कोलकातामा भारू भुक्तानी गर्दा व्यवसायीलाई सास्ती, विदेशी कम्पनीको कार्यालय नेपालमै खोल्न माग

बिजमाण्डू
२०७७ कात्तिक ४ गते ०९:४९ | Oct 20, 2020
कोलकातामा भारू भुक्तानी गर्दा व्यवसायीलाई सास्ती, विदेशी कम्पनीको कार्यालय नेपालमै खोल्न माग

Tata
GBIME
Nepal Life

वीरगंज। भारत तथा तेस्रो मुलुकबाट आयातित मालसामानको भुक्तानी कोलकातास्थित बन्दरगाह र विभिन्न सिपिङ कम्पनीलाई भारूमा भुक्तानी गर्दा नेपाली व्यवसायीले सास्ती खेप्नु परेको छ।

भारू भुक्तानीको लागि बैंकिङ प्रक्रिया पूरा गर्न दुई–तीन दिन समय लाग्ने गरेकाले मालसामान आयातमा ढिलाइ हुने गरेको उनीहरुले बताएका छन्। वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाका अनुसार लगभग सबै सिपिङ लाइनहरूको कार्यालय कोलकातामा भएको र उनीहरूले त्यहीको कार्यालयबाट मालसामान ढुवानी शुल्क तिर्दा भारतीय रुपैयामा लिने गरेकोले समस्या भइरहको बताए। संघका महासचिव माधव राजपालले नेपाली आयातकर्ताले आफैंले विदेशी निर्यातकर्तालाई डलरमा र नेपालमा भएको विदेशी कम्पनीलाई नेरुमा भुक्तानी गर्ने गरेका छन्।

तर अधिकांश ढुवानीकर्ता सिपिङलाइन भारतको कोलकाता बन्दरगाहमा कार्यालय खोलेर बसेका हुनाले र ढुवानी खर्च तथा विलम्ब शुल्क भारुमा लिने गर्छन्। नेपाल सरकारले विदेशी निर्यातकर्ता, सिपिङ लाइन कम्पनीहरूलाई नेरू भुक्तानी गर्ने सुविधा दिएको खण्डमा भुक्तानी दिन सहज हुन्थ्यो। मालसामान भन्सार बिन्दुबाट छुटाउन पनि सहज हुने उनीहरुको जिकिर छ।

अर्थ तथा परराष्ट्र मन्त्रालयले भारतीय सरकारसँग छलफल गरेर समस्या समाधान गर्न उनीहरुले आग्रह गरेका छन्। अहिलेको परिप्रेक्ष्यमा नेरू खातामा हालेर भारू खरिद गरेर नेपाली व्यवसायीहरूले कोलकातास्थित विभिन्न सिपिङ लाइन कम्पनी तथा भारतीय निर्यातकर्ताहरूलाई भुक्तानी दिंदै आएका छन्।

नेपाली आयातकर्ताहरुले अहिले कारोबारको कागजातको अधारमा नेपाली बैंकमार्फत आरटिजीएस र स्वीफ्ट बैकिङ प्रणालीबाट भारुमा भुक्तानी गर्ने गरेका छन्। व्यवसायीले नेपाल विदेशी कम्पनीको लागि एउटा राम्रो बजार भएकाले विदेशी सिपिङलाइन कम्पनीको प्रतिनिधि कार्यालयको रुपमा नेपालमा कार्यालय स्थापना गरी नेरुमा भुक्तानी लिन आग्रह गरेका छन् ।