरमा टाइगर ब्रुअरीमा वात्राको सेयर २५ प्रतिशतमा झर्‍यो भने बात्राको सेयर खड्काले आफ्ना सन्तान इश्वरी खड्काको नाममा सारे।

त्यसको केही महिनापछि २०७५ असारमा खड्का र वात्राको साझेदारी टुट्यो भने उनीसँग भएको त्यो सेयर आफ्ना सन्तान इश्वरी खड्का र भाईहरु भीमलाल, तोयानाथ तथा गुड्डु खड्काका नाममा सारे।

अहिले कम्पनीमा तेजेन्द्रसँग ४५ प्रतिशत सेयर स्वामित्व छ भने उनकी श्रीमति सुन्तलीसँग १५ प्रतिशत र सन्तान इश्वरी खड्कासँग २५ प्रतिशत सेयर छ। बाँकी १५ प्रतिशत सेयर भीमलाल, तोयानाथ र गुड्डुसँग पाँच/पाँच प्रतिशतका दरले छ।

उद्योगको अहिलेको अवस्था के छ?
टाइगर ब्रुअरीबाट अहिले टेन्सवर्ग, लण्डन आइस, टाइगर र रकस्टार ब्राण्डमा बियर उत्पादन गर्दै आएको छ। कम्पनीसँग एक करोड १५ लाख हेक्टोलिटर बियर उत्पादन क्षमता रहेको कम्पनीका अध्यक्ष खड्काले जानकारी दिए।

'हामीले दुई वर्ष अघि मात्रै जर्मनीबाट नयाँ टेक्नोलोजी ल्याएका छौं, ब्रुमास्टर पनि जर्मनीकै हुनुहुन्छ,' उनले भने। कम्पनीले गत आर्थिक वर्षमा झण्डै ६५ हजार हेक्टोलिटर बियर बिक्री गरेको थियो। 'यो मोनिटरी भ्यालुमा तीन अर्ब रुपैयाँ हाराहारी होला,' कम्पनीको विस्तृत विवरण राख्ने एक स्रोतले भन्यो। 

खड्काले भने कम्पनीको कारोबारको विस्तृत विवरण खुलाउन चाहेनन्। उनले भने 'हामीले भन्सार, भ्याट, अन्तःशुल्क गरेर सरकारलाई त्यही तीन अर्ब राजस्व बुझायौं होला। बियर तथा मदिराको उद्योगमा कारोबारको ७० प्रतिशतभन्दा राजस्वको रूपमा सरकारको खातामा जान्छ।'

'कारोबार ठूलो भयो, जोखिम बाँडौं भनेर नयाँ साझेदार थप्न लागेको हुँ,' अध्यक्ष खड्काले भने। मदिरा तथा बियर बजार  मूलतः उधारोमा चल्छ, त्यही भएर जति बढि उधारो पेल्न सकिन्छ, त्यति बजार बढ्ने सम्भावना रहन्छ। 'सायद त्यही भएर जोखिम बाँड्नका लागि उहाँले नयाँ साझेदार थप्न खोज्नु भएको होला,' बियर उद्योगका बारेमा जानकार एक स्रोतले भन्यो।

अहिले कम्पनीको जुन भ्यालुएसन आएको छ, त्यो भ्यालुएसनमा स्टक र उधारोबाट उठ्नुपर्ने पैसासमेत जोडिएको स्रोतले बतायो। जति बढी उधारो जान्छ, जोखिम पनि बढ्दै जान्छ। 'ऋण प्रवाह गर्ने बैंकले पनि जोखिम केन्द्रिकृत नगर्न अध्यक्ष खड्कालाई सुझाव दिएको हुनुपर्छ,' स्रोतले भन्यो।

'मार्सी' बियर आउँदै
टाइगर ब्रुअरीमा नयाँ लगानीकर्ता थपिंदै गर्दा कम्पनीले एउटा नयाँ ब्राण्ड मार्सी बियर पनि लञ्च गर्दैछ। संयोग मार्सी (चामल) को विषय नयाँ लगानीकर्ता दुर्गा प्रसाईसँग गएर जोडिएको छ।

दुई वर्ष अघि व्यवसायी दुर्गा प्रसाईंको घरमा उनीसँगै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले मार्सी चामलको भात खाँदै गरेको तस्बिर सार्वजनिक भएको थियो। त्यस यता नेता-व्यापारी साँठगाँठलाई आलोचना गर्दा 'मार्सी' को रूपमा गर्ने गरिन्छ। यही प्रसंगपछि सर्वसाधरणमाझ प्रसाईंको 'निकनेम' मार्सीका रूपमा समेत छ।

उनी साझेदार बनेर जाँदै गर्दा कम्पनीले मार्सी ब्राण्डमा बियर लञ्च गर्न लागेको छ। कम्पनीका अध्यक्ष खड्काले टाइगर ब्रुअरीमा प्रसाईंको प्रवेश र मार्सीबीच कुनै सम्बन्ध नरहेको बताए। 

'हामीले पहिलेदेखि नै त्यसको तयारी गरिरहेका थियौं, तिहार अघि त्यो बियर लञ्च गर्छौं,' उनले भने, 'मार्सी चामलमा सुगर कम हुन्छ, त्यही भएर त्यसको बियर राम्रो बन्छ भन्ने लागेर हामीले त्यसको उत्पादन तयारी थालेका थियौं।'