स्कुलेलाई पढाउन नेपाली सफ्टवेयर, जुम र टिम्सको विकल्पमा पाठ्यक्रमको सिकाइ इ–कक्षामा

बिजमाण्डू
२०७७ कात्तिक ४ गते १३:३६ | Oct 20, 2020
स्कुलेलाई पढाउन नेपाली सफ्टवेयर, जुम र टिम्सको विकल्पमा पाठ्यक्रमको सिकाइ इ–कक्षामा


Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका शैक्षिक संस्थाहरू अनलाइन कक्षा चलाइरहेका छन् । अधिकांशका विदेशी सफ्टवेयरमार्फत चलेका कक्षाका लागि विकल्प आएको छ । 

पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यसामाग्रीसहितको इ–कक्षा स्कीम इन्टरनेशनलले ल्याएको हो । शिक्षकले कक्षा चलाए जसरी अनलाइनबाट प्रत्यक्ष पढाइने काम भने यसमा हुँदैन। सबै रेकर्डेड कक्षा उपलब्ध छन्। विद्यार्थीले सहभागी भएर आफूलाई लागेका जिज्ञासा वा प्रश्न शिक्षकलाई अनलाइनबाटै पठाएर उत्तर पाउन सक्छन्। सबै कक्षाका पाठहरू हरेक साता अप्डेट हुने इ-कक्षामा विद्यार्थीको सिकाइको स्तर जाँच्न परीक्षा पनि लिइन्छ। 

आफू पढिरहेको स्कुल–कलेजले कक्षा नचलाएका बिद्यार्थी यसबाट बढी लाभान्वित हुन सक्छन्। कक्षा चलाउन गाह्रो परेका विद्यालयहरूले विद्यार्थीलाई इ–कक्षा लिएर परीक्षामात्रै लिए पुग्नेगरी बनाइएको छ ।  

‘जुम र टिम्समा आधारित रहेर कक्षा चलाउनेका लागि यो नेपाली विकल्प हो,’ स्कीमका सीइओ अभिषेक शिवाकोटी भन्छन्, ‘हामीले बनाएको सफ्टवेयरमा कक्षाअनुसार नेपाल सरकारले तोकेको मापदण्डको पाठ्यक्रम छ। अभ्यासमा आधारित रहेकाले शिक्षकहरूले कक्षा चलाउनु हुन्छ, जति जना पनि बिद्यार्थी सहभागी हुन सक्छन्।’ 

इ–कक्षामा अपलोडेड पाठ्यक्रमसँगै दैनिक अन्तरक्रियाका लागि भिडियो र सन्दर्भ सामाग्रीहरू पनि पर्याप्त राखिएको उनले बताए। इ–कक्षा सफ्टवेयरमा रेकर्डेड भिडियोहरुसँगै शिक्षकहरुबाट असाइनमेन्ट, नोट्स, रिसर्च पेपरहरु समेत विद्यार्थीहरुलाई उपलब्ध गराउन सकिने जानकारी उनले दिए। 

विद्यार्थीहरुको सिकाइको मूल्यांकन गर्न मल्टिपल च्वाइस प्रश्नहरूमार्फत टेस्ट लिन सकिन्छ। विद्यार्थीहरुले आफ्ना शिक्षकसँग लाइभ परामर्श लिनु परेमा सफ्ट्वेयरमार्फत नै अपोइन्टमेन्ट बुक समेत गर्न सक्नेछन्। काठमाडौंमा रहेका शिक्षकहरूका कक्षा सफ्टवेयरमा उपलब्ध छ।  

सफ्टवेयर सञ्चालनमा आइसकेको उनले बताए । इ-कक्षाको साइटमा विद्यार्थीहरुले साइन इन गरेपछि आफ्नो कक्षा छनोट गरेर डिजिटल फम्र्याटमा उपलब्ध कोर्सका न्यूनतम शुल्कमा खरिद गर्न सक्छन। अध्ययन गर्नका साथै होमवर्क, टेष्ट, डिस्कसन फोरममा जिज्ञासा आदि राख्न सकिनेछ।