उतरी नाका असहज हुँदा भारत हुँदै आउन थाले चिनियाँ फुजी स्याउ, मुस्ताङी आए पनि सस्तिएन मूल्य

बिजमाण्डू
२०७७ कात्तिक ४ गते १९:१९ | Oct 20, 2020

काठमाडौं।  लामो समयदेखि अवरुद्ध उत्तरी नाकाहरु नखुलेपछि फलफूलको अत्यधिक माग हुने दसैंका लागि भारतीय बन्दरगाह हुँदै चिनियाँ स्याउ भित्रिन थालेको छ।

Tata
GBIME
Nepal Life

चिनियाँ दुई नाका रसुवागढी र तातोपानीबाट आयात सहज नभएपछि व्यवसायीले भारत हुँदै स्याउ आयात गरिरहेको बताएका छन्।

अन्य समयभन्दा चाडपर्वमा फलफूलको खपत बढी हुन्छ। दसैं तिहारको समयमा नेपालमा तीन हजार टन स्याउ खपत हुने अनुमान छ । यसैले व्यवसायीले भारतीय बन्दरगाहको बाटो भएर थोरैथोरै परिमाणमा भए पनि स्याउ भित्र्याउन थालेका हुन्।

बजारमा फलफूलको खपत भने अनपेक्षितरूपमा घटेको व्यवसायीले बताएका छन्। स्याउको बिक्री घट्न थालेको छ। 'कोरोनाकै असर हो भन्नुपर्छ, आयात र कारोबार दुवै घटेको छ,' कुलेश्वर फलफूल बजारका व्यवस्थापक महेश खड्काले भने।

अघिपछि दसैंमा भिडभाड भइरहने फलफूल बजार यतिबेला सुनसान जस्तै हुने गरेको उनले बताए। व्यवसायीले भारतीय मार्गबाट भए पनि चिनियाँ स्याउ ल्याउन थालेकाले बजारमा अभाव नहुने उनले बताए। 'ढुवानी लागत बढ्दा त्यसको असर स्याउमा पर्ने नै भयो,' उनले भने, 'चिनियाँ स्याउ पहिलेभन्दा केही महंगो हुन सक्छ।'

उपत्यकाको बजारमा यतिबेला चिनियाँ, भारतीय र मुस्ताङको स्याउ आइरहेको उनले बताए। चिनियाँ स्याउ दैनिक दुई ट्रकमा करिब २० टन भित्रिँदैछ। 'नेपालकै चिनियाँ नाकाबाट ल्याउन पाएको भए अर्डर गरेको १५ दिनमै आउँथ्यो। ढुवानी लागत पनि सस्तो पर्न जान्थ्यो,' कुलेशवर फलफूल बजार व्यवस्थापन समिति अध्यक्ष अमर बानियाँले भने, 'यतिबेला स्याउ ल्याउनु सजिलो छैन।'

बजारमा भारतीय स्याउ पनि आएको छ। तुलनात्मकरूपमा बिक्री भने चिनियाँ स्याउकै राम्रो मान्नुपर्ने व्यवसायीको भनाइ छ।

मुस्ताङमै महंगियो स्याउ  
स्ताङको स्याउ बजारमा गत साता नै भित्रिएको हो। तर मूल्य बढी बिक्री कम भएको व्यवसायीले बताएका छन्। अपेक्षित परिमाणमा बिक्री नहुँदा व्यवसायीले अर्को खेप मुस्ताङी स्याउ नझारेको बानियाँले बताए।

मुस्ताङबाट पोखरासम्म आइपुग्दा एउटा मूल्य र पोखराबाट काठमाडौं आइपुग्दा  मूल्य फरक पर्ने गरेको छ। हाल मुस्ताङको स्याउ थोरै मात्रामा आउने गरेको छ। मुस्ताङको स्याउ  व्यवसायीलाई नै प्रतिकेजी १३० रुपैयाँ पर्ने भएकाले खुद्रामा पुग्दा अझ महंगिएर बिक्री कम भएको हो।

बजारमा मुस्ताङको स्याउ फुजीसँगै  चकलेट स्याउ देखिन थालेको छ। फुजी स्याउ प्रतिकेजी ३ सय २०, चकलेट स्याउ २ सय २० र मुस्ताङको स्याउ प्रतिकेजी एक सय ५० देखि २ सय रुपैयाँमा खुद्रामा बिक्री भइरहेको छ ।