आईएमएफको वार्षिक बैठकमा गभर्नर अधिकारी सहभागी, द्विपक्षीय हित र आर्थिक सहयोगबारे छलफल

बिजमाण्डू
२०७७ कात्तिक ४ गते २०:२४ | Oct 20, 2020
आईएमएफको वार्षिक बैठकमा गभर्नर अधिकारी सहभागी, द्विपक्षीय हित र आर्थिक सहयोगबारे छलफल

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागिता जनाएका छन्। 

यस वार्षिक बैठकमा अधिकारीले आईएमएफका विभिन्न प्रतिनिधिहरुसँग कोभिड-१९ ले नेपाली अर्थतन्त्रमा पारेको असर र यसको न्यूनीकरणबारे छलफल गरेको राष्ट्र बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। साथै, बैठकका क्रममा द्विपक्षीय हित प्रवर्द्धन, आर्थिक तथा प्राविधिक सहयोगका क्षेत्रहरु इत्यादिबारे पनि चर्चा भएको विज्ञप्तिमा उल्लेख छ।  

विश्व बैंक समूहअन्तर्गतको आईएमएफको वार्षिक बैठकमा सहभागिताका क्रममा अधिकारीले आईएमएफका प्रतिनिधिहरुसँग भर्चुअल साइड मिटिङ गर्दै यसबारे छलफल गरेका हुन्।

आईएमएफले बर्सेनि आयोजना गर्दै आएको एनुअल मिटिङ यस वर्ष कोभिड-१९ प्रभावका कारण भर्चुअल रूपमा आयोजना भएको थियो। बैठक अक्टोबर १२ देखि १८ सम्म आयोजना भएको थियो। त्यसबीच अक्टोबर १५ मा आयोजित प्लेनरी सेसन र 'टोरन्टो सेन्टर राउण्ड टेबल डिस्कसन' मा समेत गभर्नर अधिकारीले सहभागिता जनाएका थिए।

अधिकारीले आईएमएफका डेपुटी मेनेजिङ डाइरेक्टर ताओ झाङसँग अक्टोबर १३ मा नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर तथा त्यसको न्यूनीकरणबारे छलफल गरेको राष्ट्र बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

सोही दिन अधिकारीले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्ट अल्फन्सो ग्रेसिया मोरासँग पनि छलफल गरे। छलफलमा मोराले नेपालको वित्तीय क्षेत्रको संस्थागत पुनर्संरचना, वित्तीय क्षमता अभिवृद्धि, जलविद्युतमा लगानी, डेभलपमेन्ट पोलिसी क्रेडिट, स्वदेशी मुद्रामा बण्ड जारी लगायतका विषयमा चासो राखेका थिए।

अक्टोबर १६ को भर्चुअल साइड मिटिङ अधिकारीले आईएमएफका साउथ इष्ट भोटिङ ग्रुप (एसईएभीजी) का कार्यकारी निर्देशक अलिसरा महासन्दना र वैकल्पिक कार्यकारी निर्देशक केङ हेङ तानसँग गरे। त्यस क्रममा महासन्दना र तानलाई अधिकारीले कोभिड-१९ ले नेपालको आर्थिक स्थिती र मानव स्वास्थ्यमा परेको असरबारे जानकारी गराए।

विश्व बैंक समूहको यस वार्षिक बैठकमा राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पनि आईएमएफको मोनिटरी एन्ड क्यापिटल मार्केट डिपार्टमेन्टको भर्चुअल बैठकमा सहभागिता जनाएका थिए।