दसैंमा चोरले घर रित्याउन सक्छ, होम अटोमेशनमार्फत बनाउनुहोस् स्मार्ट होम, यसरी हुन्छ सुरक्षित

बिजमाण्डू
२०७७ कात्तिक ३ गते ०९:२३ | Oct 19, 2020


घरमा भएका सामग्रीलाई प्रविधिको सहयोगले निगरानी, नियन्त्रण र सञ्चालन गर्नु नै होम अटोमेशन हो । यस्तो प्रविधि जडित घरलाई 'स्मार्ट होम' भन्न थालिएको छ ।

Tata
GBIME
Nepal Life

समयसँगै भएको प्रविधिको विकासले हरेक कुरालाई सरल बनाइरहेको छ । अहिले यही विकसित प्रविधिको प्रयोगबाट स्मार्ट घर बनाउन 'होम अटोमेशन' को अवधारणा प्रचलनमा आएको छ । आफू घर बाहिर जानु परेका बेला होस् वा केही समय टाढा रहँदा होस्, नयाँ प्रविधिले घरको चिन्ताबाट मुक्त गराउँछ। 

प्रविधिकै सहयोगमा कसैले आफ्नो घरभन्दा निकै टाढा रहेर पनि घरभित्र रहेका सामग्रीको निगरानी र नियन्त्रण गर्न सक्छन् । अहिले कतिपयले आफूसँग भएको मोबाइलको सहायताले आफ्ना घरका सामग्रीको निगरानी र सञ्चालन गर्न थालेका छन् ।

घरमा भएका रेफ्रिजेरेटर, राइसकुकरजस्ता उपकरणको सञ्चालन, तापक्रमको नियन्त्रण तथा झ्याल–ढोका खोल्ने तथा बन्द गर्नेसम्मको कामसमेत घरबाहिरैबाट गर्न सकिन्छ । रेसिडेन्टियल तथा कमर्सियल दुवै प्रकारका घरमा अहिले यस्तो स्मार्ट प्रविधिको प्रयोग भइरहेको छ ।

काठमाडौं उपत्यकासहित मुख्य शहरी क्षेत्रमा होम अटोमेशनको प्रयोग बढ्दै गएको छ । तर, निजी आवासीय घरको होम अटोमेशन गर्ने सवालमा सीमित धनाढ्य तथा हाई प्रोफाइल व्यक्तिहरू मात्र भेटिन्छन् । होटल, अपार्टमेन्ट आदिमा भने कतिपय सेवा स्वचालित र सहज बनाउन अटोमेसन गर्ने यस्तो प्रविधिको प्रयोग व्यापक भइरहेको छ ।

होम अटोमेशन सेवाप्रदायक कम्पनी 'होम अटोमेशन नेपाल' का अनुसार आवासीय घरहरूमा अटोमेशन प्रणाली जडान गर्दा मुख्यतः फायर अलार्म, भिडियो डोर फोन, डिजिटल डोर लकजस्ता ग्याजेटहरू अहिले बढी प्रयोग भइरहेका छन् । यस्तै, स्मार्ट पावर सकेट, स्मार्ट क्यामेरा, युनिभर्सल रिमोट, बग्लर अलार्म सिस्टम, मोटरबाट अटोमेटिक रूपमा चल्ने पर्दा, सर्भिलेन्स सिस्टम, लाइटिङ, अटोमेटिक गेटको प्रयोग पनि क्रमशः बढिरहेको छ ।

होम अटोमेशनमा प्रयोग गरिने यस्ता विभिन्न उपकरणहरू नेपालमा फ्रान्स, अमेरिका, भारत र चीनबाट आयात हुने गरेका छ ।

के गर्छ होम अटोमेशनले

होम अटोमेशनले समयको बचत गराउँछ, घरलाई छरितो बनाउँछ । घरको बत्ती बाल्ने वा निभाउनेदेखि घरको कम्पाउण्ड सुरक्षित गर्नेसम्मको काम घरबाहिरैबाट गर्न सकिने भएकाले यी सामान्य कामका लागि समय खर्चेर बस्नु पर्दैन ।

धाराको पानी बन्द गर्न, कम्पाउण्ड वालको बत्ती निभाउन, रेफ्रिजेरेटर अन–अफ गर्न इत्यादिका लागि ती सामग्री भएकै ठाउँमा पुुग्नुपर्ने बाध्यता होम अटोमेशनले दूर गरिदिन्छ । घर पूर्णरूपमा प्रविधि नियन्त्रित र स्वचालित हुने हुँदा यसले समयको बचत गराउँछ । घरको तापक्रम नियन्त्रण गर्न पनि होम अटोमेशनले सहयोग गर्छ । बेडमा बसेर पूरै घरको तापक्रम वातानुकूलित बनाउन सकिन्छ ।

स्मार्ट होमको सबैभन्दा ठूलो फाइदा भनेको घरको सुरक्षा हो । प्रविधिको सहायताले चौबीसै घण्टा घर आफ्नो निगरानीमा राख्न सकिने हुँदा चोरीलगायतका चुनौती रहँदैनन् । अत्याधुनिक प्रविधिजडित ढोकाको प्रयोगले घरलाई अझ धेरै सुरक्षित बनाउँछ । होम अटोमेशनका कारण सम्पूर्ण घर नै एउटा बटनको भरका नियन्त्रण गर्न सकिन्छ ।

घरमा जडित विद्युतीय उपकरणहरू पनि स्मार्ट तरिकाले प्रयोग हुने हुँदा बिजुलीको खपत कम गराउन पनि सहयोग मिल्छ । सेड्युल बनाएर विद्युतीय उपकरणहरू चलाउँदा निश्चित समयपछि त्यस्ता उपकरणहरू आफैं बन्द हुन्छन् ।

कति लाग्छ खर्च

घरमा राखिने ग्याजेटहरूको संख्या तथा घरको अवस्थाले पनि अटोमेशन उपकरण जडानको लागतमा फरक पर्छ । बजारमा न्यूनतम एक लाख रुपैयाँदेखि करिब ४ लाख रुपैयाँका अटोमेसन प्याकेज उपलब्ध छ । एक लाख रुपैयाँको प्याकेजमा फायर अलार्म किट, स्मार्ट क्यामेरा, डिजिटल डोर लक, भिडियो डोर फोन, अकुपेन्सी सेन्सर तथा स्मार्ट प्लगजस्ता उपकरणहरू हुन्छन् ।

यस्तै, त्योभन्दा माथि तीन लाख रुपैयाँ हाराहारीको प्याकेजमा माथिका सहित लाइटिङ अटोमेशन, बग्लर अलार्म किट, वायरलेस स्मोक सेन्सर, वायरलेस ग्यास लिक सेन्सर इत्यादि हुन्छन् । यसमा थप मोटरबाट चल्ने अटोमेटिक इलेक्ट्रिक कर्टेन (झ्याल–ढोकाको पर्दा), युनिभर्सल रिमोटलगायतका प्रणाली जडान गर्दा खर्च चार लाख रुपैयाँको हाराहारीमा पर्ने होम अटोमेशन नेपालका बिजनेस डेभलपमेन्ट प्रमुख प्रशान्तराज मोक्तानले जानकारी दिए ।