२६ अर्ब लागत अनुमान गरिएको तमोर मेवा आयोजनालाई निर्माण अनुमति, २० अर्ब बैंक ऋण

बिजमाण्डू
२०७७ कात्तिक ४ गते ०९:२९ | Oct 20, 2020
२६ अर्ब लागत अनुमान गरिएको तमोर मेवा आयोजनालाई निर्माण अनुमति, २० अर्ब बैंक ऋण

Tata
GBIME
Nepal Life

काठमाडौं। १२८ मेगावाट जडित क्षमताको तमोर मेवा जलविद्युत आयोजनाले निर्माण अनुमति पाएको छ। विद्युत विकास विभागले आयोजनालाई २ वर्षभित्र वित्तीय व्यवस्थापन गरेर निर्माणमा जाने गरि निर्माण अनुमति दिएको हो।

ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुने आयोजनाले एक वर्षभित्र पीपीए (ऊर्जा खरिद सम्झौता) र २ वर्षभित्र वित्तीय व्यवस्थापन गरेर निर्माणमा जाने लक्ष्य बनाएको आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिसिटी कम्पनीका अध्यक्ष भनेन्द्रकुमार लिम्बुले जानकारी दिए।

स्पार्क हाइड्रो इलेक्ट्रिसिटी पब्लिक कम्पनीले प्रवर्द्धन गरिरहेको आयोजनमा २५ प्रतिशत पब्लिक र प्रमोटरको लगानी रहने छ भने ७५ प्रतिशत बैंक ऋण लगानी हुने उनले बताए।

वित्तीय व्यवस्थापनका लागि कुमारी बैंकले नेतृत्व गर्ने गरि नेपाली बैंकबाटै लगानी हुने पनि उनले स्पष्ट पारे।

उनका अनुसार २६ अर्ब १२ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा कुमारी बैंकको नेतृत्वमा करिब २० अर्ब रुपैयाँ ऋण लगानी हुने सहमति लगभग भइसकेको छ।

पीपीएका लागि ग्रिड कनेक्सन एग्रिमेन्ट गरिसकेको आयोजनाले २०७८ भित्र निर्माण सुरु गरेर २०८३ सम्ममा निर्माण सक्ने लक्ष्य लिएको छ।

नदि प्रवाहमा आधारित आयोजना भएकाले सरकारले 'टेक अर पे' मा पीपीए नगरे अर्धजलाशययुक्त आयोजनाको रुपमा विकास गर्न पनि सकिने लिम्बुको भनाइ छ। आयोजनाबाट वार्षिक रूपमा ७१९ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ। कूल ऊर्जाको ७० प्रतिशत वर्षायाममा र ३० प्रतिशत सुक्खायाममा उत्पादन हुनेछ।

दुई नदिको पानी मिसाएर एउटै आयोजना
आयोजनामा मेवा खोलाको पानीलाई मेवा किनारको माटे भन्ने ठाउँबाट २.५ किलोमिटर लामो सुरुङबाट तमोर नदिको भन्ज्याङ भन्ने ठाउँमा खसाइने छ।

भन्ज्याङभन्दा तल नाङ्गो भन्ने ठाउँबाट ४ हजार ७०० मिटर लामो सुरुङमार्ग हुँदै ११६ मिटरको हेडबाट गुहेली भन्ने ठाउँमा पानी खसाएर १२८ मेगावाट विद्युत उत्पादन गरिने छ।

आयोजनाको भूमिगत विद्युतगृहमा ४२.६ मेगावाटका ३ वटा टर्बाइन राखेर विद्युत उत्पादन गर्ने योजना रहेको छ।